स्वयम्भुनाथ कार्की

‘नेपाल भारतकै अभिन्न भाग हो, तसर्थ भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि नेपाल पूर्ण रूपमा प्रभावित हुन्छ । त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ । पहिले र अहिले सञ्चालित नेपाली सङ्गठनले नेपालीहरूको जिम्मेवारीको यस पक्षमा पर्याप्त दृष्टि पुऱ्याउन नसक्नु दुःखद् पक्ष हो । भारतको स्वतन्त्रताप्राप्तिको जीवन-मरणको लडाइँमा धेरै नेपालीले व्यक्तिगत रूपमा भाग लिएको भए पनि सङ्ठनकै रूपमा भने भाग लिएका छैनन् । त्यसले गर्दा यसबेला नेपाल र भारत दुवैतर्फ विचार पुऱ्याउने किसिमको नेपालीहरूको अखिल भारतिय सङ्गठनको अत्यन्त खाँचो छ ।’
उल्लिखित पङ्क्तिहरू २ अक्टुबर १९४६ (१६ असोज २००३) मा पटनाको द सर्चलाइटमा प्रकाशित बीपी कोइरालाको ‘अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस’ गठन गर्न गरिएको आव्हान पत्रको एक भाग हो (आत्मवृत्तान्तमा ४ अक्टुबर भनिएको छ) । यस आव्हानअन्तर्गत भएको बैठकमा नेपालबाट गएका धेरैले प्रत्यक्ष भाग लिएनन् । सम्भवतः उनीहरूलाई सङ्गठनको नाममा भएको ‘अखिल भारतीय’ शब्द पचेको थिएन । सङ्गठन बन्दा ती शब्द हटेर ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ मात्र रह्यो । बैठकमा शुभकामना दिने भारतीय नेताहरूले भाषणमा नेपाल भारतको भाग हैन स्वतन्त्र मुलुक हो भन्ने अभिव्यक्ति दिएपछि मात्र नेपालबाट गएकाहरू सङ्गठनमा लागे ।
गठनसँगै पैदा भएको यो स्पष्ट दुई धार थियो, जसको अवशेष वर्तमानसम्म पनि छ । सम्बोधनमै ‘बाबु’ र ‘जी’ लगाएर जीवित रहेको यो प्रचलन वर्तमानमा भने त्यसरी देखिने गरेर कायम छैन । तर काङ्ग्रेस कार्यकर्ताहरूमा अहिलेसम्म पनि त्यो विभाजन रेखा स्पष्ट देखिन्छ । जे होस् यो सङ्गठनले गरेको राणविरोधी अभियानलाई नेपाली जनसाधारणको साथ भने भएन । जुटमिलको आन्दोलनमा नेपाली रमिते भए भने जयप्रकाश, लोहिया जस्ता नेताले नेहरूलाई हस्तक्षेपको निमित्त कडा अनुरोध गर्दा पनि त्यो हुन सकेन ।
क्रान्तिमा राजाको संलग्नता अनिवार्य भयो । राजालाई संलग्न गराउन कत्रो मेहेनत गरियो भन्ने कुरा बीपीले आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । हेलिकप्टरबाट राजपरिवारलाई लगेर पाल्पा पुऱ्याउने र समानान्तर सरकार गठन गर्ने योजना तुहियो । छापामार शैलीमा राजालाई पैदलै भगाएर ल्याउने गएको टोली पक्राउ पऱ्यो । राजा भारतीय दूतावासमा गएपछि जयप्रकाश र लोहियाको निर्देशनअनुसार बीपीले वक्तव्य दिए । यसले नेपाली जनतालाई काङ्ग्रेसको क्रान्ति राणाविरुद्ध बदला लिने कुरा मात्र नभएर राजाको पनि साथ रहेछ भन्ने पऱ्यो । बल्ल काङ्ग्रेसले नेपाली जनताको साथ पायो ।
