ट्रायाथलनकी ‘स्वर्णपरी’को वर्ल्ड च्याम्पियनसीप खेल्ने सपना

ट्रायाथलनकी ‘स्वर्णपरी’को वर्ल्ड च्याम्पियनसीप खेल्ने सपना


  • श्रीविक्रम भण्डारी

‘फिजिकल वर्क’ भनेपछि भुतुक्कै हुने उनको खेतबारीमा काम गर्ने, भारी बोकेर दौडने, नदी तथा खोलामा पौडिने, डरलाग्दो भीरको रुखमा चढ्ने, गाईबस्तु चराउन जाँदा लगेको खाजा रुखको टुप्पोमा बसेर खाने अचम्मको बानी थियो । उनको यस्तो स्वभाव देखेर गाउँघरका सबै आश्चर्यमा पर्थे र भन्दथे- ‘यो केटीको मुटु नै छैन क्या हो ? खालि उपद्रो मात्रै गर्छे ।’ तर उनी यी सबै कुराबाट अञ्जान थिइन् । के गर्ने के नगर्ने, के राम्रो के नराम्रो भन्ने उनको कलिलो दिमागमै थिएन । मनले जे चाहन्थ्यो त्यो गर्थिन् र त्यसैमा रमाउँथिन् । त्यस्ता कर्म कसैलाई देखाएर प्रभाव पार्ने उनको कुनै अभीष्ट थिएन । साँचो अर्थमा भन्नुपर्दा चञ्चले स्वभावकी उनी आफ्नो चञ्चलतालाई सार्थक तुल्याउन स्वस्फुर्त रूपमा त्यस्तो हर्कत गर्दथिन्, जसबाट उनलाई निकै आत्मसन्तुष्टि प्राप्त हुन्थ्यो, मनलाई आनन्दित तुल्याउँथ्यो । यसरी समयसँग पौँठेजोरी खेल्दै नेपालको चर्चित ट्रायाथलन खेलाडी बन्न सफल भएकी उनी हुन्- ‘स्वर्णपरी’ सोनी गुरुङ ।

खेलकुद सोनीको नसा-नसामा रगत बनेर बगेको थियो । कक्षा ६ मा अध्ययनरत रहँदा गाउँमा तेक्वान्दो सिकाइन्थ्यो । उनलाई पनि तेक्वान्दो खेल्न मन लाग्यो र, तीन महिना तेक्वान्दोको प्रशिक्षण पनि गरिन् । तर तेक्वान्दो गुरु गाउँ नै छोडेर गएपछि उनको तेक्वान्दो खेलाडी बन्ने सपना रहरमै सीमित भो । त्यतिबेला उनको उमेर मात्र १३ वर्षको थियो । बाघको मुखमा मान्छेको रगत परिसकेपछि मान्छे नै खोज्छ भने झैँ खेलकुदप्रतिको अगाध रुचिको छटपटाहटमा सोनीले लामो समयसम्म तड्पिनु पऱ्यो । त्यसमाथि कक्षा ९ मा पढ्दा बुबा सन्तकुमार गुरुङको निधन भएपछि उनको परिवारमा ठूलो बज्रपात पऱ्यो । दिन-प्रतिदिन आर्थिक अवस्था दयनीय बन्दै गयो । स्थानीय श्री मिन्दुका मावि बैरनीबाट बल्लतल्ल एसएलसी पास गरे पनि अगाडिको शिक्षा आर्जन गर्नका लागि सोनीको आर्थिक हैसियत थिएन । यस्तो अवस्थामा ठाँटीको सिद्देश्वर माविमा ‘प्लस टु’मा भर्ना त भइन् तर एकदिन पनि कलेज जान सकिनन् । कालिदहबाट ठाँटीको दूरी आठ, नौ घण्टाको थियो । सवारी साधन थिएन, पैदल यात्रा गरेर जान सक्ने अवस्था पनि थिएन । त्यसपछि सोनीले विकल्पको रूपमा गाउँनजिकैको कलेजमा गएर पढ्न थालिन् । त्यहाँ ६ महिना पढेपछि उनी काठमाडौं फुपुको घरमा आएर बस्न थालिन् । यहीँ सानोतिनो नोकरी गर्दै आफ्नो भाग्य अजमाउने कोसिसमा लागिन् सोनी ।

