शब्दयात्रा प्रकाशनबाट विधाकाहरू सम्मानित

शब्दयात्रा प्रकाशनबाट विधाकाहरू सम्मानित



बनेपा (काभ्रे) शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष विभिन्न विधाकाहरूलाई समाहित गरेर ९ विधालाई जेठ महिनामा र अर्को ९ विधामा मंसीर महिनामा गरी जम्मा १८ जनालाई सम्मानित गरिँदै आएको छ । तर, कोभिड महामारीका कारण जेठ र मंसीर महिनाको एकमुष्ठ १८ विधाका सम्मानहरू एकैपटक प्रदान गरियो ।

सो समारोहमा कवि तुलसी दिवसलाई (कविताकाव्य), आमसंचारविज्ञ यादव खरेल (आमसंचार) सम्मान, मूर्तिकार तथा प्राज्ञ ठाकुरप्रसाद मैनाली (राष्ट्रझंकार), डा. जगमान गुरुङ (अनुसन्धान), डा. मनप्रसाद वाग्ले (शिक्षा), प्रकाश मास्के (फोटो पत्रकारिता), सरस्वती शर्मा जिज्ञासु (नवमाधुरी साहित्यिक पत्रिका), प्रजापति तिमिल्सिना (सिर्जना), पदम दाहाल (स्तम्भकार), एक्कुमाया पुन (शिक्षक), जीवनचन्द्र कोइराला (शोध), प्रमोद प्रधान (बालसाहित्य), डा. योगेन्द्रभक्त मल्ल श्रेष्ठ (सामाजिक जागरण), डा. योगी विकासानन्द (आध्यात्मिक पत्रकारिता), डा. अरुणा उप्रेती (महिला प्रतिभा), देवीप्रसाद चापागाई (विज्ञान प्रविधि), हिरण्यकुमारी पाठक (प्रशासनिक महिला प्रतिभा), दधिराज सुवेदी (समलोचना) विधामा सम्मानित गरिएको संस्थाले जनाएको छ ।

साथै, समारोमा शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका दुई वटा पुस्तक सार्वजनिक गरियो । ती पुस्तकहरूमा किरण त्रिपाठी पन्तद्वारा लिखित ‘कुँडिएका मनहरू’ कवितासंग्रह र नवीना श्रेष्ठद्वारा लिखित ‘कुम्भेश्वर’ रहेका छन् । यसरी हालसम्म शब्दयात्रा प्रकाशनबाट १ सय ५२ पुस्तकहरु प्रकाशित भएका छन् भने सो पुस्तक सम्बन्धी परिचय शब्दयात्रा प्रकाशनका निर्देशक कृष्णमणि कुइँकेलले गरेका थिए ।

प्रकाशन समितिका अध्यक्ष हरि मञ्जुश्रीद्वारा सञ्चालित कार्यक्रममा शब्दयात्रा प्रकाशनका निर्देशक हरिगोपाल प्रधानले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा प्रमुख अतिथि रहेको कार्यक्रमको सभापतित्व आधुनिक धुलिखेलका परिकल्पनाकार बेलप्रसाद श्रेष्ठ रहेका थिए ।