बबिता बस्नेत
केही दिनअघि काठमाडौंको जोरपाटीमा बलात्कारको प्रतिकार गर्दा एउटी किशोरीलाई भित्तामा ठोक्काएर टाउको फुटाइ मार्ने कोशिस गरियो । बलात्कारबाट त उनी बचिनन् नै निधारदेखि टाउकोसम्म रगतपिच्छे भएर उनको घाँटी घुमाउन नमिल्ने अवस्थामा पुग्यो । अस्पताल भर्ना गरिएकी उनको अहिलेसम्म पूर्ण होश आइसकेको छैन । घरी-घरी होश आउँदा आत्तिने र कहालिने गर्छिन् । ती किशोरीलाई बलात्कार गर्ने बाहिरका मानिस नभएर आफ्नै सौतेनी बाबु थिए । जोसँग उनकी आमाले आफू र आफ्नी छोरीको सुरक्षित भविष्यका लागि केही वर्षअघि विवाह गरेकी थिइन् । पत्नी बिरामी भएर अस्पतालमा बसेका बेला पतिले ‘मैले तेरी छोरी मारेँ’ भनी फोन गरेपछि उनले आफ्नी छोरीको दुर्दशाको बारेमा थाहा पाएकी थिइन् ।
नेपालमा महिलाले दोश्रो विवाह गर्ने क्रमसँगै यसप्रकारका घटनाहरू पनि बढिरहेका छन् । प्रहरीको तथ्याङ्कअनुसार, वि.सं. २०७६÷७७ मा ५२ वटा बलात्कारका घटनाहरू सौतेनी बाबुबाट भएका थिए । यसरी बलात्कृत हुनेमा ६ वर्षदेखि १३ वर्षका बालिकाहरू बढी छन् । बलात्कार गर्नेहरूको उमेर ४० देखि ६१ वर्षसम्मको छ । कल्पना गरौँ, १३ वर्षकी बालिकालाई बलात्कार गर्ने ६१ वर्षका बाबुको मानसिकता कस्तो होला ? उसले विवाह गर्ने सोच आमालाई हेरेर बनायो कि त्यो सानी बच्चीलाई देखेर बनायो होला ?
सौतेनी बाबुमा बलात्कारीको छाया देख्दै-हुर्कंदै गरेका छोरीहरूको सङ्ख्या समाजमा बढ्दै छ । किनभने, आफ्ना बच्चासहित दोश्रो विवाह गर्ने महिलाहरूको सङ्ख्या बढ्दै छ । दोश्रो विवाह गर्ने सबै पुरुष उस्तै छैनन् । कतिपय पुरुषहरूले पत्नीका अघिल्लो पट्टिका बच्चालाई आफ्नो बच्चा मानी नाम, पहिचान, सम्पत्ति सबै दिएका उदाहरण पनि हाम्रो समाजमा छन् । तर, त्यस्ता घटनाहरू नगण्य मात्रामा छन् । अधिकांश दोश्रो विवाह महिलाका लागि पीडादायी बन्ने गरेका छन् । महिलाका लागि मात्र नभई सन्तानका कारण दोश्रो विवाह कतिपय पुरुषका लागि पनि सकसपूर्ण छन् ।
उमेरछँदै पति या पत्नीको देहान्त भएपछि या पहिलो विवाह सफल नभएपछि मानिसले दोश्रो विवाह गर्छन् । महिला, पुरुष या लैङ्गिक अल्पसङ्ख्यक सबैमा यही कुरा लागु हुन्छ । विगतमा प्रायः दोश्रो विवाह पुरुषले मात्रै गर्ने चलन थियो । जति कलिलो उमेरमा पतिको देहान्त भए पनि महिलाहरू बालविधवाको रूपमा जिन्दगी काट्थे तर उनीहरूको दोश्रो विवाहको कल्पना गरिँदैनथ्यो । हाम्रा धर्मशास्त्रहरूमा महिलाले विवाहअघि बच्चा जन्माएको परिकल्पना गरिएको छ तर दोश्रो विवाहको बारे सोचेको खासै देखिँदैन । महाभारतमा सत्यवती र कुन्तीले विवाहअघि नै बच्चा जन्माएका थिए । पाँच हजार वर्षअघिको परिकल्पनाको के कुरा तिस वर्षअघि र अहिले परिस्थितिमा ठुलो अन्तर आएको छ । महिला-पुरुष दुवैका सम्बन्धमा तनाव बढ्दो छ । एकतिर सम्बन्धमा समस्या छ भने अर्कोतिर काल, परिस्थितिले पतिको देहान्त भएर एकल भएका महिलाहरूको संख्या पनि बढिरहेको छ ।
दशवर्षे द्वनद्वले हजारौँ युवतीहरूलाई एकल बनायो । अहिले कोभिड-१९ ले मृत्यु हुनेहरूमा पनि महिलाभन्दा पुरुषको संख्या बढी छ । वैदेशिक रोजगारीलगायतका पति–पत्नी छुट्टाछुट्टै बस्ने परिस्थितिले कतिपय मानिस दोश्रो विवाह गरिरहेका छन् । विभिन्न कारणले एकल भएका पुरुषहरूको दोश्रो विवाह हाम्रो समाजमा खासै चर्चा या सोचनीय विषय बन्दैन । सन्तान भएका पुरुषहरूले दोश्रो विवाह गर्दा सन्तान भएका महिलाले जस्तो अवस्था भोग्नु पनि पर्दैन । यसो हुनुको प्रमुख कारण बासस्थान र सम्पत्तिसँग जोडिएको छ । जे-जस्ता अवस्थाले निम्त्याएको भए पनि हामी कहाँ दोश्रो विवाह बढ्दो छ र यसले निम्त्याउने सुखद भन्दा दुखद परिस्थितिहरू बढिरहेका छन् ।
