- बबिता बस्नेत
संयोग नै मानौँ, राजा-रानी र राजपरिवार झापामा रमाएर नाचिरहँदा राजधानीमा नेताहरू तनावयुक्त छन् । रानी कोमलको ७० वर्षको जन्मदिनमा राजा-रानीले नेपाली गीतमा गरेको साल्सा नृत्य अहिले निकै चर्चित छ । सामाजिक सञ्जालमा भाइरल उक्त नृत्यलाई मानिसहरूले प्रशंसा गरेका छन् । सार्वजनिक भएका राजदम्पत्तिका तस्बिरले पनि त्यत्तिकै स्थान पाएका छन् । राजपरिवारको खुशीले मानिसको मनमा इर्ष्या या आक्रोश जन्माएको छैन । यदाकदा नेताहरूका यस प्रकारका तस्बिर सार्वजनिक हुँदा आक्रोश पोख्ने मानिसहरू राजा-रानीका तस्बिर र नृत्य रमाइलो मानेर सेयर गरिरहेका छन । राजाको परिवार र नेताको परिवारका सार्वजनिक भएका तस्बिरपछि मानिसका प्रतिक्रियाहरूले त्याग र स्वार्थले पार्ने प्रभावको स्पष्ट चित्रण गरेको छ ।
नेता प्रचण्डकी पत्नी सीताको जन्मदिन र उहाँहरूको विवाहोत्सवका तस्बिर, प्रधानमन्त्री केपी ओलीको जन्मोत्सवको केक, अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा खुवाइएको केकलगायतका खुशी साटेका तस्बिरहरूले भरपुर आलोचना पाएका थिए । नेता प्रचण्डले दशैँको बेला कौशीमा बसेर कराइमा मासु चलाइरहेको तस्बिरले दशैँभर मात्र नभइ अहिलेसम्म पनि आलोचना पाइरहेको छ । तथापि, कुनै पनि नेतालाई खानेकुरा पकाइरहेको तस्बिरमा त्यति धेरै गाली गर्नु आवश्यक थिएन ।
राजा र राजपरिवारको अहिलेको खुशी त्यागले दिएको खुशी हो । समयको कठोर प्रहार सहन सक्यो भने मानिस थप जीवन्त बन्छ । राजपरिवारको खुशी त्यही कठोर प्रहारको देन हो । राजा ज्ञानेन्द्रको जीवनकाललाई हेर्ने हो भने उहाँजति समयको प्रहार खप्ने मानिस कमै होलान् । तर उहाँको मौनता र शालिनता आफैमा एउटा सन्देश बनेर जनमानसमा प्रवाहित भइरह्यो ।
बाराक ओबामाले ‘थ्याङ्स गिभिङ्ग डे’मा टर्की बनाएको फोटो सगर्व सेयर गर्नेहरूलाई आफ्नै देशका नेता प्रचण्डले दशैँमा मासु पकाएको किन मन परेन ? हिरोइनसँग प्रचण्ड नाच्दा दुःखी भएको जमातले राजा ज्ञानेन्द्र र उहाँको परिवारको नाचलाई किन सामान्य रूपमा लिए या जीवनमा खुशी बाँच्ने कुरासँग दाँजेर हेरे ? आखिर किन यस्तो भइरहेको छ त ? मानिसको मनोविज्ञान सत्ताविरोधी हो ? सत्तामा बस्नेहरूले खुशी हुनुहुन्न भन्ने हो ? जवाफमा सायद ‘होइन’ भन्नेहरूको जमात ठुलो हुनेछ ।