नेपाली काङ्ग्रेसभित्र बृहत वैचारिक मन्थनको आवश्यकता छ । स्थापनाकालदेखिको हरेक कुराको समलोचानात्मक अध्ययन गरेर बाटो निर्धारण गर्न सकेन भने छिट्टै नेपाली काङ्ग्रेस इतिहासको पानामा सीमित हुने छ ।
स्नातक भएकाहरूले सगर्व आफ्नो नामको पछाडि बिए लेख्ने त्यसबेलाको विश्वमा बीपीको योग्यता राष्ट्र निर्माणमा लगाउन राजा त्रिभुवन र राजा महेन्द्र हमेशा प्रयत्नशील भइरहे । तर नेपाली काङ्ग्रेसले भने हमेशा राजाहरू भन्दा ज्यादा महत्व नेहरूलाई दिएको कुरा आत्मवृत्तान्त पढेमा सजिलै अनुभव हुन्छ । राजाले कति पटक त ‘विदेशको प्राइममिनिस्टरलाई किन कुरा लगाउनु पऱ्यो ? मलाई नै भनेको भए भै हाल्थ्यो नि’ भन्नु परेको पनि थियो । जे होस् बाहिर भने नेपाली काङ्ग्रेसले राजालाई कठिन समयमा साथ दिएको भ्रम भने कायम रह्यो । त्यसैले काङ्ग्रेसले हमेशा पारम्परिक सोचका मध्यम वर्गको साथ पायो ।
सत्र सालको घटनामा पनि राजा मान्नेहरू धेरैले आफूलाई परेको बेलामा साथ दिने काङ्ग्रेसलाई राजाले त्यसो गर्नु हुन्न थियो भनेर सहानुभूति राखे । नेपाली काङ्ग्रेसको सम्पूर्ण छवी राजसंस्थाको साथ पाएकोले बनेको थियो । त्यसैले ‘राजसंस्थालाई काँधमा बोकेको’ भन्ने कुरामा विश्वास गरे । यसको गहिराइमा जाने कसैले ठानेन । न राजसंस्थाले नै यस कुरालाई प्रष्ट्याउन चाह्यो । मिलेरै देशलाई उन्नत बनाउन सकिन्छ भनेर पर्खेर नै बस्यो । काङ्ग्रेसको सरकार अपदस्त गर्दा समेत उसले गरेको नियुक्ति उल्टाएन । राज्यका सबैजसो ठाउँमा खाँटी काङ्ग्रेसको निरन्तरता हमेशा रह्यो ।
जबदेखि कथित काँधको बोझ काङ्ग्रेसले फालेको भन्यो तबदेखि उसको प्रतिष्ठा निरन्तर ओरालो लाग्दैछ । नेपालका पारम्परिक मध्यम वर्गको विश्वास गुमाउने क्रममा छ । बामपन्थीहरू काङ्ग्रेसमुक्त नेपाल बनाउने अघोषित अभियानमा छन् । नेतृत्व आफ्नै कार्यकर्ताहरूबाट पनि आलोचित हुँदै छ । जो परिस्थिति उसले भोग्दैछ त्यसले जो सङ्केत गरेको छ त्यसले काङ्ग्रेस भ्रममा रहेछ भन्ने सावित गर्दैछ । काङ्ग्रेसले राजसंस्था काँधमा बोकेको हैन राजसंस्थाको नामले काङ्ग्रेस थामेको रहेछ भन्ने कुरा समयले बताउन शुरु गरेको छ ।
यो कुरा धेरै काङ्ग्रेसीहरूलाई अपच हुन सक्छ, विश्वास नलाग्न सक्छ, तर वर्तमानका घटनाहरूले भने यही सङ्केत गरेका छन् । प्रथम राष्ट्रपति हुने लोभमा गरिएको गलत निर्णयले काङ्ग्रेसले टेक्ने र समाउने स्थान नै गुमाएको छ । विरोधीहरूले काङ्ग्रेस गणतान्त्रिक हो भन्ने कुरा पत्याएका छैनन्, समर्थक मतदाताहरू काङ्ग्रेसले राजसंस्थालाई धोका दिएको मान्छन् । यस्तो परिस्थितिमा नेपाली काङ्ग्रेसभित्र बृहत वैचारिक मन्थनको आवश्यकता छ । स्थापनाकालदेखिको हरेक कुराको समलोचानात्मक अध्ययन गरेर बाटो निर्धारण गर्न सकेन भने छिट्टै नेपाली काङ्ग्रेस इतिहासको पानामा सीमित हुने छ ।
प्रतिक्रिया