ईश्वर-शरणमा ओली, धर्म-पुनर्स्थापन हेतु अग्रसर !

ईश्वर-शरणमा ओली, धर्म-पुनर्स्थापन हेतु अग्रसर !


■ ज्ञानमित्र

एउटा कुरामा दुइ मत हुन सकिन्न- नेपालको राजनीति लामो समयसम्म गिरिजाप्रसाद कोइरालाको वरिपरी केन्द्रित रह्यो । उहाँको मूड मात्रै होइन, हाच्छयूँले पनि त्यो बेला देशमा तरंग सिर्जना हुन्थ्यो । उहाँले सक्रिय राजनीतिक जीवनकालभरी (सत्ताकाल भरी) गरेका कुनै कृत्यले देशलाई कुनै किसिमले किञ्चित पनि लाभ पुऱ्यायो कि पुऱ्याएन त्यसको अध्ययन गर्न इलेक्ट्रानिक माइक्रोस्कोप नै आवश्यक पर्छ । र, नेपालमा यस अत्याधुनिक वैज्ञानिक उपकरणको सर्वथा अभाव भएकाले राजनीतिक विश्लेषक यस विषयक खोज/अनुसन्धानमा असमर्थ रहेका छन् ।

गिरिजाबाबुबाट यो ताज हस्तान्तिरित हुँदै प्रचण्डमा आएको पनि छर्लङ्ग नै छ । देशको राजनीति मात्र होइन, समग्र वस्तुस्थिति नै खै कति किलोको हो, उहाँको गर्दन र टाउकोको संयुक्त निम्नचापीय परिभ्रमणले सञ्चालित भइरह्यो। उहाँको गर्दनघुमाइको मन लोभ्याउने अदाले देशको स्वास्थ्यमा परेको अनुकूल–प्रतिकूल असरको छानबिन विषयक गणना गर्न क्वान्टम कम्प्यूटर नै चाहिने भएकोले यसको निर्क्यौल हुन पनि बाँकी नै छ । कारण सर्वविदित छ नेपालमा क्वान्टम कम्प्यूटर छैन र निकट भविष्यमा आइपुग्ने कुनै सम्भावना पनि छैन ।

पृथ्वी चलायमान छ । पृथ्वी मात्रै नभएर समस्त विश्व-ब्रह्माण्ड नै चलायमान छ । अतः परिवर्तन ब्रह्माण्डको सूक्ष्म ‘म्याट्रिक्स’ हो भनी बुझ्नलाई बाबूराम जस्तो उच्च प्रतिभाशाली मस्तिष्कको आवश्यकता पर्दैन । न कुनै सर्टिफिकेट र डिग्रीकै जरुरत पर्छ । प्रचण्डको झैँ निम्नचापीय गर्दनघुमाइलाई अर्धवृत्तीयसम्म पुऱ्याउनासाथ दृष्टिगोचर हुन आउँछ कि प्रचण्डको वरिपरी रहने नेपालको राजनीतिक विवशताले स्थान परिवर्तन गर्दै केपी ओलीलाई आफ्नो सम्वाहक बनायो।

शायदै कसैलाई विमति होला, अहिले केपी ओली नै राष्ट्रिय राजनीतिको केन्द्रबिंन्दु बन्नुभएको छ । गिरिजाको हाच्छयूँदेखि प्रचण्डको खोकीले परिचालित हुँदै आएको राष्ट्रिय राजनीति अहिले केपीज्यूको उखानतुक्का, वाक्चातुर्य, रणनीतिक कौशल, इच्छा, चाहना, मनस्थिति, जिजीविषा एवं महत्वाकांक्षाले संचालित हुन बाध्य छ । उहाँको श्रीमुखबाट खसेका कुनै पनि शब्दले देश नै तरंगित भइरहेको छ । उहाँका शब्दबाणले शत्रुदलमा हाहाकार मच्चाइरहेको पनि सर्वविदित नै छ ।

केपीको साहस-दुःसाहसले देशलाई पुनः चौबाटोमा ल्याएको छ। देशको भावी दिशा कुन बाटो अवलम्बन गरी क-कसको साथ र रोहबरमा केलाई आफ्नो ‘डेस्टिनेशन’ बनाइ अघि बढ्ने हो, वर्तमानको यक्षप्रश्न यही नै हो । क्षमा गर्नुहोला यस यक्षप्रश्नको समाधान गर्ने जिम्मा देशका चतुर चपल नेताको बुताले नभ्याए (यसको सम्भावना अति क्षीण छ) बाहिरी शक्तिको हस्तक्षेपबाट उत्तरित हुनेछ।

विज्ञानको प्रख्यात ‘एन्ट्रापी’को नियम बुझ्ने जो-कोहीलाई पनि थाहा हुन्छ- ऊर्जाले कसरी र कुन दिशामा यात्रा गर्छ !

