- सुन्दर शर्मा

‘के छ साथी देशको खबर ? के हुँदैछ देशमा नयाँ र नौलो ?’
‘हेलो’ भन्नेबित्तिकै मेरी साथीको मुखबाट यही प्रश्न सुनिन्छ । साथीले बारम्बार यही जिज्ञासाका साथ बिस्तारित जवाफको अपेक्षा राख्छे मबाट । म पनि सधैंझैँ उही रेडिमेड उत्तर दिन बाध्य हुन्छु- ‘यस्तै छ साथी यहाँ । सधैं भद्रगोलको अस्थिर राजनीति !’
उ अझै डिटेलमा सबै जान्न र बुझ्न चाहन्छे मेरै मुखबाट । मिडियाका बनावटी समाचारमा उ विश्वस्त हुन सक्दिन रे !
उ भन्छे अहिले नेपालका ठुला मिडियाहरू कुनै एक गुटको मात्र सकारात्मक समाचार प्रसारण गरिरहेछन् । नेपालका ठुला मिडियाले आन्दोलनकारीको पक्षमा बढी फोकस गरेको गुनासो छ मेरी साथीको । त्यसैले मबाट सही र तथ्यगत सूचनाको अपेक्षामा बारम्बार फोन गर्दै बस्तुस्थिति जान्न चाहन्छे । उ विदेशी भूमिमा रहे पनि जन्मभूमिको बारेमा अलिक चासो राख्छे ।
म पनि आज मेरी साथीलाई देशको वर्तमान अवस्थाको घटनाक्रम सबिस्तार सुनाउने मुडमा छु ।
ल सुन साथी –
देशको अहिलेको अवस्था एउटा राजनीतिक दल नेकपाभित्रका दुई गुटबीचको विवादबाट सिर्जित समस्या हो । अहिले यहाँ भद्रगोलको अवस्था छ । सबैतिर अशान्ति छ । सडकमा यातायातका साधन कम गुड्छन् भने पार्टीकाका आमसभा बढी हुन्छन् । गरिखाने जनताको बेहाल छ । चोक–चोक र डबलीमा बलजफ्ती बसमा कोचेर ल्याइएका सोझासाधा जनताद्वारा शक्ति प्रदर्शनको नाममा पाखण्ड देखाइरहेका छन् नेताले दिनहुँ साथी ! जुन चोकमा हेर्यो आमसभा देखिन्छ हिजोआज । सुनाउनयोग्य खुशीको खबर केही छैन साथी मसँग अहिले ।
नेकपामा एक गुटको रोइलो सुनिन्छ भने अर्को गुटको दम्भ देखिन्छ । एउटा गुट सत्तामा पुगे अर्कोलाई डाहा, अर्को गुट सत्तामा पुगे अघिल्लोलाई जलन र छटपटी ! सत्ताबाहिर भयो कि जनताको नाम जोडेर आन्दोलन । यस्तै र यिनै चक्रब्युहमा फसेको छ साथी हाम्रो देश अहिले । यहाँ सत्ताप्राप्तिको लागि आन्दोलन निरन्तर चलिरहन्छ । सत्ताबाहिर बस्नै नसक्ने अचम्मको रोग छ साथी हाम्रा नेता भनाउँदाहरूमा । यिनै र यस्तै कथाबस्तुमा आधारित सडक नाटक दिनहुँ देखाइरहेछन् नेताहरू ।
आफ्ना छोराछोरीलाई विदेशी महँगो स्कुलमा पढाउने जनताका छोराछोरीलाई चाहिँ सधै आन्दोलन र हडतालका नाममा ढुङ्गा हान्ने र टायर बाल्ने काममा अल्मल्याइ आफूले राज गर्ने नेताको संस्कार नै आज हाम्रो देशको नियती बनेको छ साथी ।
कोभिड महामारीको त्यो दुःखद परिस्थितिमा जनतालाई चटक्कै बिर्सेका नेताले अहिले आ-आफ्नो आमसभामा आफ्नो स्वार्थसिद्धिको लागि भीड जम्मा गर्न निःशुल्क यातायात र खाना-खाजासहितको बम्पर प्याकेज पस्केका छन् । यस्तो घिनलाग्दो दृश्य पनि टुलुटुलु हेर्नुपरेको छ साथी ।
हिजोआज नेपालमा दिनहुँ सडक नाटक मञ्चन भैरहेछन् । नेकपाका दुई गुटबाट यो नाटकको शृङ्खला निरन्तर चलिरहेछ । एक गुटले दुई लाख जनता सडकमा उतारे अर्कोले चार लाख उतार्ने ! एक गुटले चार ठाउँबाट र्याली निकाले अर्काेले आठ ठाउँबाट निकाल्ने । यस्तै प्रतिस्पर्धा जारी छ साथी यहाँ ।
यी नेताले जनतालाई ‘फ्री’मा परस्परविरोधि कलाको अभिनय देखाइरहेछन् । यिनीहरूको आमसभामा एकले अर्को गुटलाई गर्ने अत्यन्तै निम्नस्तरको भद्दा गाली-बेइज्जतीचाहिँ विश्वजगतमा निकै चर्चित होला जस्तो छ है साथी ।
हिजोसम्म एकै परिवार (पार्टी)को सदस्य आज एकले अर्काको छायासम्म पनि हेर्न चाहँदैनन्, कस्तो अचम्म ! अहिले नेकपामा एक गुटले अर्को गुटलाई खुइल्याउने गजबको लहर चलेको छ साथी ।
मञ्चमा आसन पाएँ भन्दैमा राष्ट्रपतिको गरिमालाई समेत हिलो छ्याप्न पछि पर्दैनन् यिनीहरू । ‘विधवा’ शब्दबाणले राष्ट्रपतिको अपमान गर्ने कुप्रयास गर्छन् । विधवा र टुहुरा कोही रहरले हुँदैनन् भन्ने कुरा प्रचण्ड गुटकी ‘होनहार’ नेतृ राम कुमारी झाँक्रीले अहिलेसम्म पनि बुझेकी रहिनछिन् । यस्ता नेताले गतेको राजनीतिक प्रतिफल कस्तो आउला ?