यही क्रममा ०७० सालमा सशस्त्र प्रहरी बल (एपीएफ)मा सिपाहीको लागि भर्ना खुल्यो । सोनीले पनि निवेदन हालिन्, छनोटमा पनि परिन् । ०७१ मा पासआउट भएपछि काजमा कार्यदलमा बसेकी सोनीलाई ०७२ सालमा सानोतिनो चिठ्ठै पऱ्यो । फिजिकल कार्य गर्न मन पराउने भएका कारण उनलाई डिजास्टर्ड मेनेजमेन्ट ट्रेनिङ (डिएटी)का लागि पठाइयो । स्वीमिङ र ओभरअल राम्रो भएको कारण सोनीलाई हेडक्वाटरमा बोलाइएको थियो । सोनीलाई यो ट्रेनिङ ‘के खोज्छस् कानो आँखा’ जस्तै सावित भो । ट्रेनिङमा उनको प्रदर्शनबाट प्रभावित एपीएफका ट्रायाथलन खेलाडीद्वय ललित खाम्जा र रमेशकुमार दर्लामीले ट्रायाथलन खेल्न सुझाब दिएपछि सोनी ट्रायाथलन खेलबारे सोच्न बाध्य भइन् । आफूलाई मन पर्ने सम्पूर्ण विधाहरू रनिङ, साइक्लिङ र स्वीमिङ ट्रायाथलन खेलमा समावेस भएकै कारण उनी आकर्षित भएकी थिइन् । त्यसपछि यी दुवै प्रशिक्षकसँग तीन महिनाको प्रशिक्षणपछि उनले ट्रायाथलनलाई आत्मसात गरिन् ।

तीन महिनाको प्रशिक्षणपछि सोनीले नेपाल ट्रायाथलनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठसँग भेट गर्ने अवसर पाइन् । अध्यक्षसँगको भेटपछि गरिएको परिक्षणमा सोनीले उत्कृष्ट प्रदर्शन गरेपछि श्रेष्ठले साइक्लिङ र रनिङ राम्रो छ, स्वीमिङ सिक भनेका थिए । साथै स्वीमिङ सिक्नका लागि पौडी संघलाई श्रेष्ठले सिफारिस गरेपछि सोनीले स्वीमिङ प्रशिक्षण पनि सुचारु भएको थियो । ‘पहिले खोलामा पौडी खेल्ने भएकोले मलाई पौडी खेल्न आउँथ्यो । त्यसैले खेलको नियमअनुसार जुन विधामा पौडिनु पर्ने हो त्यो सिकेँ, खासै गाह्रो भएन । तर मलाई यो खेल रोज्नुअघि साइक्लिङ आउँदैनथ्यो, त्यो सिक्नचाहिँ अलिक समय लाग्यो’- सोनीले खुलासा गरिन् ।

पौडीमा प्रशिक्षण लिएको केही सातापछि अर्थात् ०७२ सालको अन्तिममा आयोजना भएको ‘हिमालयन रेस’ प्रतियोगितामा उनले सहभागिता जनाउने अवसर पाइन् । पहिलो पटक प्रतिस्पर्धामा उत्रिएको र थुप्रै विदेशी खेलाडीहरूको सहभागिता रहेको उक्त प्रदर्शन कस्तो हुने हो त्यसमा उनी अनभिज्ञ थिइन् । भाग्यले साथ दियो, पहिलो प्रतिस्पर्धा नै सोनीले स्वर्ण पदक जितेर आफूलाई ट्रायाथलनको उदीयमान महिला खेलाडीको रूपमा चिनाउन सफल भइन् । त्यसपछि पदाधिकारी र प्रशिक्षकहरूको नजर पनि उनीमाथि पऱ्यो । सबैले उत्कृष्ट प्रदर्शन गऱ्यौ भनेर बधाई दिएपछि उनको खुशीको सिमा रहेन । प्रतियोगिताअघि संघका पदाधिकारी र प्रशिक्षकहरूले सोनीले पदक जित्ने कुरामा विश्वास नै गरेका थिएनन् । जब उनले स्वर्ण पदक नै जितेर देखाइदिइन् तब उनीहरू जिल्ल र दङ्ग परेका थिए । यो प्रतियोगितामा सोनी स्वीमिङतर्फ अलिक कमजोर देखिए पनि रनिङ र साइक्लिङमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन् । पहिलो स्पर्धामा नै स्वर्ण पदक जितेपछि प्रफुल्लित भएकी उनले यसलाई प्रेरणाको रूपमा ग्रहण गर्दै आगामी दिनमा योभन्दा स्तरीय प्रदर्शन गर्ने प्रण गरिन् ।