‘अब के हुन्छ’ भन्ने चासो राजनीतिमा रूचि भएका प्राणीवर्गको मात्र नभएर सर्वसाधारण नेपालीकै मस्तिष्कमा सल्बलाइरहेको छ । निश्चय पनि यस्तो राजनीतिक उपद्रोजन्य तरलावस्थामा प्रहारको मुख्य स्थल व्यवस्था र त्यसका सहायक अवयव नै हुन्छन् । वर्तमानको व्यवस्था र यसका अवयवले निर्दिष्ट गरेको राज्य सञ्चालन प्रविधि एवं संयन्त्र प्रारम्भदेखि नै आलोचित एवं अस्वीकृत हुँदै आएको कटु यथार्थलाई विस्मृत गर्न सकिन्न । राज्य व्यवस्था एवं सञ्चालनले अँगालेका अन्य तमाम विकृति विसंगतिलाई थाती राखेर एउटा मात्रै विसंगति धर्मनिरपेक्षताको चर्चा गरौँ । के यो सबैभन्दा पछिल्लो आन्दोलनको एजेण्डा थियो ? के देशमा पर्याप्त छलफल/बहस/अंतर्क्रिया र गोष्ठीका परिणामस्वरुप अँगालिएको थियो यो ? हरगिज होइन, यो मात्र र मात्र विदेशी प्रभाव र स्थानीय दलालको चलखेलमा पसाइएको थियो । सबै दलका नेता, तथाकथित नागरिक समाजका अगुवा (भँडुआ), मुख्यधाराका प्रकाशन गृह सबैले यसबापत सुखद धनराशि अर्जित गरेका थिए । ८०-८५ प्रतिशत बहुल समाजको श्रद्धा-विश्वास र आस्थालाई कुल्चिँदै देशमा धर्मनिरपेक्षता भित्र्याइयो। दमित धर्मप्रेमी जमात भित्रभित्रै सल्किँदै एउटा स्वर्ण अवसरको प्रतीक्षामा थियो । राज्य सञ्चालनको असफलता, राज्य सञ्चालनको प्रमुख अवयवको विफलता, धर्मलाई अफिम भनी हेलित गर्ने वर्गको आपसी कलहले त्यो अवसर उपलब्ध गरायो ।

जीवनभरी रत्नाकरका भाँति दस्यु दलमा नियति एवं प्रारब्धवश आबद्ध रहेका केपी ओलीले जीवनको उत्तरार्धमा आएर भगवत कृपाले ‘आखिर श्रीकृष्ण रहेछ एक’ तत्वज्ञान प्राप्त गर्नुलाई किंचित पनि छिद्रान्वेषण नगरी धर्म एवं न्यायका आलोकमा हेरिनुपर्छ। भनिन्छ– प्रत्येक पापीको भविष्य हुन्छ र प्रत्येक धर्मात्माको अतीत हुन्छ । ओलीजी आफ्नो अतीतलाई पखाल्न अग्रसर हुनुभएको छ, धर्मको विस्तृत विदीर्ण नभाकाशमा हिन्दूधर्म पालन गर्ने एउटा सन्यासीको नाता एवं दायित्वले म उहाँको हार्दिक स्वागत गर्दै यशस्वी भव, कीर्तिमान भव, आयुष्मान भव, यस देशको मस्तकमा पुनः हिन्दु धर्म ध्वजा शोभित गर्न सफल होउ भन्ने आशीर्वाद दिन्छु । यसका साथै हिन्दु धर्मका विभिन्न निकाय, वर्ग, समाज, पंथ, समुदाय, चिंतन, दर्शन, मतमताअवलम्बीहरुसँग हिन्दु धर्मलाई देशमा पुनः अनुप्राणित बनाउन सबै किसिमका मनोमालिन्यता परित्याग गरी एकजुट भएर यस महायज्ञमा सक्रिय योगदान गर्न निवेदन गर्छु ।