झाँक्रीले भबितब्यले बन्ने बिधवालाइ पनि राजनितिक भाषणको घिनलाग्दो खुराक बनाइन् । परिस्थितिले झाँक्रीलाइ कुनै दिन विधवा बनायो भने उनको भाषण सुन्ने कुनै न कुनै ब्यक्तिले उनलाई सोध्नेछन्- विधवा रहरले भइँदोरहेछ कि भवितब्यले ?
एक्ली नारीलाई मात्र थाहा हुन्छ जीवनमा लोग्नेको साथ र अभावको पीडा । झाँक्री जस्ती बोलीको कुनै ओज नभएकी नेतृको दिमागले कसरी छुट्याउन सक्ला सम्मान र आलोचना ?
अहिले नेतागणले मञ्चमा बोल्न पाउँदा आफूलाई काबुमा राख्नै नसकेको प्रष्ट देखियो साथी । बोलीको हद पार गर्दै बोलेका छन् । बोल्दाबोल्दै आफ्नो बस्त्र फुस्केर सर्वाङ्ग नाङ्गो भएको पत्तै पाएका छैनन् नेताहरूले ।
गाई मारेको निहुँमा दर्जन निरीह जनजातिले कैद सजाए भोगिरहेछन् भने अभिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रको गरिमा राष्ट्रपति संस्थामाथि आक्षेप र लान्छना लगाइ मानमर्दन हुने गरी अभिव्यक्ति दिने र भाषणद्वारा अपमानित शब्द प्रहार गर्ने झाँक्रीलाई सोधपुछको लागि नियन्त्रणमा लिनु के राज्यको दोष नै हो त साथी ?
स्त्रीको कोखबाट जन्मिएका नेता भीम रावलले स्त्री अङ्ग धारण गरेको भन्दै प्रधानमन्त्री र समस्त स्त्री जातिको खिल्ली उडाए । म के बोल्दैछु र यसले समाजमा कस्तो असर पार्ला भन्नेसम्म पनि याद नगरी केपीलाई खुइल्याउन खोज्दा नेता रावल स्वयम् खुइलिए । यस्तो बोलीको कुनै सीमा र अनुशासन नभएका तल्लो स्तरको गालीगलौजले समाजमा कस्तो सन्देश जाला ? यस्ता अनुसासनहीन नेताबाट समाज र पार्टीको पनि कुनै तरहले भलो होला त साथी ?
अहिले भाषण गर्दा आफ्नो बस्त्र फुस्केको थाहा नपाउने नेताको बौद्धिकताको डिग्री आम सर्वसाधारणले यसै मेसोमा छर्लङ्ग देख्न र बुझ्न पाए । यस्ता होनहार नेता भएको पार्टी कसो उँभो नलाग्ला त साथी ?!
