नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको प्रथम अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको प्रथम अधिवेशन सम्पन्न



सनत आचार्य, बेल्जियम

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । भर्जुअल माध्यमबाट भएको बैठकमा आर्थिक र सांगठनिक प्रतिवेदन समेत पारित गरिएको छ ।

शाखाका अध्यक्ष ओम शर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले विदेशी भूमिमा बसेर पत्रकारिताबाहेक अन्य पेशा अँगाले पनि पत्रकारितामार्फत नेपाल र नेपालीलाई जोड्न प्रयास गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

राजदुत राजभण्डारीले समाज परिवर्तन र समुन्नत समाज निर्माणका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्दै पेशाप्रतिको निष्ठा र जिम्मेवारीपूर्वक कलम चलाउन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोखरेलले प्रवासमा रहेर पनि संगठनलाई जीवन्त बनाउन पत्रकारहरूले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्दै सबै पत्रकारलाई महासंघको विधि, विधान, प्रक्रिया र परम्पराअनुसार चल्न आग्रह गर्नुभयो ।

पत्रकारलाई एकाआपसमा सदभाव र एकता कायम राख्नमा जोड दिँदै पत्रकारिता क्षेत्रले आफ्नो धर्म छोड्न नहुने र महासंघले बनाएको आचारसंहितालाई सबैले पालना गर्न पनि पोखरेलले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि एवम् वरिष्ठ पत्रकार भगीरथ योगीले प्रवासमा पत्रकारिता गर्न सहज नभए पनि यो क्षेत्रमा आवद्ध पत्रकारहरूले समय दिनु भनेको अत्यन्त सुन्दर पक्ष रहेको धारणा राख्दै पत्रकारहरूको पेशागत हकहित र लेखन कलाका लागि सबै संगठित भएर जानुपर्ने सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ युरोपका कार्यवाहक अध्यक्ष डिल्ली अम्माइले महासंघको युरोपमा देखिएको विवादलाई विधानसम्मत तरिकाले आन्तरिक रूपमै समाधान गरिनुपर्ने उल्लेख गर्दै पत्रकारहरूको संस्थाले संसारभरी नै पारदर्शी संस्थाको रूपमा पहिचान बनाउन सफल भएकोमा प्रवासमा रहेका सबै पत्रकारहरूले नियम र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युरोपमा महासंघमा गोलबद्ध हुन छुटेका पत्रकारहरूलाई मुलधारमा ल्याइनुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघका सह-कोषाध्यक्ष लोक दाहालले पत्रकारहरूले कोभिडको समयमा पनि उच्च सतर्कताका साथ पत्रकारिता पेशालाई आगाडि बढाएकोमा खुसी व्यक्त गर्दै लोकप्रिय पत्रकार भन्दा पनि सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुवेदीले पत्रकारको संगठनमा विवाद देखिनु उपयुक्त नभएको र विवादले समाजमा सकारात्मक सन्देश दिन नसकेको अनुभूति भएको भन्दै विवाद निरुपणका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले पत्रकारहरू समाजका ऐना भएको हुँदा पत्रकारले सत्यतथ्य समाचार लेख्नुपर्ने बताउँदै पत्रकारहरूले निष्पक्ष र भयरहित भइ समाचार लेख्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रवासी नेपाली एकता मञ्चका सचिव रमेश कँडेलले प्रवासमा पत्रकारिता क्षेत्र सवल रुपमा अगाडि बढेकोमा खुशी व्यक्त गर्दै पत्रकारहरूले भाषा, शब्द र शैलीमा सुधार गरेर मात्र पाठकबीच समाचार पस्कनुपर्ने धारणा राख्नुभयो । कँडेलले सबै पत्रकारहरू एकताबद्ध भएर अगाडी बढे युरोपमा पत्रकारिता क्षेत्र सबल हुनेमा जिकिर गर्नुभयो ।

सभापतिको आसनबाट मन्तव्य दिँदै नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले पत्रकारहरू सामाजिक उद्देश्य पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै आफू पनि यो पेशामा समर्पित हुने बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियन युरोपका संयोजक संजय कँडेल, गैरआवासीय नेपाली संघ युरोपका संयोजक नारायण आचार्य, आइसीसी सदस्य सुवाश जोशी, महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, नेपाली जनप्रगतिशील मन्च बेल्जियमका अध्यक्ष मेख गुरुङलगायत महासंघका विभिन्न वैदेशिक शाखाका अध्यक्षहरूले पनि अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनले कोभिडको महामारीको समयमा कर्णाली क्षेत्रका विभिन्न स्थानका बारेमा समाचार सम्प्रेषण गर्ने कान्तिपुरकर्मी कलेन्द्र सेजुवाललाई १५ हजार धनराशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यस प्रकारको पुरस्कार प्रत्येक वर्ष हुने साधारणसभामा प्रदान गरिने बताइएको छ ।

अधिवेशनको बन्द शत्रमा सचिव शेरबहादुर छन्त्यालले प्रस्तुत गरेको संगठनको प्रतिवेदनलाई परिमार्जनसहित पास गरेको थियो ।