म तपाईंहरुलाई आश्वासन दिन्छु– हिन्दु धर्मका रिपु एवं अपराधीहरुको कुनै पनि प्रयासले अब केही आकार लिन सक्दैन । निराकार परमेश्वर श्री पशुपतिनाथ स्वयं यस पुनीत कार्यको दिग्दर्शन हेतु धराको यस भूभागमा सक्रिय भइसक्नुभएको छ । प्रमाणस्वरूप, कुनै पनि कम्युनिस्ट प्रधानमन्त्रीले पहिलोपटक उहाँका चरणमा गई शरण लिनुलाई नै यथेष्ट प्रमाण मान्न सकिन्छ । सबै दैवीय शक्तिले ओलीजीलाई निमित्तनायकका रूपमा चयनित गरिसकेका छन् । धर्म उहाँलाई नै योद्धा बनाएर रिपु दलको मानमर्दन हेतु महाकाल स्वरुप धारण गरी अग्रसर भएको छ । हिन्दु समाजका सबै वर्गले यस धर्मयोद्धालाई आफ्नो सहयोगको ढालरूपी सुरक्षा प्रदान गर्नु अपरिहार्य हुन आएको छ ।

राज्य सञ्चालनलाई निर्दिष्ट गर्ने अवयवसँग असन्तुष्टि एवं विमति राखेका वर्गका निमित्त पनि यो स्वर्ण अवसर नै हो । त्यसको निमित्तनायक बन्ने क्षमता एवं पात्रता पनि ओलीजीसँग नै छ । तपाईं विगतदेखि ओलीजीको धुर आलोचक एवं विरोधी भए पनि नीति वचन ‘शत्रुको शत्रु आफ्नो मित्र हुने’ लाई हृदयंगम गरी उनलाई सहायता गर्न प्रस्तुत हुनुस् ।

‘अब के हुन्छ’ भन्ने आशंकित मनोदशाले होइन, ‘अब यो यो हुनु पर्छ’ भन्ने स्पष्ट आत्मबल र मनोबलका साथ देशमा हुन गइरहेको महायज्ञमा पूर्णाहुति दिन अग्रसर हुने बेला आएको छ। यस्तो बेला दौर्बल्य धारण गरी मूकदर्शक हुनु अक्षम्य अपराध हुनेछ । ‘जसले धर्मको रक्षा गर्छ, धर्मले उसको रक्षा गर्छ’ भन्ने शास्त्रीय आप्त वचनमा निश्छल एवं पवित्र श्रद्धा गरी पूर्ण मनोयोगका साथ धर्मका पक्षमा आउनुस् । स्मरण गर्नुस, भगवान् असुर भ्राता विभीषणसँग के भन्नुहुन्छ-

कोटि बिप्र बध लागहिं जाहू, आएँ सरन तजउँ नहिं ताहू ।
सनमुख होइ जीव मोहि जबहीं, जन्म कोटि अघ नासहिं तबहीं ।
निर्मल मन जन सो मोही पावा, मोहि कपट छल छिद्र न भावा ।

मन निर्मल हुनासाथ भगवानले जन्मजन्मका पाप क्षमा गरीदिनुहुन्छ। तर भगवानलाई छल कपट भने पटक्कै मन पर्दैन । शरणागत हुन आएको विभीषणलाई अभयदान दिँदै प्रभु श्रीराम भन्नु हुन्छ-

सुनहु सखा निज कहउँ सुभाऊ, जान भुसुंडि संभु गिरिजाऊ।
जौं नर होइ चराचर द्रोही, आवै सभय सरन तकि मोही।
तजि मद मोह कपट छल नाना, करउँ सद्य तेहि साधु समाना।
अस सज्जन मम उर बस कैसें, लोभी हृदयँ बसइ धनु जैसें।
सगुन उपासक परहित निरत नीति दृढ़ नेम,
ते नर प्रान समान मम जिन्ह कें द्विज पद प्रेम।

विभीषणकै भाँती केपी ओली प्रभुका शरणमा आउनुभएको छ, उहाँका सबै अपराध क्षमा भई प्रभु अनुकम्पाले उहाँ धर्मदूत बनी धर्मपुनर्स्थापना हेतु अग्रसर हुनुभएको छ । हामी सभी प्रभु श्रीरामका कपि दल हौँ । मनमनै यही स्मरण गर्दै धर्मकार्य हेतु प्रस्तुत बनौँ–

अस प्रभु छाड़ि भजहिं जे आना, ते नर पसु बिनु पूँछ बिषाना ।
निज जन जानि ताहि अपनावा, प्रभु सुभाव कपि कुल मन भावा ।

राजनीतिलाई साहित्यिक आवरण र साहित्यलाई ऐतिहासिक दृष्टिले सिंहावलोकन गर्दै, इतिहासलाई वैज्ञानिक दृष्टिकोणले परिभाषित गर्नुपर्ने युगीन धार्मिक आवश्यकतालाई आत्मसात गरी आफ्नो पथ र पाथेय निर्धारित गर्नुस् । अस्तु.. ।