- स्वयम्भूनाथ कार्की
भारतीय चासोले नेपालका दलहरूको हितमा असर गर्नेवित्तिकै चर्चामा आउने गरेका केही शब्द छन् । फिजीकरण, भुटान मोडेल र सिक्किमीकरण यस्तो बेला धेरै चर्चामा आउने गर्छन् । भारतले दलहरूको स्वार्थअनुकुल जे–जस्तो काम गरे पनि त्यसलाई ‘सदाशयता’ भन्ने गरिन्छ । २०४५को नाकाबन्दी यसको ज्वलन्त उदाहरण हो । नेपालको सार्वभौमिकतामै हमलास्वरुप उक्त नाकाबन्दी गरिएको थियो । तर, अगाडि ‘प्र’ थपेर सबै गतिविधि गर्न पाएका दलका कार्यकर्ताहरू चाहिँ ‘यो नेपालको हितमा गरिएको काम’ भन्दै कान फुक्न तल्लिन थिए ।
यति मात्र होइन, पञ्चायत ढाल्ने आन्दोलनको सुत्रपात गर्ने ‘चाक्सीबारी सम्मेलन’ भारतीय नेताहरूको भीडमा भयो । नेपाली काङ्ग्रेसका नजिकका संरक्षकहरू समाजवादी र नेहरूवादी नेता रहेका छन् । त्यसै गरेर नेपाली वामपन्थीहरूलाई भारतीय वामपन्थी नेताहरूको सबै प्रकारको सहयोग रहेको छ । वेदानन्द झाको तराई काङ्ग्रेसको उत्तराधिकार बोकेको दाबी गर्ने मधेशी दलहरूको उल्लेख सान्दर्भिक नहोला । यो समुहको भारतले हमेशा भावनात्मक शोषण गरेको छ । यही कुरा बुझेर नै वेदानन्द झा राजा महेन्द्रको राष्ट्रचिन्ताको सहभागी हुन पुगेका थिए ।
आफुलाई सर्दो परेको बेलामा दलहरू कार्यकर्तालाई भारतको आलोचना गर्नेहरूलाई ‘अन्धराष्ट्रवादी’, ‘मण्डले’ आदिको पगरी गुथाउन खटाउँछन् । तर विपरीत हुनेवित्तिकै फिजीकरण, भुटानीकरण वा सिक्किमीकरणको षडयन्त्र हुन लागेको डङ्का पिट्न लगाउँछन् । यसको अर्थ त्यस प्रकारको खतरा छैन भन्ने होइन, यस्तो खतरा त हमेसा रहेकै हुन्छ । अरुलाई आफ्नो प्रभावमा लिनु, आफुमा विलय गराउनु वा आफ्नो अनुचरसरह बनाउनु शक्तिसाली राष्ट्रहरूको स्वभाव नै हो । जो समर्थ छ त्यसले असावधान राष्ट्रलाई आफ्नो छातामुनि तान्छ नै । नेपाली नेताहरूको भारतीय नेताहरूसँगको अन्तरङ्ग सम्बन्धका जानकार मात्र होइन कतिपय घटनाका साक्षी भएका बीपीपुत्र प्रकाशले यसैको विरुद्ध विद्रोह नै गरे ।
फिजीकरण एक काल्पनिक अवधारणा हो । सन् १८७४ मा बेलाइतले फिजीलाई उपनिवेश बनायो । फिजीमा काम गर्न भारतबाट प्रशस्त मजदुरहरू त्यहाँ लगियो । त्यसमध्ये कम मात्र फेरि भारत फर्किए, अरुले बासस्थानको रूपमा त्यसै द्विपलाई अपनाए । उनीहरूले त्यहाँ आफ्नो भाषा–संस्कृति जीवित राखे । अहिले पनि त्यहाँको प्रमुख भाषामध्ये फिजी हिन्दी छ । अवधी, भोजपुरी, हिन्दी, अंग्रेजी, स्थानीय सबैबाट यसका शबदहरू बनेका छन् । जब भारतीयहरूले त्यहाँ भारतीय मुलका मानिसको वर्चश्व देखे आफ्नो सञ्चारमाध्यमहरूमा त्यसको प्रचार गरे । यो प्रचार अभियानले फिजी भारतकै हिस्सा भएको छनकसम्म दियो ।
१९९९ मा भारतीय मुलका दाबी गरिएका महेन्द्र चौधरी फिजीका प्रधानमन्त्री नियुक्त भए, भारतमा कतै–कतै खुब खुशी मनाइयो । महेन्द्र चौधरीले स्पष्टतः आफू फिजीयन भएको र फिजी आफ्नो मुलुक भएको बताए । कुनै समयमा भारतबाट पुर्खा आएका भए पनि अब फिजी नै आफ्नो मुलुक भएको र फिजी एक स्वतन्त्र मुलुक रहेको भन्ने उनको भनाइ आयो । यसपछि भारतमा फिजीको नाम उस्तो लिइँदैन । न पहिले न अहिले फिजीमा भारतको कुनै प्रकारको नियन्त्रण थियो न भविष्यमा नै हुने सम्भावना छ ।
