मगर समुदायको साझा संगठनका रुपमा रहेको नेपाल मगर संघको एकता दिवस तथा सांस्कृतिक कार्यक्रम पश्चिम नवलपरासीका विभिन्न स्थानमा भव्यताका साथ मनाइएको छ । जिल्लाको सुनवल बर्दघाट विनयी त्रिवेणीलगायत स्थानमा नेपाल मगर एकता तथा सांस्कृतिक दिवस मनाइएको हो ।
नेपाल मगर संघ विनयी त्रिवेणी गाउँपालिका वडा नं. ६ र ७ को आयोजनामा मगर एकता दिवस, झाकी र गाउँ परिक्रमा गरि मनाइएको नेपाल मगर सङ्घ गण्डकी प्रदेशका सदस्य सिंहबहादुर ढेगा मगरले जानकारी दिए । ३७औं मगर दिवसको कार्यक्रमलाई त्रिवेणीमा उद्घाटन गर्दै विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीना कुमारी रानाले आफ्नो संस्कृति र पहिचानको रक्षाको लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
सो अवसरमा नेपालका प्रथम शहीद लखन थापाको नवनिर्मित शालिकको अनावरण पनि गरिएको थियो । जेष्ठ नागरिक दानविर तेजकुमारी मगरद्वारा एक लाख एक हजार एक सय एघारको आर्थिक सहयोगमा निर्माण गरिएको मुर्तिको उद्घाटन गर्दै शहीदको योगदानलाइ कहिल्यै बिर्सन नहुने बारे पनि कार्यक्रममा चर्चा गरिएको थियो ।
नेपाल मगर सङ्घ विनयी त्रिवेणी ६ र ७ का अध्यक्ष भुपेन्द्र थापा मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा आफ्नो जातिय पहिचानसँग सम्बन्धित पहिरनमा उपस्थित मगर समुदायले जातिय एकताको साथै सांस्कृतिक कार्यक्रमबारे पनि जोड दिएका थिए । सो अवसरमा सामुदायिक र निजि विद्यालयका उत्कृष्ट नौ मगर विद्यार्थीलाई सम्मानसहित पुरस्कृत गरिएको सङ्घका सचिव अमित थापा मगरले जानकारी दिए ।
प्रतिक्रिया