राजन घिमिरे
अष्ट्रेलियामा ‘हिमानी कोष अष्ट्रेलिया’ गठन भएको छ । हिमानी ट्रस्टको अन्तर्राष्ट्रिय च्याप्टरका रूपमा हिमानी कोष अष्ट्रेलिया गठन भएको हो । यो नै संस्थाको पहिलो अन्तर्राष्ट्रिय च्याप्टर हो । शनिबार अष्ट्रेलियाको सिड्नी, रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित एक औपचारिक कार्यक्रमबीच हिमानी कोष अष्ट्रेलियाको गठन गरिएको हो ।
कार्यक्रममा हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले कोषको बारेमा जानकारी गराएकी थिइन् । उनले कोष सहयोगी मन र भावनाबाट प्रेरित संस्था भएको बताइन् । कार्यक्रममा उपस्थित जनलाई जानकारी दिँदै उनले भनिन्- ‘यो विशुद्ध रूपमा गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो । आउनुस् हामी सबै मिलेर यो अभियानमा जुटौँ ।’ हिमानी कोष अष्ट्रेलियाकी कार्यकारी सदस्य रेश्मा थापाको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा महासचिव समिर अनबरले कोषले आगामी दिनमा पहल गर्ने र पहिल्याउने बाटोको बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा हिमानी ट्रस्टकी प्रमुख पूर्वयुवराज्ञी हिमानी शाहले नेपालबाट भिडियो सन्देशमार्फत यस्तो विषम परिस्थितिमा पनि अष्ट्रेलियामा रहनुहुने नेपालीहरूको पहलमा कोषको स्थापना भएकोमा प्रशन्नता ब्यक्त गरेकी थिइन् । ‘म यसै सन्देशमार्फत प्रवासमा रहनुहुने नेपालीहरूलाई पीडामा रहनुहुने नेपालीहरूलाई साथ र सहयोग गर्नुहुन आग्रह गर्दछु’, शाहले भिडियो सन्देशमा भनेकी छन् ।
कार्यक्रममा देव गुरुङ, नन्द गुरुङ, रन्जु थापा वाग्ले, हेमन्त काफ्ले, सन्ध्या शाह लगायतले कोषले निभाउनुपर्ने भूमिकाका बारेमा आआफ्नो धारणा राखेका थिए ।
अन्जना बस्नेत कार्कीको अध्यक्षतामा गठित हिमानी कोष अष्ट्रेलियाको महासचिवमा समिर अनबर, कोषाध्यक्षमा प्रगति राणा, प्रवक्तामा रेश्मा थापा र पब्लिक अफिसरमा राम खत्री रहेका छन् । डा. शम्सेर थापा, दिनेश पोखरेल, डिला खरेल, डा. रामकृष्ण निरौला, स्वतन्त्रप्रताप शाह र भूमादेवी लिम्बु सल्लाहकार रहनु भएको कोषको कार्यकारी सदस्यहरूमा रचना बानियाँ, ऋषिकेश न्यौपाने, अनि पाण्डे, दीपक गौतम, कमला बस्नेत र इश्वर गिरी रहेका छन् ।
यसैबीच शनिबार नै कार्यक्रममाझ नै नेप्लिज बिजनेश एसोसियसनले नेपालमा रहेका बालबालिकाहरूको समुन्नतिका लागि हिमानी कोष अष्ट्रेलियालाई नेपाली एक लाख रूपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्यो ।
प्रतिक्रिया