मुलुकको अस्तित्वको निमित्त राजा ज्ञानेन्द्रले राजगद्दी नै त्याग्न पनि हिच्किचाएनन् । तर वर्तमानमा नेपाल विभिन्न वैदेशिक शक्ति केन्द्रहरूको रणभूमि भएको स्पष्टै छ । अन्य मुलुुकमा प्रकटमा दबाबयुक्त चासो नदेखाउने अर्थात् लुकाएर प्रभाव विस्तार गर्ने चीनसमेत नेपालमा खुल्ला गतिविधि गर्न लागेको छ ।
भुटानीकरण एक अप्रत्यक्ष उपनिवेश हो जो भारतको छातामुनि बसेको छ । धेरै वर्षसम्म सार्कमा भुटानको हिस्सामा परेको भाग भारतले उपयोग पनि गरेको छ । अत्यन्त सौविध्यप्राप्त मुलुकको अवधारणामा शुरुदेखि भुटान भारतसँग रहेको छ । राजा महेन्द्रको स्वर्गारोहणको केही पछि भुटानी राजा जिग्मे दोर्जी वानचुकको निधन भयो । जिग्मे सिंघे वानचुकले आफ्नो व्यक्तिगत संरक्षकको रूपमा त्यसैबेला इन्दिरा गान्धीलाई माने । समकालिन विश्वमा उनी सबैभन्दा कम उमेरका राजा थिए जसको नायवी इन्दिरा गान्धीले सम्हालिन् । उनको प्रयत्न राजा वीरेन्द्रले पनि जिग्मे सिंघे वानचुकले जस्तै गरुन् भन्ने थियो । तात्कालिन भारतिय छापामा यो प्रष्ट देखिन्थ्यो ।
सिक्किमीकरण राष्ट्र विलयको उदाहरण हो । सिक्किममा विलयको विरोध भयो वा भएन तर नेपालमा भने त्यसको विरोध भयो । विलयभन्दा पहिले सिक्किम पनि भारतको अति सौविध्यप्राप्त मुलुक थियो । भारतीय प्रभाव र समर्थन प्राप्त सिक्किम राष्ट्रिय कांग्रेस जनताबीचमा राजा चोग्याललाई बदनाम गर्न तल्लिन थियो । भारतबाट खटाइएका प्रमुख प्रशासक बि.एस. दास र सिक्किम राष्ट्रिय कांग्रेसका काजी लेन्डुप दोर्जेले यसमा सफलता प्राप्त गरे । अन्ततः राजसंस्थाको बारेमा जनमत संग्रह भयो । १४ अप्रेल १९७५ को त्यो जनमत संग्रहको परिणामले चोग्यालको गद्दी खोसेर सिक्किमलाई गणतन्त्र तुल्यायो ।
जनमत संग्रहले सिक्किममा राजाको अधिकार समाप्त गरेर संसद सार्वभौम बनाइयो । सार्वभौम संसदले पारित गरेको प्रस्तावले मुलुक विलय भएकोले विश्वले बोल्ने अवसर पनि पाएन । यसको लगत्तै पछि गणतन्त्र सिक्किमको संसदले भारतमा गाभिने प्रस्ताव पारित ग¥यो । प्रस्ताव पारित गरेको लगत्तै सिक्किममा भारतीय सेना परिचालन भयो । यसको विरोध गर्न सक्ने सबैको जानकारी लेन्डुप र दासलाई थियो । ती व्यक्तिहरू थाहा पाउनुभन्दा पहिले भारतीय सैनिको घेरामा परिसकेका थिए । आधा घण्टा भन्दा कम समयमा एक स्वतन्त्र भएको मलुक भारतको प्रान्त भयो ।
पहिलेदेखि नै अति सौविध्यप्राप्त मुलुकको रूपमा नेपाललाई राख्ने भारतीय चाहना अस्विकार भएको छ । मुलुकको अस्तित्वको निमित्त राजा ज्ञानेन्द्रले राजगद्दी नै त्याग्न पनि हिच्किचाएनन् । तर वर्तमानमा नेपाल विभिन्न वैदेशिक शक्ति केन्द्रहरूको रणभूमि भएको स्पष्टै छ । अन्य मुलुुकमा प्रकटमा दबाबयुक्त चासो नदेखाउने अर्थात् लुकाएर प्रभाव विस्तार गर्ने चीनसमेत नेपालमा खुल्ला गतिविधि गर्न लागेको छ । डबल नेकपाभित्रको विवाद समाधानमा चीनले प्रदर्शन गरेको व्यवहार उसको बदलिएको व्यवहारको उदाहण हो । हरेक मुुलुकमा आन्तिरिक रूपमा बहुशक्ति केन्द्रहरू हुन्छन् जो एकअर्काकोे पूरक नहुन पनि सक्छन् । नेपालका परिवर्तनका खेलाडी भनिएकामा अपवाद छोडेर सवबजसो नै यस्तै कुनै न कुनै वैदेशिक शक्ति केन्द्रको प्रभावमा रहेका देखिन्छन् । यो अवस्था कसै न कसैको परोक्ष उपनिवेश बन्ने सम्भावना हो । स्मरण रहोस्, भारत बेलाइतको उपनिवेश नभइ इष्ट इन्डिया कम्पनी नामक बेलाइती व्यापारिक कम्पनीको उपनिवेश थियो ।
प्रतिक्रिया