पहिलो विवाह असफल भएकाहरूले म यसपल्टचाहिँ सही निर्णय गर्दैछु या बल्ल सही मान्छे भेटेँ भनेर विवाह गरेका हुन्छन् । तर सुरुमा सही लागेको त्यही मान्छे समयक्रममा गलत बनिदिन्छ ।
अमेरिकामा पहिलो विवाह ५० प्रतिशत, दोश्रो विवाह ६७ प्रतिशत र तेश्रो विवाह ७४ प्रतिशतको अनुपातमा सम्बन्ध बिच्छेदमा गएर टुङ्गिने गरेका रहेछन् । नेपालमा यसप्रकारको खोज, सर्भे या अनुसन्धान हुने गरेको छैन त्यसैले कति मानिसले दोश्रो विवाह गरेका छन् र त्यसको सफलता या असफलताको अनुपात कति छ भन्ने तथ्याङ्क छैन । हामीकहाँ वैवाहिक जीवनमा जे-जस्ता दुःखद परिस्थिति आए पनि ‘भइहाल्यो.. अरुले के भन्लान् ? सहेरै बस्छु’ भन्नेहरूको सङ्ख्या ठुलो भएकाले सफलताको मापन गर्न पनि गाह्रो छ । बोलचालै नगरी एउटै छतमा बस्नुलाई विवाहको सफलता मान्न मिल्दैन तर सन्तान र समाजका लागि यसरी जीवन बाँचिरहेकाहरू पनि हामीकहाँ त्यत्तिकै छन् ।
पहिलो सम्बन्ध टुटेपछि जसले दोश्रो विवाह गरेका छन् केहीलाई छाडेर तिनको जीवन त्यति सुखद देखिँदैन । विगतको कुरा बारम्बार ल्याएर सम्बन्धलाई किनारामा पुऱ्याउनेदेखि सन्तान, सम्पत्ति लगायतका कुराबाट सिर्जना भएको तनाव अन्ततः पश्चातापमा पुगेको देखिन्छ । विशेषगरी सन्तान भएका बाबुआमाहरू दोश्रो विवाहबाट दुःखी छन् । पहिलो विवाह असफल भएकाहरूले म यसपल्टचाहिँ सही निर्णय गर्दैछु या बल्ल सही मान्छे भेटेँ भनेर विवाह गरेका हुन्छन् । तर सुरुमा सही लागेको त्यही मान्छे समयक्रममा गलत बनिदिन्छ । महिला, पुरुष, लैंगिक अल्पसंख्यक सबैमा यो लागुहुन्छ । खासमा यो महिला, पुरुष भन्दा पनि मानिसको सोच र नियतसँग सम्बन्धित कुरा हो ।
आफू किन विवाह गर्दैछु भन्ने कुरामा स्पष्ट भएर गरिएका विवाहहरूमा सफलताको अनुपात बढी हुन सक्छ । विवाह किन गर्ने ? भावनात्मक साथका लागि ? आर्थिक रूपले सुरक्षित हुनका लागि ? शारीरिक, मानसिक, मनोवैज्ञानिक कारणले ? सँगै जिन्दगी बिताउनका लागि ? बंश परम्परा धान्नका लागि ? केका लागि ? यी र यस्ता केही प्रश्नमा स्पष्ट नभइकन गरिएका विवाहहरू भ्रममा बसुन्जेल ठिक, भ्रम टुटेपछि बेठिक बन्ने गरेका छन् । आफूले गरेका कुनै पनि अपेक्षा पूरा भएनन भने के गर्ने भन्ने पूर्वतयारी हरेक मानिसमा हुन आवश्यक हुन्छ । जुन कुराको कमी हामी सबैमा छ ।
श्रीमतीले खाना बनाएर खुवाउँछिन्, घर सम्हाल्छिन् भनेर गरिएको विवाह भोलि श्रीमतीले ती कार्य गर्न नसक्ने अवस्था आयो भने के गर्ने ? उनलाई कुनै दीर्घरोग लाग्यो भने के गर्ने ? यही कुरा पतिको सवालमा पनि लागु हुन्छ । आर्थिक वा भावनात्मक सुरक्षा दिन्छ भनेर गरिएको विवाहमा यी दुवै कुरा प्राप्त गर्न नसक्ने अवस्था आएमा के गर्ने ? स्पष्ट नभइ अगाडि बढेका कारण विवाह प्रेमको अन्त्य हुने सबैभन्दा उपयुक्त माध्यम बन्ने गरेको छ ।
एकार्काको स्वतन्त्र अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न सक्यो भने विवाह समाजको सबै भन्दा सुन्दर संस्था हो । यद्यपि हाम्रा धेरै दिदीबैनीहरू स्वतन्त्र अस्तित्वको खोजी गर्न सक्ने अवस्थामा छैनन् । एक्ली महिलालाई समाजमा हेप्ने, आत्मनिर्भर नभएका कारण जिन्दगी धान्नै गाह्रो हुने परिस्थितिमा सहाराको लागि दोश्रो विवाह गर्नेहरूको सङ्ख्या ठुलो छ । पतिले सहारा दिन्छ, मेरा बच्चाहरूले गुमेका बाबुको माया पाउँछन् भन्ने अपेक्षा लिएर दोश्रो विवाह गरेकालाई पतिले आफ्नै सन्तानलाई कुटपिट र बलात्कार गर्दा कस्तो हुन्छ होला ?
