एचआर सिंह, राजविराज
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रचण्ड र माधव नेपालका कारण राष्ट्रिय राजनीति बदनाम भइरहेको टिप्पणी गरेका छन् । प्रचण्ड पार्टीभित्रको मीर जाफर र माधव नेपाल जयचन्दको भूमिकामा रहेको आरोप उनले लगाएका छन् ।
मंगलबार नेकपा सप्तरीको अगुवाइमा सदरमुकाम राजविराजमा हुन लागेको जनसभाको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता मण्डलले प्रचण्ड र माधव नेपाललाई दिल्ली दरबारको रैतीको संज्ञासमेत दिए । दिल्लीको इसारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढालेर प्रचण्ड प्रधानमन्त्री बन्न खोजेको दाबी उनको थियो ।
नेपालको राजनीति अस्थिर भए छिमेकी भारत र चीन दुवै देशको राजनीतिमा त्यसको प्रभाव पर्ने बताउँदै उनले प्रचण्ड, माधव नेपालसहित मधेशवादी दलका नेताहरु भारतीय दुतावासको चारा खाएर उनकै लागि काम गरिरहेको आरोप लगाए ।
मधेशवादी दलका नेताहरुलाई जमिनदारको संज्ञा दिंदै उनले तिनीहरुलाई सार्वजनिक रुपमा चौबाटोमा राखेर कार्वाही गर्नुपर्ने धारणा राखे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा सप्तरीका प्रवक्ता सुखराम यादवले निर्वाचनको औचित्यबारे जनतालाई जानकारी दिन पार्टीले आयोजना गरेको जनसभामा सहयोग गर्न सबैसँग अपिल गरे ।
प्रतिक्रिया