भारतको मध्य प्रदेशमा मंगलबार एउटा बस नहरमा खस्दा कम्तीमा ३७ यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीले स्थानीयको सहयोगमा घटनास्थलमा अन्य घाइतेहरूलाई उद्धार गरेको बताइएको छ ।
मंगलबार बिहान ५० भन्दा बढी यात्रुसहितको बस सटना गाउँनजिक दुर्घटना भई नजिकैको नहरमा डुबेको थियो । बस दुर्घटनाको कारण अझै खुलिनसकेको एएफपीले जनाएको छ ।
भारतको सडकको विशाल सञ्जाल कमजोर तथा खराब रहेको कारण वर्षेनी हजारौँ भारतीयको सडक दुर्घटनाका कारण मृत्यु हुने गर्छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बस पूर्ण रूपमा डुबेको छ र सामजिक सञ्जालमा आएका तस्वीरहरूमा उद्धारकर्ताहरूले लाइफ ज्याकेट लगाएर निरन्तर उद्धार गरिरहेको देखाइएको छ ।
प्राप्त विवरणअनुसार दुर्घटनापछि चालकसहित सात व्यक्ति पौडी खेली पानीबाट सुरक्षित स्थलमा जान सफल भएका बताइएको छ । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकृत धर्मवीर सिंहले घटनालाई पुष्टि गर्दै अहिलेसम्म ३७ जनाको मृत शरीर पानीबाट निकालिएको र शवलाई अन्तिम परीक्षणका लागि पठाइएको छ ।
घटनापछि नहरको पानी बन्द गरी बसलाई दुर्घटना भएको तीन घण्टापछि क्रेनको सहयोगमा पानी बाहिर निकालिएको थियो ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ती तथा राहत स्वरूप दुई लाख भारतीय रूपैयाँ सहयोग प्रदान गर्ने ट्वीटर सन्देशमा बताएका छन् ।
प्रतिक्रिया