मातृभूमिका लागि नेपालीको निर्णय
- सनत आचार्य
मातृभूमिका लागि नेपालीले आगामी फागुण १४ गते काठमाडौंमा सबै राजनीतिक दलका मूख्य नेताहरूलाई खुल्ला रूपमा प्रशिक्षण दिने भएको छ ।
उक्त प्रशिक्षणमा देशका ठूला राजनैतिक दलका खास खास नेताहरूलाई आमन्त्रण गरिने र उनीहरूलाई राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता सुशासन, विदेशी प्रभावलगायतका बिषयमा प्रशिक्षण दिइने संगठनका शिक्षा संयोजक डा. सविन्द्रराज भण्डारीले बताउनु भएको छ ।
उक्त निर्णय यही माघ ९ र १० मा चितवनमा सम्पन्न मातृभूमिका लागि नेपालीको केन्द्रीय परिषद पूर्ण बैठकले गरेको हो ।
त्यसैगरी बैठकले संगठनका विस्तारका लागि दौडाहा टोली समेत गठन गरेको छ ।

परिषद बैठकले विभिन्न १९ वटा विभागको पनि व्यवस्था गरेको छ । जसअनुसार परराष्ट्र विभागमा दीपक गजुरेल, नीति तथा कार्यक्रममा अरुण कुमार सुवेदी, संगठन तथा प्रशिक्षण विभागमा नारायण कोइराला, शिक्षा विभागमा डा. सविन्द्रराज भण्डारी, युवा विभागमा रमेश श्रेष्ठ, महिला विभागमा मञ्जिला शर्मा, आर्थिक विभागमा भाष्कर पन्त, पर्यटन विभागमा रामप्रसाद पौडेल, यातायात विभागमा शरद अधिकारी, कृषि तथा उद्यम विभागमा भवानी शर्मा, प्रचार विभागमा सुशील देवकोटा, खेलकुद विभागमा नमराज भण्डारी, कला तथा संस्कृति विभागमा वसन्त पोख्रेल, पर्यावरण विभागमा डीबी चौधरी, उद्योग बाणिज्यमा खेमराज ढकाललाई विभागीय प्रमुखमा चयन गरेको छ भने धर्म संस्कृति विभाग, सामाजिक सेवा विभाग, अनुगमन तथा मूल्याङ्कन विभाग र सुरक्षा विभागमा क्रमशः मनोनयन गर्दै जाने काठमाण्डौं संयोजक जुलुमरत्न डंगोलले जानकारी दिनुभएको छ ।
त्यस्तै बैठकले डा. विष्णु प्रसाद सुवेदी (नवलपुर), डा. जनार्दन आचार्य (बाँके) डिबी चौधरी (नवलपुर), भाष्कर पन्त (चितवन), केशव अधिकारी (नवलपुर), अञ्जु सुवेदी (काठमाडौ) लाई केन्द्रीय सदस्यमा चयन गरेको छ ।

दुई दिनसम्म चलेको उक्त बैठकमा केन्द्रीय संयोजक देवप्रकाश त्रिपाठीले राजनीतिक प्रतिवेदन, संगठन विभाग प्रमुख नारायण कोइरालाले सांगठनिक प्रतिवेदन, परराष्ट्र विभाग प्रमुख दीपक गजुरेलले विश्व परिवेसमा नेपाल विषय र नीति तथा कार्यक्रम प्रमुख अरुणकुमार सुवेदीले नेपालको राजनीतिमा बाह्य शक्तिको प्रभाव विषयमा प्रतिवेदन पेश गर्नु भएको थियो । बैठकले उक्त प्रतिवेदनहरू परिमार्जनसहित स्वीकृत गरेको छ ।
त्यस्तै बैठकमा संगठन विस्तारका लागि नारायण कोइराला, अरुणकुमार सुवेदी र जयबहादुर चन्दको संयोजकत्वमा तीन टोली समेत गठन गरेको छ । दौडाहा टोलीले देशका विभिन्न जिल्लामा संगठन विस्तारका कार्यक्रम गर्ने बताइएको छ ।
बैठकमा आगामी निर्वाचन, राष्ट्रिय एकता र समृद्धिका विषयमा पनि छलफल भएको केन्द्रीय सदस्य सूर्य ढुंगानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया