म्यानमारमा चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु

म्यानमारमा चर्किँदै आन्दोलन, दुई प्रदर्शनकारीको मृत्यु



म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका एएफपीले जनाएको छ ।

‘आक्रोशित प्रदर्शनकारीहरूको भीडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’ मन्डलायास्थित स्वयम्सेवी आपतकालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भनेका छन् । घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूको भनाइ छ । मृतकमध्ये एक जना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

एक अर्का स्वयम्सेवी उद्धारकर्ताले पनि मृत्यु भएकाको सङ्ख्या दुई पुगेको पुष्टि गरेका छन् ।

म्यानमारमा केही हप्ता पहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत् हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ ।