बुहारी पाइने पसल !

बुहारी पाइने पसल !


(ब्यंग्य कविता)
  • अर्जुनराज पन्त

गर्भैदेखि कठै नारी भोग्छन् अनेक थरि !
भेदभाव अनि नारी हिंसा उनले जीवनभरि !

तीन महिनाको भा’को छैन जीवन गर्भभित्र !
के हो भन्दै लाउँछन् मेसिन हेर्न उसको चित्र !

छोरा नभै रैछ भने त्यहाँभित्र छोरी
जन्मैसमेत लिन पाउन्न गर्भैभित्र मोरी !

प्रविधिको दुरुपयोग भ्रष्ट मानव मती
संसार देख्नै नपाइकन भित्रै मरे कति !

क्लिनिककी डाक्टर्नी त्यो हो नि आफै महिला
छोरी मार्न उद्घत हुन्छे उही आफै पहिला !

पैसो पाए पुगि हाल्छ सोच्दैनन् नि किन ?
जीवन दिने डाक्टर पनि लाग्छन् प्राण लिन !

डाक्टर हुन् कि यमदूत बोलाउँ के नाम भनी ?
पैसो पाए गर्छन् हरे जस्तोसुकै पनि !

बगरेले मार्छ बरु केही कुरेर बसी
हरमा मासु भरिएसी बल्ल छुरा धसी !

गर्भैभित्र मार्छन् छोरी चित्र हेरि–हेरि
छोरो चाहिन्छ दम्पतीलाई गर्छन् त्यही फेरि !

विवश हुन्छन् आमा बरा यस्ता कुरा मान्न
छोरी मार्दै छोरो खोज्छन् आफ्नो बंश धान्न !

आफ्नै समेत ज्यानलाई पनि जोखिममा पारि !
नजन्मेको छाेराे खोज्छन् जिउँदी छोरी मारी !

देख्दाखेरि त्यस्ता छोरा घरमा साँझ बिहान
सम्झेलान् कि नसम्झेलान् ती छोरीको चिहान ?

छोरा नभै भएन रे घरबार पक्का अरे
कुरीतिको चेपमा परि कति छोरी मरे !

प्रकृतिले बनाइदियो दुवै नर–नारी
सन्तुलन नै खल्बलाए एउटा छानी मारी !

कुन धर्मले कुन कानूनले मिल्छ यस्तो गर्न ?
बिर्सियौ कि पर्छ भन्ने एकदिन पक्कै मर्न !

क्यारी चल्ला घरबार अब कस्तो होला श्रृष्टी !
दुष्ट भ्रष्ट नवमानव कति स्वार्थी दृष्टि !

पशुभन्दा तुच्छ भयो आज नव मानव
लिङ्ग छानी हिंसा बरु गर्दैनथे दानब !

गर्भैभित्र छोरी मारी बुहारी खोज्दा असल
जानुपर्ला बुहारी खोज्न खेलौनाको पसल !

– बाग्लुङ मुलपानी, हाल : टेक्सास (अमेरिका)