(मार्च ८ को अनुभूति)
- रसना ढकाल
‘समृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रको नारा सार्थक बनाउने हो हाम्रै जिम्मेवारी
कर्तव्यबाट भागेर हुन्न, देश समृद्ध फगत नाराले हुन्न !
माटो र बाटोमा देखेको विकास कसैको अस्तित्वमा किन देखिएन ?
समाजमा बढ्दै छ हिंसा, न्युनीकरण गर्न किन सकिएन ?
चिन्तन–मनन गरौँ– कहाँ छन् हाम्रा कमजोरी !
समानताको दियो बाल्न खोज्ने हाम्रा शब्दहरू कता फेरि अल्मलिए ?
पितृसत्ताले महिला र पुरुषमा विभेद गर्यो, त्यसैको परिणाम भोग्दैछौ हामी !
महिला र पुरुषबीचको असमान शक्ति सन्तुलनलाई समान बनाउन खोज्दैछौँ हामी ।
महिलाको अस्तित्व स्वीकार अझै गर्दैन यो पितृसत्ता…
आशा गरौँ एकदिन त पक्कै आउँछ परिवर्तन
समान काम र समान ज्यालाको आन्दोलनबाट सुरु मार्च ८ को कथा
सबै वर्गविशेषको लागि महत्व त बन्दैछ तर बदलिँदैछन् परिभाषा र यसको व्यथा
विभेद कायमै छ समाजमा, खै काँहा भयो र परिवर्तन ?
परिवर्तन मान्छेको स्वरुप कि सोच हुने हो ? यहीँनेर छ हाम्रो चिन्तन
हाम्रा अभियानमा लाग्दैछन् प्रश्न चिन्हहरू, खै त हामीले देखेको ?
सधंै अरुको गल्तीमा रमाउने हाम्रो बानीलाई खै त आत्मसात गरेको ?
देशमा धेरै परिवर्तन भए रे, तर ज्याला नपाएर श्रम कार्यालय पुग्छन् श्रमिक
मिहेनत र पसिनाको मूल्य यहाँ कसले देख्छ ?
बदलिएको परिवेशमा अझै पनि ज्यालामा विभेद कायमै छ
कहिलेसम्म नारा मात्र लगाउने वास्तविक दृश्य त अझै पनि लुकेकै छ ।
‘मार्च ८’ के हो थोप्पै थाहा छैन खेतबारीमा काम गर्ने ती श्रमिक महिलालाई
महिला दिवसको बारेमा कहिले गर्न पाउने तिनले अनुभूति ?
काम नगरी खानु छैन जसरी पनि जीवन त निर्वाह गर्नैपर्छ
मार्च ८ होस् या १६ दिने अभियान.. यसको सन्देश मेचिदेखि कालिसम्म पुग्नैपर्छ ।
प्रतिक्रिया