तमू धिंको नेतृत्वमा बेलायती नेपाली समाज

तमू धिंको नेतृत्वमा बेलायती नेपाली समाज


nep-melaबेलायतमा एक जातीय संस्थाको रुपमा देखिएको भए पनि ‘तमू धिं यूके’को प्रसिद्धी जातीयतामा मात्र सीमित नरहेर बेलायती नेपाली समाजमा एक ‘अगुवा’ समाजको रुपमा यस संस्था रहेको छ । प्रसिद्धीले ‘सम्पन्नता’ झल्काउँछ, सम्पन्नताले ‘क्षमता’ व्यक्त्याउँदछ अनि यसैबीच त्यहाँ ‘शक्ति’को उत्पादन हुन्छ, र जब ‘शक्ति-सम्पन्नता’ हासिल हुन्छ, तब ठूलो ‘जिम्मेबारी’को वोध प्राकृतिक रुपमा अनुभूत हुन्छ । यसैगरी तमू धिं यूकेले ‘प्रसिद्धी’ हासिल गरेर सामाजिक प्रतिष्ठामा ‘सम्पन्न’ भएको छ र त्यसै हालातले संस्थाको क्षमतामा ‘कुशलता’ थपिएको छ र नै त्यही कुशलताले संस्थालाई ‘श्रोत र सामर्थ्यले शक्तिशाली’ बनाएको छ अनि त्यसैको वोधले संस्था, विविध रुपमा बेलायतस्थित नेपाली समाजमा ‘जिम्मेदार’ संस्थाको रुपमा परिचित भएको छ ।

तमू धिं यूकेले एक नेपाली ठूलो ‘कुम्भ-मेला’जस्तै लाग्ने परिमाणको ‘गुर्खा कप’को आयोजना गर्दै आएको वर्षौं भएको छ । खासगरी फुटबलको ‘विशेष महिमा’ बताउने गरी आयोजित गुर्खा कप खेलप्रेमीहरुको समागम हुने घटनास्थलको रुपमा मात्र नभई यूकेभरि छरिएका हजारौं नेपालीहरुको ‘भेटघाट’ हुने ठाउँ पनि भएको छ । विगतका केही वर्षहरुमा तमू धिं यूकेले गुर्खा कपमा धाउने ‘विशाल नेपाली जनसहभागिता’को उपस्थितिको उपयोग गराउने समयको रुपमा गुर्खा कपलाई प्रचलित गर्ने गरी ‘व्यावसायिक प्रदर्शनी’को स्वरुप झल्काउन सकिने ‘प्लेटफर्म’ बनाउँदै गएको निकै नै ‘समय सान्दर्भिक’ बनेको छ । त्यत्ति धेरै जमात समेट्ने ‘इभेन्ट’लाई कुशलताका साथ प्रवन्ध गर्नु भनेको नै तमू धिं यूकेको ‘शक्ति’ हो, त्यसको तारिफ बेलायतमा जति नै गरे पनि कम नै हुन्छ ।

त्यस्तैगरी तमू धिं यूकेले नेपाली संस्कृति, परम्परालगायत जातीय भेषभुषा आदिका नेपाली सम्पन्नतालाई बेलायती समाजमा परिचित बनाउने अनि आन्तरिक रुपमा जातीय संस्कृतिलाई आआफ्नो अस्तित्वको ‘परिचायक पद्धति’ बनाउनका लागि विविध नेपाली जातीय संघसंस्थालाई प्रोत्साहित गर्ने हेतु ‘नेपाली मेला’को आयोजना लण्डनमा गर्दै आएको योपालि छैटौं पटक हो, जुन कार्य, तमू धिं यूकेको अति नै ‘सह्राहनीय प्रयास’ हो । एक जातीय संस्थाले आयोजना गरेको संस्था भनी यस संस्थाको यो मेलामा भाग नलिने संस्थाहरुमा ‘हीनताभाव’ झल्केको देख्न सकिन्छ तर योपालि भने साठीऔं संघसंस्थाहरुले निक्कै नै उत्साहका साथ नेपाली मेला २०१४मा भाग लिँदै गरेको सुन्नमा आएको छ, त्यो वास्तवमा नै परिवर्तित नेपाली सोँच हो भन्न सकिन्छ र त्यो निक्कै नै ‘स्वागतयोग्य’ छ ।

