आफूखुशी मिल्न, छुट्टिन र अगाडि बढ्न नसक्ने… हामी !

आफूखुशी मिल्न, छुट्टिन र अगाडि बढ्न नसक्ने… हामी !



■ स्वयम्भूनाथ कार्की

२०१६/१७ सालदेखि २४ सालसम्म कवि भूपी शेरचनले लेखेका कविताहरूको सङ्ग्रह घुम्ने मेचमाथिको अन्धो मान्छेमा केही कविताका हरफ आज पनि उत्तिकै सान्दर्भिक छन् । उनका यी कविताले बदलिएको नेपालको नाराको खोक्रोपन उदाङ्ग पार्दछन् ।

हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनु पर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनु पर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनु पर्ने, हिँडाउनु पर्ने हामी…

कविताका उपरोक्त हरफहरू आजै लेखिएका जस्तै, आजैको परिस्थितिसँग ठ्याम्मै मिल्ने खालका छन् । पहिले बरु आफूले आफ्नै बलमा केही गर्न नसकेको कुरा लाजमर्दो हुन्थ्यो । यस कुरालाई भरसक लुकाउने प्रयत्न गरिन्थ्यो, तर अहिले भने यस कुरालाई गर्वका साथ सुनाइन्छ । हाम्रा नेताहरू आफू विदेशीको निर्देशनमा चलेको कुरा प्रचार गर्न अप्ठ्यारो मान्नुको साटो गर्व गर्दछन् । विदेशी शक्तिकेन्द्रले गरेको काम आफ्नो स्वार्थअनुकुल भएमा सहयोग र प्रतिकुल भएमा देशको स्वतन्त्रता, आत्मसम्मानमा चोट भनेर डंका पिटेको कुरा आज जगजाहेर भइसकेको छ ।

विदेशी आड, भरोसा, साधन तथा श्रोतबाट सञ्चालित सङ्घ–संस्था बर्खेच्याउसरी पलाउँदै छन् । उनीहरूले गर्ने विभिन्न गोष्ठी तथा सेमिनारको बाढी लागेको छ । नेपाली जनताले आफूले आफ्नो संविधान लेख्ने भनेकोमा विदेशीहरूको अर्ती र उपदेशको ओइरो लागेको भोगाइ तितो यथार्थ हो । संविधानका केही स्थानमा प्रयोग भएका भाषा-शैलीलाई भाषिक रूपमा अध्ययन गर्ने हो भने ती अङ्ग्रेजी वा यस्तै अन्य कुनै विदेशी भाषाबाट ठाडो अनुवाद गरेको हो कि भन्ने महसूस हुन्छ । असावधानीवश ती शब्दानुवादलाई नेपाली शैली बनाउन छुटेको लाग्छ जतिखेर त्यहाँ ‘अभिमुखीकरण’ जस्ता शब्द भेटिन्छ ।

हाम्रा नेता, बुद्धिजीवी तथा नागरिक अगुवाहरूलाई विदेशी शक्तिकेन्द्रले मिलाइदिनु पर्छ, गठबन्धन ठिक नलागेमा फेरि उनीहरूले नै छुट्टयाइदिनु पर्छ । जुवामा नारिएका गोरुहरूलाई जोतेझैँ उनीहरूले नै पछाडिबाट कोर्रा लगाएर अगाडि बढाउनु पर्दछ ।

पछिल्ला केही दशकमा नेपाल नयाँ नेपाल बन्ने क्रममा आफ्ना अक्षमता लुकाउने र त्यसलाई मेट्ने प्रयत्न गर्नुको साटो अझ परनिर्भरता तथा परमुखापेक्षी नेतृत्वको विकास गर्न सक्रिय भयो । हाम्रा नेता तथा बुद्धिजीवीहरू नेपालमा छिमेकीहरूको दबङ्ग मित्रराष्ट्रहरूको आशीर्वाद र सद्भावनाबेगर सरकार चल्न सक्दैन भनी छाती ठोकेर भन्छन् ।

आत्मनिर्भर सामाजिक तथा आर्थिक व्यवस्थालाई अनावश्यक हस्तक्षेपले चौपट पारेर विदेशको बिउ तथा मल नभए खेती नहुने, विदेशी सामान नभए किलकिले लाग्ने अवस्थामा मुलुकलाई पुऱ्याएपछि नेपाली आमाले विदेशको निमित्त श्रमिक नजन्माएर कसरी नेपाली जन्माउँछिन् ? अष्ट्रेलियाको भेडा गोठालो, अमेरिकाको पेट्रोलपम्पको मजदूर, भारतका महानगरका दरवानहरू वा खाडी मुलुकका तातो मरुभूमिमा रगत-पसिना चुहाउने दासहरू आज नेपाली आमाबाट पैदा हुने सन्तान हुन् । आफ्नो आत्मगौरव तथा आत्मसम्मानसहित दशनङ्ग्री खियाएर आफ्नो तथा देशको उन्नति तथा प्रगति गर्ने सपुत अब नेपाली आमाले कमै जन्माउनेछिन् ।

हामी वीर छौँ
तर बुद्धू छौँ
हामी बुद्धू छौँ
र त हामी वीर छौँ

भुपी शेरचनको कविताका थप हरफ हामीले भोगेका तर स्विकार गर्न नचाहेको अर्को तितो सत्य हो । नेपालीहरू भारतका गल्ली-गल्लीमा चौकीदारी गर्दछन् । उनीहरूलाई बहादुर भनिने गर्दछ । वीरको पर्यायवाची बहादूर हामीलाई कर्णप्रिय लाग्दछ । हामी मख्ख पर्दछौँ, विदेशीले हामीलाई वीर भन्दछ । हामी वीर हौँ वीरका सन्तान हौँ तर हाम्रो बहादुरी आफ्ना निमित्त भएन । म्यानमारमा (बर्मा) बसेका नेपालीलाई नेपाल फर्काउने, आसाम तथा भाप्सुबाट नेपालीलाई मातृभूमि फर्काउने राजा महेन्द्रको नाम लिनु पनि आज कसैकसैको निमित्त असह्य हुन्छ । किनभने हाम्रा नेता तथा अगुवाहरूले हामीलाई त्यही सिकाएका छन् त्यही पढाएका छन् । हामी हाम्रा नेताका गुलाम छौँ, हाम्रा नेताहरू विदेशी शक्ति केन्द्रका गुलाम छन् । तसर्थ, कहिल्यै गुलाम नभएका हामी द्रुत गतिले गुलामीतर्फ बढ्दैछौँ ।

फुरुक्क पार्न हामी (जनता)लाई ‘सर्वशक्तिमान’ भनिन्छ । सबै काम हाम्रा नाममा गरिन्छ । हाम्रो मर्जी होइन केवल नाम चाहिएको छ हाम्रा नेताहरूलाई, उनीहरू मुखले मान दिएर कामले मानमर्दन गर्दछन् । हामीले अस्विकार गरेका व्यक्तिहरूबाट नै चुन्नुपर्ने बाध्यता छ, त्यसैले हामीबाट अस्विकृतहरू नै हामीमाथि राज गर्दछन् । किनभने स्वतन्त्र व्यक्तिको चयनले न सरकार बन्छ न चयन गर्ने अवसर नै प्राप्त हुन्छ । नेता रिझाएकाहरूले दलबाट टिकट पाउँछन् जनता हैन नेता रिझाउनेहरूबाटै जनताले चुन्नुपर्छ । अझ त्यो पनि चुनाइ हैन आफूनजिकको दलकोे निर्णय सदर गर्ने हो, भुपीको ‘म’ कविता जस्तै ।

बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।