अहिले गुट–गुटको विरोधसभामा इँटाभट्टाका श्रमिक र बसका खलासीले झैँ फोहोरी शैलीमा नाभीदेखिको बल लगाएर एकले अर्कोलाई खुइल्याउँदै गालीगलौज गर्दा आमजनताले कसरी यी नेताको मुल्याङ्कन गर्दा हुन् ? अनौठो लाग्छ साथी मलाई । यी दिनहुँ हुने आमसभालाई ‘गालीगलौज सभा’को नाम दिँदा उपयुक्त हुन्छ ।
अहिलेको जस्तो भीड हिजो पनि दिखिएकै हो । हामीले बनाइदिएको त्यही भीडको कारणले नेताले आफ्ना स्वास्नी, छोराछोरी, भाइभतिजा, सालासाली आदिलाई पुस्तौँ पुग्ने गरी गतिलो ब्यवस्थापन गरिदिए । जनताले के पाए त ? अहिले पनि नेताका करिव ५० जोडी (लोग्ने–स्वास्नी) त सांसद् (विघटित) नै छन् । समानुपातिक सांसद्मा कहीँकतै वास्तविक जनता अटाएनन्, मात्र नेताका आसेपासेले मौका पाए ।
घाँटी फुट्ने गरी चिच्याउँदै जनतालाई विभिन्न प्रलोभनसहितको बम्पर योजना सुनाइरहेछन् हिजोआज नेताहरू । तर, जनताले अब पनि केही पाउनेवाला छैनन् । सबै लुट्ने उनकै आसेपासेले हो । अब जनताका छोराछोरी पनि यी नेताका कपटी चाल बुझेर मुर्दावाद र जिन्दावाद जस्ता नाराको जालोमा फस्नुहुँदैन । स्वतन्त्र रूपले आयअर्जन हुने कुनै परिश्रमी काम गर्नतिर लाग युवा हो । आज मुर्दावाद र जिन्दावाद प्रयोग गरिएका युवालाई आफ्नो स्वार्थपुर्ति हुनेबित्तिकै चिन्नेछैनन् यी नेताले । आज कसैलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउन तिमी युवाहरू किन बलीको बोको बन्छौ ? तिमीहरूलाई हिजो पनि प्रयोग गरिएकै हो । खै त के पायौ ? आफ्नो बारेमा सोच्ने बेला भयो है अब त !
देश अकल्पनीय खतराको मुखमा पुग्यो भन्दै गर्जंदै भाषण गर्ने घनश्याम भुसाल, योगेश भट्टराई, वर्षमान पुन, गिरिराजमणि, बिना मगरलाई देख्दा दया लागेर आउँछ । यिनीहरूले मन्त्री हुँदा आ-आफ्नो मन्त्रालयअन्तर्गत कुनै हेर्न र अनुभव गर्नलायक काम नगरी अढाई वर्ष बिताए, तलब-भत्ता मात्र पचाए ।
यिनीहरू हिजो मन्त्री हुँदासम्म सब ठिकठाक देख्थे, तर आज पद फुस्कने बित्तिकै सबै बिग्रीयो रे ! वर्षायाममा खेतीको लागि किसानलाई मलबीउ उपलब्ध गराउन नसक्ने, उखु किसानको भुक्तानीको लागि चुइँक्कसम्म बोल्न नसक्ने कृषिमन्त्री भुसाल अहिले कुर्लेको देख्दा जनता लाजले मुख छोप्दैछन् । त्यस्तै गिरिराज, योगेश र बिना मगरले सिन्कोसम्म भाँच्ने काम गरेनन् । उल्टो बेथितिको जग बसाए ।
उर्जामन्त्री बनाइएका वर्षमान पुनले नेपाललाई लोडसेडिङमुक्त गरी वर्षौंदेखि घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा ल्याउन सफल कुलमान घिसिङलाई पुनर्नियुक्ति दिलाएनन् । जनताले उनलाई ल्याउनुपर्छ भनी उच्छ स्वरमा माग गर्दा पनि पुनले नसुनेझैँ गरे । उनले चाहेको भए कुलमानलाई सजिलै ल्याउन सक्थे । अहिले सबै दोष केपीलाई दिँदै आफू पानीमाथिको ओभानो बन्दैछन् ।
अब हाम्रो देशको ‘नागरिक समाज’को कुरा गर्छु है साथी । आम नागरिकलाई अप्ठ्यारो पर्दा चुइँक्क आवाज उठाउन नसक्ने हाम्रो देशको नागरिक समाज राजनीतिक पार्टीको लागिचाहिँ तुरुन्तै सडकमा ओर्लिने विचित्रको परिपाटी छ साथी । वास्तविक नागरिक समाजले त आमजनताको पक्षमा आवाज उठाउनुपर्ने हो । तर साथी यहाँ त पार्टीअनुसारका नागरिक समाज छन्, जो राजनीतिक दलको भाषा बोल्छन् ।
हिजोआज नागरिक समाजका केही अगुवा हुँ भन्नेहरू राजनीतिक दलजस्तै खुल्लमखुल्ला छाडा गालीगलौजमा उत्रेका छन् । के नागरिक समाज पार्टीका भातृसंस्था हुन् र ? होइन भने किन राजनितिक भाषा बोल्छन् र राजनीतिक विषयमा बहस चर्काउँछन् नागरिक अगुवाहरू ? नागरिक समाजको विशेषता भनेकै गैरराजनीतिक चरित्र हो । अर्थात्, उ आमनागरिकको लागि मात्र बोल्नुपर्छ, पार्टीविशेषको लागि होइन ।
ओठ निचर्दा दुध निस्कने चिचिला नानीहरूको बलात्कार गर्ने निकृष्ट सैतानहरूलाई कारवाहीको माग गर्दै र ती यौनपिपासु बलात्कारीलाई कठोर दण्ड सजायको लागि नागरिक समाजका अगुवाहरू सडकमा ओर्लेको देखिँदैन साथी यहाँ ।
उखुकिसान आफ्नो फसलको भुक्तानीको लागि सडकमा ज्यान फाल्दा ती मेहनती किसानको लागि अहिले जसरी नै सडक तताएको भए नागरिक समाजको साख कति उँचो हुँदो हो । यी उखुकिसानको लागि नागरिक अगुवाहरू चुइँक्कसम्म बोलेनन् । उल्टो केपीको बहिर्गमनको लागि भन्दै सडकमा ओर्लेका छन् । कस्तो उदेक लाग्ने काम है साथी !