राजपरिवारको खुशीमा मानिसहरू खुशी हुने कुरा पृष्ठभूमि र त्यागसँग जोडिएको छ । नेताहरूको खुशीमा मानिसहरू दुःखी हुने कुरा पनि पृष्ठभूमिसँगै जोडिएको छ । राजाको इतिहास देशको जगसँग जोडिएको छ, कतिपय नेताहरूको इतिहास सत्तामा पुग्नका लागि लिएको मानिसको ज्यानसँग जोडिएको छ । मानिसको जिन्दगीमा लिनेभन्दा दिने कुराले सधैं शान्ति प्राप्त हुन्छ । कसैसँग केही लिने अपेक्षा या लिनुपर्ने मानसिकताले जीवनमा मानिसलाई दुःख र अशान्ति मात्रै दिन्छ । दलको झगडा अहिले यही लिने कुरासँग जोडिएको छ । सत्तामा को पुग्ने, आफूले कसरी बढिभन्दा बढि लिने ? हिजो नेकपाभित्र प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच नमिलेको भागबण्डाको लडाइँ हेर्दाहेर्दै अब प्रचण्ड र माधव नेपालबीच हुने सङ्केतहरू देखिन थालेका छन् । भागबण्डाको आडमा भएको मित्रता आफूले चाहेको नपाउँदा तनावमा परिणत हुन पुग्छ । उहाँहरूको मात्र कुरा होइन यो जो–कोहीमा लागु हुन्छ । प्राप्तिको चाहनाले मानिसलाई हरेक क्षेत्र, तह र तप्कामा दुःखी र तनावयुक्त बनाउँछ । प्राप्तिको कुनै सीमा हुँदैन ।
हिजो नेकपाभित्र प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच नमिलेको भागबण्डाको लडाइँ हेर्दाहेर्दै अब प्रचण्ड र माधव नेपालबीच हुने सङ्केतहरू देखिन थालेका छन् । भागबण्डाको आडमा भएको मित्रता आफूले चाहेको नपाउँदा तनावमा परिणत हुन पुग्छ ।
यदि प्राप्ति ब्यक्तिगत महत्वकाङ्क्षाभन्दा माथि हुँदो हो त नेताहरूलाई आ-आफ्नो स्थानमा बसेर मुलुकका लागि काम गर्ने अवसर सबैलाई प्राप्त थियो । प्राप्त अवसरलाई आफूअनुकुल बनाउँदा बनाउँदै उहाँहरू अहिलेको स्थानमा आइपुग्नुभयो र मुलुक वर्तमान अवस्थामा पुग्यो । यता राजा जसको पुर्खाले देश बनाए, समयक्रममा आफ्नै पालामा राजगद्दी गुम्यो, श्रीपेच, श्री ५ को पदवी, विरासतको दरबार सबै गुमाएर पनि खुशी बाँच्ने कोशिस गरिरहेको देखिन्छ । मुलुकको परिस्थितिलाई मध्यनजर गरेर चुपचाप दरबार छोड्दा दिइएको अपमान मुहारमा फेरि हाँसो ल्याउन सक्ने प्रकारको थिएन तर जीवनमा त्याग्नुको आनन्द नै बेग्ले हुन्छ । राजा र राजपरिवारको अहिलेको खुशी त्यागले दिएको खुशी हो । समयको कठोर प्रहार सहन सक्यो भने मानिस थप जीवन्त बन्छ । राजपरिवारको खुशी त्यही कठोर प्रहारको देन हो ।
समय बलवान हुन्छ, भगवान कृष्णदेखि प्लेटो, आइन्स्टाइन हुँदै आफ्नै बुबा-आमासम्मले भनेको कुरा यही हो । राजसंस्थामाथि प्रहार गरेर आफू सत्तामा पुगेकाहरू दुःखी र तनावमा रहेका बेला अहिले राजपरिवारको मुहारमा मुस्कुराहट देखिएको छ । राजा ज्ञानेन्द्रको जीवनकाललाई हेर्ने हो भने उहाँले जति समयको प्रहार खप्ने मानिस कमै होलान् । तर उहाँको मौनता र शालिनता आफैमा एउटा सन्देश बनेर जनमानसमा प्रवाहित भइरह्यो । अहिले उहाँलाई भेट्नेहरू सबैले उस्तै कुरा भन्ने गरेको सुनिन्छ, ‘राजालाई खुशी देखेँ, देशको चिन्ताचाहिँ उहाँलाई धेरै छ ।’ यता नेताहरूलाई भेट्ने, नभेट्ने सबैको उस्तै ‘इम्प्रेशन’ छ- उहाँहरू दुःखी र तनावयुक्त हुनुहुन्छ, त्योे तनाव जनता र देशका लागि भन्दा बढि आफ्नो ब्यक्तिगत लाभहानी र हैसियतसँग जोडिएको छ, भागबण्डासँग सम्बन्धित छ ।