साँच्चै नै ठूलो परिमाणमा जनसहभागिता रहने कार्यक्रमको आयोजना गर्न सजिलो हुँदैन, त्यसमा जति प्रयास गर्दा गर्दै पनि केही न केही अप्रिय घटनाहरु घट्ने गर्दछन् । केहीअगाडिको मेलामा युवाहरुबीचको झगडाले एक नराम्रो रुप लिएको थियो । आयोजकहरुले यस विषयमा निक्कै नै ध्यान दिनु जरुरी छ भने खासगरी नेपाली अभिभावकहरु जो हुर्किरहेका आफ्ना छोरीछोरीलाई छाडा छोडेर राख्दछन् तिनको ‘पारिवारिक असक्षता’ले गर्दा सम्पूर्ण बेलायतबासी अन्य नेपालीहरुलाई एक ‘नमीठो’ प्रभाव दिइरहेको हुन्छ । बच्चा जन्माउनु र तिनलाई हुर्काउनु नै ठूलो होइन, तिनलाई सही पारिवारिक सुझबुझ दिई बढाउनु जरुरी हुन्छ, त्यही पारिवारिक शिक्षाको ‘कमी’ नै हो, ती युवाहरुलाई नेपाली मेला, गुर्खा कपजस्ता विशाल नेपाली जनसहभागिता रहने स्थानमा झगडा गरी आफ्नो ‘रिस पोख्ने’ अनि अन्य सर्वसाधारण नेपाली भीडहरु जो आफ्नो नेपाली विविध संस्कृति कला अनि परम्पराहरुको दृश्यावलोकन गरी नेपालीपनको गौरवपूर्ण अनुभव गर्न आउँछन्, लाई ‘भयभीत अनि आतंकित’ पार्ने र तिनको मनमा सो प्रकारका भेलाहरुप्रति ‘उदाशीनता’ जगाउने काम गर्न प्ररित गर्ने । तमू धिं यूकेले वा नेपाली मेला संयोजक समितिले ‘विशेष’ गरी नेपाली मेलालाई युवाहरुको ‘बदला लिने’ स्थानको नाममा परिणत हुन नदिन खास प्रयास गर्नु पर्ने देखिएको छ ।

tamu-dheeबेलायत ‘यती’ नाम गरेको संस्था, नामजस्तै समाजमा एक प्रकारले हराएको छ भने अर्को ठूलो र वास्तवमा नै सबैलाई समेट्न सक्ने संस्था एनआरएनए, आफैभित्रको राजनीतिको जालोमा जेलिएर ‘संकीर्ण’ बन्दै गएको छ भने एक जातीय संस्थाको रुपमा जानिएको संस्था तमू धिं यूके जातीयताको साँघुरो दायराबाट ‘फराकिएर’ बेलायती नेपाली समाजका साथै नेपालमा पनि एक ‘उदाहरण’को रुपमा ‘सामाजिक’ बन्दै गएको छ । बेलायती नेपाली समाजमा खासगरी एक ‘नेतृत्वकर्ता’को रुपमा आफूलाई स्थापित गर्दै बेलायती नेपाली समाजलाई एकवद्ध गर्ने प्रयासमा अग्रसर बन्दै गरेको तमू धिं यूकेलाई नेपाली मेला, गुर्खा कपलगायतका पर्व जस्तैका इभेन्टहरुको आयोजना गरी बेलायतमा ‘नेपालीपन’लाई जोगाउने कार्यको लागि मेरो यूके डट कम सधैं ‘शुभकामना र प्रगति’को कामना गर्दछ ।

[youtube]https://www.youtube.com/watch?v=2M4itorKEC4[/youtube]