मुलुकको धमिलो राजनीति पछिल्ला दिन थप विषाक्त बन्दै गएको महसुस गरिएको छ । सत्ताको नेतृत्व गरिरहेको दलमा पैदा भएको ‘महाभारत’का कारण बढिरहेको अन्योलग्रस्त राजनीतिमा विषाक्तता बढ्नुको कारण पनि तिनै नेतृत्वकर्ताहरू हुन पुगेका छन् जो एकअर्कालाई निच देखाउन छुद्रतम् वचनको सहारा लिन थालेका छन् । सत्तारुढ नेकपामा पैदा भएको विभाजन र विभाजनपछि आ-आफ्नो पक्षपोषणका खातिर आयोजना हुन थालेको बैठक, भेला, जुलुस, आमसभामा ‘कम्युनिष्ट’ नेताहरूले भाषणमा जे-जस्ता भाषा वा वाक्य-वाक्यांश प्रयोग गरिरहेका छन्, यसले सम्बन्धित पात्र, उसले प्रतिनिधित्व गर्ने दल वा समूहको मात्र नभई तमाम नेपाली र सिङ्गै नेपाल राष्ट्रको उछित्तो काडिरहेको अनुभूति हुन्छ । एकर्काको धज्जी उडाउनकै लागि निम्न स्तरमा उत्रिएर प्रस्तुत हुँदै गर्दा नेताहरूलाई आफ्नो ओहदा, औकात, दायित्व र प्रभावबारे पटक्कै चेत नरहनु उदेकपूर्ण मात्र नभई विष्मयकारी विषय पनि हो ।
आमसभामा उपस्थित जनताका अगाडि उभिएर नेताले आफ्नो उद्देश्य वा एजेण्डाबारे बोल्नुपर्ने हो, आफू वा आफ्नो पक्ष यसकारण सही र विपक्षी यसकारण बेठिक भनी तथ्यमा आधारित तर्क दिएर बुझाउने प्रयत्न गरिनुपर्ने हो । सत्तामा हुनेले देश र जनताको पक्षमा गरिएका वा गर्न लागिएका कार्य÷योजनाबारे बताउने, आफूले लिएको नीति वा हिँडिरहेको बाटो ठिक छ भनी व्याख्या गर्ने र विरोधि वा असन्तुष्ट पक्षले पनि आफूले लिएको या लिनुपरेको अडान यसकारण सही छ भनी बुझाउने, आफ्नो हातमा शासन–सत्ता आउँदा गर्ने वा गर्न सकिने राम्रा कामबारे प्रष्ट्याएर जनताको मन जित्ने प्रयत्न गर्नुपर्ने हो । तर, यतिबेला यस्ता सकारात्मक कुराको अपेक्षा गर्नु नै ब्यर्थ बनिरहेको छ । विपक्षी समूह वा नेताविशेषलाई कसले कति क्षुद्र वचन लगाएर गाली गर्न सक्छ भन्नेमा यहाँ यतिबेला प्रतिष्पर्धा चलिरहेको छ । आफूमाथि लागेको आरोपको प्रतिवाद गर्ने नाममा नेताहरू आफ्नो अभिव्यक्तिमार्फत् यति तलसम्म पनि ओर्लन सक्दा रहेछन् भन्ने उदाहरण अब अन्यत्र कतै खोज्नु पर्दैन, नेपाल नै काफी छ ।
विपक्षीका विरुद्ध तिखो अभिव्यक्ति दिएर चर्चा बटुल्ने नेताको रूपमा यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अगाडि आउँछ । विरोधिको कमजोर कडी पक्रिएर केपीले प्रहार गर्ने शब्दवाणले निशाना गरिएको पक्षलाई ठहरै पार्ने गरेको पाइए पनि उनका बोली त्यति बिझाउने प्रकृतिका भने हुँदैनन् । तर्क र तथ्यको जगमा उभिँदै हास्यरस मिसाएर प्रहार गर्ने केपीका ब्यङ्ग्योक्ति