मानिसहरू मैले यो त्याग गरेँ, त्यो गरेँ भनिरहेका हुन्छन् । विशेषगरी राजनीतिमा त्यागको चर्चा बढि हुने गर्छ । त्याग गर्नका लागि आफूसँग के थियो भनेर हेर्नुपर्ने हुन्छ । समयको लगानी जिन्दगीमा महत्वपूर्ण हो । आफूले बिताएको समय केमा लगानी गरेँ भनेर फर्किएर हेर्नुपर्ने हुन्छ । प्रजातन्त्रका लागि नेताहरू जेल बस्नुभयो, ठुलो कुरा हो । अहिले उहाँहरूसँग भन्न बाँकी पनि त्यही एउटा कुरा छ । तर प्रजातन्त्रपछिको यो ३० वर्ष र विशेषगरी २०६३ साल पछिका १४ वर्ष कसरी बिते ? के गरेर बिते ? भनेर समीक्षा गर्नु आवश्यक छ ।
नेता प्रचण्डकी पत्नी सीताको जन्मदिन र उहाँहरूको विवाहोत्सवका तस्बिर, प्रधानमन्त्री केपी ओलीको जन्मोत्सवको केक, अर्थमन्त्री विष्णु पौडेलको जन्मदिनमा प्रधानमन्त्री निवास बालुवाटारमा खुवाइएको केकलगायतका खुशी साटेका तस्बिरहरूले भरपुर आलोचना पाएका थिए ।
भगवान गौतम बुद्ध भिक्षु बन्नुअघि पनि भिक्षुहरू थिए । तर उहाँको त्यागको चर्चा विश्वब्यापी मात्र होइन करिव २६ सय वर्षसम्म उत्तिकै छ । किनभने उहाँसँग त्याग गर्नका लागि दरबार थियो, शान्तिको खोजीमा राजसुख-सयल, बैभव, गद्दी, दरबार, परिवार सबै उहाँले त्याग गर्नुभएको थियो । समय परिस्थितिले नेताहरूलाई अहिले त्यागको चर्चा गर्नै नमिल्ने ठाउँमा पुर्याइदिएको छ । आफू र आफ्नाहरूलाई पदमा पुर्याउनका लागि भएको उहाँहरूको झगडा पदमै गएर टुङ्गिने निश्चित छ । यता, राजाको त्यागको गाथा मानिसहरूले गाउन थालेका छन् ।
भोली राजसंस्था फर्कियोस्-नफर्कियोस्, तर त्याग त गरेकै हो । शान्तिपूर्ण तवरले चुपचाप गद्दी त छोडेकै हो । अहिले जस्तै इगो साँधेर बसेका भए तात्कालिन श्री ५ महाराजाधिराजको हुकुम मान्नका लागि सुरक्षाकर्मीहरू बाध्य हुनुपर्थ्यो र अप्रिय कामका लागि निर्देशन दिएको भए राजाको मुहारमा अहिलेको खुशी जीवनभर आउन सक्ने थिएन । मान्छेको जिन्दगी लिएर प्राप्त सत्ताले क्षणिक रूपमा शक्तिशाली त बनाउँछ तर खुशी दिन सक्दैन । शक्ति, पद र खुशीको दूरी निकै लामो छ ।
जीवनको अन्तिम समयमा मानिसले फर्किएर हेर्ने मेरो अघिपछि कति सुरक्षा दस्ता थिए या कुन-कुन पदमा कति सयम कसरी बिताएँ भन्ने नभएर आफूले कति शान्तिपूर्ण र खुशी जिन्दगी बाँचेँ भन्ने नै हो । चाहे त्यो जतिसुकै कठोर शासक किन नहोस् ।
प्रतिक्रिया