फोहोर ब्यवस्थापनबारे ओमानस्थित नेपाली राजदूतावासको सक्रियता

फोहोर ब्यवस्थापनबारे ओमानस्थित नेपाली राजदूतावासको सक्रियता


  • राजन घिमिरे

नेपाली राजदूतावास ओमानले वैज्ञानिक फोहोर व्यवस्थापनसम्बन्धी एक अन्तरक्रियात्मक छलफलको आयोजना गरेको छ । कार्यक्रममा नेपालका ६ वटै महानगरपालिका तथा ओमानमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको ओमानको सरकारी कम्पनी अल वियाको सहभागिता रहेको थियो ।

ओमानका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालको उद्‍घाटन मन्तव्यसँगै सुरू भएको उक्त कार्यक्रमको सञ्‍चालन दूतावासका द्बितीय सचिव सोमेश थापाले गर्नुभएको थियो । कार्यक्रमको आरम्भमा कार्यक्रमका अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दूतावासको पहललाई धन्यवाद दिँदै सबै देश र शहरको अत्यावश्यकीय पाटो फोहोर व्यवस्थापनमा यस्ता छलफलबाट क्षमता वृद्धि हुने विश्वास लिएको बताए ।

छलफल कार्यक्रमका अर्का अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरवागीले आफ्नो भनाइ राख्दै फोहोर व्यवस्थापनको क्षेत्रमा पहिलो पटक यस्तो संयुक्त कार्यक्रमको आयोजना भएकोले दूतावासलाई विशेष धन्यवाद दिए । ओमानको सरकारी कम्पनी अल वियाका कार्यकारी उपाध्यक्ष श्मोहम्मद सुलेमान अल हार्थीले कार्यक्रमको सान्दर्भिकताका बारेका आफ्ना भनाइहरू राख्दै यस्ता कार्यक्रमहरू तथा अन्य कुनै पनि किसिमका सहयोगको लागि आफू सँधै तत्पर रहेको बताए ।

मुख्य गरी फोहोर व्यवस्थापनसम्बन्धी अनुभव तथा कार्ययोजनाहरू आदानप्रदान गर्ने उद्देश्य रहेको सो कार्यक्रममा ओमानको तर्फबाट ई. खामीस अल सियाबीले ओमानले वैज्ञानिक फोहोर व्यवस्थापन सम्बन्धमा अवलम्बन गर्दै आएको अभ्यास तथा अनुभवहरू प्रस्तुत गरेका थियो भने नेपालका तर्फबाट क्रमशः काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि कुमार श्रेष्ठ, ललितपूर महानगरपालिकाका वातावरण विभागका इन्जिनियर प्रदीप कुमार अमात्य, विराटनगर महानगरपालिकाका इन्जिनियर घनश्याम काफ्ले, वीरगञ्ज महानगरपालिकाका वातावरण विभागका इन्जिनियर राजीव सिंह, भरतपूर महानगरपालिकाका इन्जिनियर विराट घिमिरे तथा पोखरा महानगरपालिकाका सविना गौतमले फोहोर व्यवस्थापनका बारेमा महानगरपालिकाहरूको विद्यमान अभ्यास तथा भविष्यको रणनीति सम्बन्धमा प्रस्तुति दिएका थिए ।

गत बुधबार आयोजित कार्यक्रमा सहभागीहरुको तर्फबाट जिज्ञासा एवम् रचनात्मक सुझावहरूमा समेत छलफल भएको थियो ।

राजदूत शर्मिला पराजुली ढकालले कार्यक्रमलाई सफल बनाउन सक्रिय भूमिका खेल्नुभएकोमा सहभागी सबैलाई धन्यवाद प्रकट गर्दै यस किसिमको अन्तरक्रियात्मक कार्यक्रमले चूनौतीको रूपमा रहेको फोहोरमैला व्यवस्थापन सम्बन्धी समस्यालाई एकअर्काको उत्तम अनुभव आदाप्रदान मार्फत् वैज्ञानिक ढङ्गले समाधान गर्न सहज हुने बताइन् ।

सो कार्यक्रममा अल विया कम्पनीका तर्फबाट क्षेत्रीय सञ्चालन प्रबन्धक अहमद मुबारक अल अरेमी, रणनीतिक प्रबन्धक फात्मा अल मुजैनी तथा नेपालका छ वटा महानगरपालिकाका मेयर, वरिष्ठ पदाधिकारीहरू तथा नेपाली दूतावासका कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।