सर्वस्वीकार्य नै मानिन्छन् । तर, प्रधानमन्त्री ओलीका अभिव्यक्तिको प्रतिरक्षामा उनका प्रतिद्वन्द्वीपक्षीय नेताहरूबाट दिइएका पछिल्ला अभिव्यक्ति अत्यन्त आपत्तिजनक र सिङ्गो देशलाई नै बिझाउने प्रकृतिका छन् । केपीलाई सत्ताबाट विस्थापित गरी प्रधानमन्त्रीको कुर्चीमा आफू विराजमान हुने एकसुत्रीय अभियानमा लागेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कुण्ठा सार्वजनिक तहमा विसर्जन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीको नामअघिल्तिर ‘निःसन्तान’ विशेषण लगाएर निकृष्ट अभिव्यक्ति दिएको समेत सुनियो । पूर्वप्रधानमन्त्री रहेका र मौका परे फेरि पनि मुलुकको नेतृत्व लिन अग्रसर प्रचण्डजस्ता पात्र यसरी ओर्लिएर प्रस्तुत हुने अपेक्षा गरिएको थिएन ।
प्रचण्ड-अभिव्यक्तिको चर्चा चलिरहेकै बेला त्यसलाई समेत ओझेलमा पार्ने क्षुद्रभिव्यक्ति दिएर चर्चामा आएकी छन् प्रचण्डकै ‘नव-अनुयायी’ रामकुमारी झाँक्री । ‘नयाँ भिक्षुले ज्यादा खरानी घस्छ’ भन्ने लोकोक्ति चरितार्थ पार्दै नेकपा दाहाल-नेपाल समूहकी नेतृ झाँक्रीले प्रधानमन्त्री ओलीप्रतिको आक्रोश समन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई विरोधको तारो तुल्याएकी छन् । एकल महिला बन्नु राष्ट्रपति भण्डारीको नियति थियो, तर त्यसप्रति ब्यङ्ग्यबाण चलाइ उनले ‘सेतो साडीको दुरुपयोग भएको’ जस्ता अत्यन्त आपत्तिजनक शब्द प्रयोग गर्दै राष्ट्रपति भण्डारीका साथै समस्त एकल महिलाको मानमद्र्धन गर्ने अक्षम्य ‘अपराध’ गरेकी छन् । (अ)राजनीतिक स्वार्थसिद्धिका निम्ति गाली–संस्कृतिमा उत्रनु, त्यसमाथि आफैं एक महिला हुनुका बाबजुद देशकै सर्वोच्च संस्थाको प्रतिनिधित्व गरिरहेकी नारी–व्यक्तित्वलाई लाञ्छित गर्नु, चरित्रहत्यामा उत्रिनु सभ्य समाजका लागि पाच्य विषय पक्कै होइन ।
समाज र सिङ्गो देशलाई नेतृत्व प्रदान गर्ने अभीष्टका साथ सार्वजनिक जीवनमा उत्रिएका नेता–नेतृका अभिव्यक्ति, वचन वा वाचन शैलीले सिङ्गो समाज र नयाँ पुस्तामा प्रत्यक्ष प्रभाव पार्दछ । असल नेतृत्वबाट जसरी समाजले सकारात्मक बाटो पहिल्याउँछ, निकृष्ट नेतृत्वले त्यत्तिकै खराब संस्कारको जग बसाउँछ । रामकुमारी झाँक्रीको प्रचण्ड–वाणीलाई मानक तुल्याएर भन्नुपर्दा आज राजनीतिक तहमा जे-जस्ता पात्र र प्रवृत्तिको हालीमुहाली छ, यसले नेपाल र नेपालीको भविष्य उज्यालो नरहेको स्पष्ट सङ्केत दिइरहेको छ भन्दा अतिरञ्जना ठहरिने छैन । तसर्थ, यही कामना गरौँ- राजनीतिक संस्कार नबनोस् झाँक्री-वाणी !
प्रतिक्रिया