उपराष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा आसिन ब्यक्तिले पार्टीको कार्यकर्ताझैँ ह्विप मानेर सरकारलाई असहयोग गर्दा हाम्रा नागरिक समाज बेखबरतुल्य नै छन् ।
शान्तिपूर्ण सभा-जुलुसबाट प्रधानमन्त्रीलाई घुँडा टेकाउन नसकेपछि प्रचण्डले कार्यकर्तालाई आक्रामक रूपमा मांसाहारी आन्दोलन चर्काउन उर्दी जारी गरेका छन् । यस्तो हिंसा र आतङ्कको उर्दी जारी गर्दा पनि हाम्रा नागरिक समाज भनाउँदा तमासा हेर्दैछन् ।
देशमा विभिन्न बहानामा अराजकता पैदा हुँदा नागरिक समाजका अगुवाले सहजकर्ताको भूमिका खेल्नुपर्नेमा पार्टीका कार्यकर्ता झैँ प्लेकार्ड बोकी सडकमा ओर्लिनुलाई कसरी नागरिक समाज भनेर सम्बोधन गर्ने साथी तिमी नै भन । यी त पार्टीकै जनवर्गीय सङ्गठन जस्तै भए नि होइन र ? नागरिक समाजले त निष्पक्ष रूपमा देश र जनताको एजेण्डा बोकी स्वस्थ समाजको लागि योगदान दिनुपर्ने हो । तर हाम्रो देशमा यसको ठिक उल्टो भैरहेको छ साथी ।
समग्रमा भन्दा हिजोआज नेकपाभित्रको दुई गुटको नाटक दिनहुँजसो सडकमा देख्न पाइन्छ । यिनको सडक नाटक हेरेर अरु नाटक फिक्का जस्तो लाग्छ, किनकि नेकपामा जस्तो चर्चित कलाकार अरु पार्टीमा छैनन् । त्यसैले होला यिनको सडक-नाटकमा जनता रमाइलो मान्दै ताली पिट्छन् ।
आफू असल र राम्रो बनेर ताली र वाहवाही खान पाए पो महान् बनिने हो । यहाँ त जति सक्यो अर्को गुटलाई गाली र सत्तोसराप गर्यो, चर्को र क्षुद्र भाषणमार्फत अर्कालाई गाली बेइज्जत गर्यो त्यति धेरै ताली पाइन्छ भन्ने भ्रमको विकास भएको छ साथी अहिले ।
बोलीबाट नै प्रष्ट हुन्छ हाम्रा नेताको ब्यक्तित्व । राजनीतिमा शिक्षा, आदर्श, सिद्धान्त, नैतिकता, ब्यावहारिक ज्ञान जस्ता कुराहरू सबै देखावटी लाग्छन् साथी यहाँ । हालको अवस्था हेर्दा लाग्छ- विपक्षीलाई जतिसक्दो गालिगलौज गर्यो, कुनै एक गुटको पुच्छर समात्यो, सत्ताको लागि जस्तोसुकै निर्लज्ज भाषण शक्तिको रूपमा प्रस्तुत गर्न सक्यो त्यति नै ठुलो र महान् बन्न सकिन्छ । बस्… यस्तै सस्तो लोकप्रियता बिक्री भइरहेछ साथी अहिले हाम्रो देशमा ।
आफ्नो कुर्सी र पदको लागि आमजनताको एकछाके चुल्हो पनि निभ्ने गरी यो बन्दरूपी आन्दोलन गर्ने नेतालाई पङ्क्तिकारको प्रश्न छ- ‘हे नेता हो ! यस्तो कार्यले कसरी जितिन्छ जनताको मन, र पुग्छौ सत्तामा !?
ल साथी यही हो अहिलेको हाम्रो देशको वास्तविकता ।…
प्रतिक्रिया