हामीकहाँ महिला र पुरुषलाई हेर्ने अलग दृष्टिकोण विवाह र सम्बन्धबिच्छेदमा थप लागु हुन्छ । पुरुषको दोश्रो विवाहलाई सहनुभूतिको आँखाले हेरिन्छ भने महिलालाई चरित्रको आँखाले ।
दोश्रो विवाहमा समस्या विकसित मुलुकमा पनि आउँछ । तर बच्चाको मामिलामा प्रायः उनीहरू हामीकहाँ जस्तो दुष्ट सोच राख्दैनन् । अपवादका मुद्दा जहाँ पनि हुन्छन् तर कम छन् । मेरी श्रीमती या श्रीमानको छोरा वा छोरी भन्दै परिचय गराउँछन् । स्टेप फादर, मदर, स्टेप सिबलिङ्गस्… हामी जस्तो छोराछोरी या बाबुआमा चिनाउन धक मान्दैनन् । मन मिलुञ्जेल सँगै बस्छन् नमिलेको दिन छुट्टिन्छन् । हाम्रो जस्तो नाटकीय जीवन बाँचेर विवाहलाई इज्जतको विषय बनाउँदैनन् । प्रख्यात टेलिभिजन प्रस्तोता स्व. ल्यारी किङ्गको एकपछि अर्को विवाह असफल भयो । आठ वटा विवाह गरे, हरेक विवाह अन्तिम हो भनेर गरेको तर सफल हुन नसकेको उनले बताएका थिए ।
हामीकहाँ महिला र पुरुषलाई हेर्ने अलग दृष्टिकोण विवाह र सम्बन्धबिच्छेदमा थप लागु हुन्छ । पुरुषको दोश्रो विवाहलाई सहनुभूतिको आँखाले हेरिन्छ भने महिलालाई चरित्रको आँखाले । दोश्रो विवाह प्रायः पुरुषका लागि परिवारको दबाबसहितको रोजाइ हो भने महिलाका लागि बाध्यता । हिजोआज कतिपय महिलाले पतिको सम्पत्ति लिएर बच्चालाई अलपत्र पारी गरेका केही घटनाहरू सार्वजनिक भए पनि त्यो आम कुरा होइन । विवाह दुःखी हुनका लागि कसैले गरेको हुँदैन । खुशीका लागि गरेको विवाह धेरैजसो आरोप–प्रत्यारोपमा टुङ्गिने गरेका छन् । यस्तो ‘ब्लेम गेम’ पहिलो भन्दा दोश्रो विवाहमा बढी हुने गरेको छ ।
मानिस हो, एकार्काप्रति आर्कषण हुनु सामान्य हो । प्रेम नै भयो भने सम्बन्ध गहिरो हुन सक्छ तर प्रेमका नाममा प्रेम जस्तो अनुभुति हुनासाथ गरिएका विवाहहरू पहिलो नै भए पनि असफल भएका छन् । हाम्रो समाजमा हुर्किएका मानिसको सोच फराकिलो नभइसक्दा महिलाहरूले सन्तान या दोश्रो विवाह दुईमा एक रोज्नुपर्ने अवस्था छ । बच्चा आफूसँगै लिएर जाँदा मनोवैज्ञानिक असरदेखि बलात्कारसम्म हुने जोखिम छ । दोश्रो विवाह गरेका महिलाले पतिका पहिलो पत्नीका सन्तानलाई ‘सौतेनी ब्यवहार’ (दुर्व्यवहार) गर्ने र पतिले पत्नीका पहिलोतिरका सन्तानलाई ‘सौतेलो ब्यवहार’ गर्ने दुवै गलत हुन् । समय परिस्थितिले दोश्रो विवाह गर्नेहरूको पहिलो शर्त ‘सन्तानलाई गर्ने राम्रो ब्यवहार’ हुन सक्दैन भनें त्यस्तो विवाह नगरेकै राम्रो ।
प्रतिक्रिया