उत्साहित सोनीले आफ्नो खेल जीवनको दोश्रो प्रतियोगिताको रूपमा पोखरामा आयोजना भएको चौथो दक्षिण एसियाली ट्रायाथलन अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर पाइन् । मात्र एउटा खेल खेलेकी सोनीको लागि यो अन्तर्राष्ट्रिय प्रतियोगिता नितान्त नौलो थियो । उनको दिमागले सहभागिता दिने र अनुभव बटुल्नेबाहेक केही सोच्न सकेको थिएन । यस्तो असमन्जस्यताको अवस्थामा पनि उनले तेस्रो स्थान हासिल गरेर ट्रायाथलनमा महिला खेलाडीहरूको उपस्थितिलाई दह्रो पारिन् । पहिलो र दोश्रो स्थान भारतका खेलाडीले हासिल गरे पनि उनी पहिलो पटक अन्तर्राष्ट्रिय पदक जित्न पाउँदा खुशी थिइन् । यसर्थमा कि यो पदकले उनको खेल जीवनलाई सफल मार्गतर्फ अग्रसर गराएको थियो ।

राष्ट्रिय स्तरका ट्रायाथलनका प्रतियोगितामा वर्चश्व कायम गर्दै सनसनी फैलाएकी सोनीले नेपाल ट्रायाथलन सङ्घले ०७४ र ०७५ मा आयोजना गरेको राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेर त्यसमा लालमोहर लगाएकी थिइन् । यसपछि राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जित्दै महिला खेलाडीहरूमा आफू सर्वोत्कृष्ट भएको प्रमाणित गरिन् । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेसँगै सोनी इन्डोनेसियामा आयोजना भएको १८औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भइन् । उक्त प्रतियोगिताको ‘मिक्स रिले’तर्फ सहभागिता जनाएकी उनको प्रदर्शन अनुभव बटुल्ने पाटो मात्रै बन्यो । एसियाडमा सहभागी विश्वस्तरका खेलाडी देखेर उनी दङ्ग परिन् । यस्ता खेलाडीसँग आफ्नो तुलना कुनै कोणबाट हुन नसक्ने भन्दै आफूले अझै धेरै मेहनत गर्न बाँकी रहेको सोनीले सुनाइन् । साथै उनले एसियाडपछि आफ्नोे खेलको वास्तविक स्तर के हो ? त्यो पनि थाहा भएको बताइन् ।

राष्ट्रिय स्तरमा पाएको सफलता र एसियाडको अनुभवले उनको आत्मविश्वास पनि बढ्यो र त्यसपछि १३औँ सागलाई टारगेट बनाउन पुगिन् । स्वर्ण नभए पनि रजत पदक जित्ने लक्ष्यसहित उनी सागको प्रशिक्षणमा होमिइन् । त्यतिबेला साइक्लिङ र रनिङको राम्रो प्रशिक्षण भएपनि स्वीमिङको चाहिँ सोचेको जस्तो हुन सकेन । जसले गर्दा पदक जित्न गाह्रो हुन्छ कि जस्तो उनको मनमा लागेको थियो । तर भाग्यले साथ दियो, प्रमुख प्रतिद्वन्द्वी दुवै भारतीय खेलाडीहरूलाई पराजित गर्दै सोनी ट्रायाथलनकी ‘स्वर्णपरी’ बनिन् । १३औँ सागमा पनि स्वर्णपदक जितेर कीर्तिमान स्थापित गर्न पाउँदा उनी निकै खुशी थिइन् । जसलाई उनी आफ्नो खेल जीवनको सबैभन्दा उत्कृष्ट दिन भन्न रुचाउँछिन्, यसर्थमा कि त्यो दिन उनको सपना साकार भएको थियो । उनको खेल जीवनले कोल्टे फेरेको थियो ।

१३औँ सागमा स्वर्णपदक जितेपछि आफ्नो खेल जीवनले ‘यू टर्न’ गरेको बताउने सोनीले त्यसलाई अविष्मरणीयको संज्ञा दिएकी छिन् । सागले मलाई त्यो खुशी दियो जो मैले कल्पनासमेत गरेकी थिइनँ भन्छिन् उनी । ‘सबैभन्दा महत्वपूर्ण कुरा गुरुहरूप्रति मेरो विश्वास जाग्यो, मैले अझै मेहनत गरेँ भने यो भन्दा ठूलो सफलता हासिल गर्न सक्छु जस्तो लाग्यो’- सोनीले बताइन् ।

त्यस्तै उनले आफ्नो दुःखको क्षणको रुपमा ट्रायाथलनको नियमित प्रशिक्षण र प्रशिक्षक नहुनुलाई टारगेट गरेकी छिन् । खेलाडीका लागि दैनिक र नियमित रूपमा आवश्यक प्रशिक्षण र प्रशिक्षकको व्यवस्था नहुँदा आफ्नो खेल जीवन धरापको परेको महसुस हुन्थ्यो । खेलकुदमा लागेर केहि हुँदैन, हामीले केहि गर्न सक्तैन जस्तो लाग्थ्यो । तर पछिल्लो समयमा यसमा नियमित रूपमा सुधार भएर आएको छ, आशाको किरण देखिएका छन्- सोनीले प्रस्ट पारिन् ।

ट्रायाथलनलाई निकै जटिल र खर्चिलो खेल मान्ने सोनी संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठप्रति सकारात्मक धारणा राख्छिन् । श्रेष्ठ निकै सहयोगी भएको समेत उनले खुलासा गरिन् । खेलाडीहरूको पीरमर्का बुझ्ने सोहीअनुरुप व्यक्तिगत रूपमा समेत सहयोग गर्दै आएको बताइन् । तर सम्बन्धित निकाय राखेपले जुन किसिमको उचित व्यवस्था गर्नुपर्ने थियो त्यो नगरेकोमा उनले गुनासो पोखिन् । राखेपसँग हिटिङ स्वीमिङ पुल भएर पनि हिट नगर्दा खेलाडीले प्रशिक्षण गर्न नपाएकोमा उनको ठूलो दुःखेसो छ । यही कारण खेलाडीहरूले आफ्नो खेल स्तरलाई बढाउन त परै जावस् यथास्थितिमा राख्न पनि गाह्रो भएको उनको बुझाइ छ । यसले भविष्यमा खेलाडीहरूको स्तरमा ह्रास आउने सम्भावना प्रबल भएको पनि उनको दाबी छ ।

अर्को महत्वपर्ण कुरा ट्रायाथलन खेल निकै जटिल र खर्चिलो भएका कारण सर्वप्रथम खेलाडी आउन नै गाह्रो छ, आए पनि त्यहाँ टेक्न त्यत्तिकै कठिन छ, किनकि भनेजस्तो प्रशिक्षकको व्यवस्था छैन । यदि राखेपले स्वदेशी प्रशिक्षकहरूलाई विदेशमा प्रशिक्षण गराएर ल्याएको खण्डमा केही भरथेक हुन्थ्यो । नेपालका प्रशिक्षक राम्रा छन् तर उनीहरूलाई राखेपले जुन सुविधा र अवसर दिनुपर्ने हो त्यो दिएको छैन । त्यसैले त्यसको उचित व्यवस्था गर्न राखेपले अहिलेदेखि नै पहलकदमी गर्नुपर्ने सोनीको सुझाव थियो ।

आफ्नो खेलमा कसरी सुधार ल्याउने र अन्तर्राष्ट्रिय स्तरको बनाउने सोनीको ध्यान अहिले त्यसमा केन्द्रीत छ । सागमा स्वर्णपदक जितिसकेको खेलाडी भएकोले आफ्नो लेवललाई कसरी मेन्टेन गर्ने त्यो उनको लागि चुनौतीको सन्दर्भ बनेको छ । आफ्नो भावी योजनाको चर्चा गर्दै सोनीले भनिन्- वल्र्ड च्याम्पियनसीप खेल्ने मेरो सपना हो, यदि सङ्घले सहयोग गरेमा वल्र्ड च्याम्पियनसीप अवश्य खेल्न पाउने छु । मलाई विश्वास छ, विगतमा झैँ संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेस गराएर मेरो वल्र्डकप खेल्ने सपनाको ढोका खोल्नमा अवश्य सहयोग गर्नेछ । वल्र्ड च्याम्पियनसीप खेल्ने र उत्कृष्ट प्रदर्शन गर्ने मेरो लक्ष्य हो ।

आफ्नो प्रेम प्रसङ्गको बारेमा खुलेर धारणा राख्दै सोनीले भनिन्- ‘म विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा छु ।’ कक्षा १२ मा पढ्दा कलेजमा भएको चिनाचानी फेसबुकमा पुगेपछि प्रेममा बदलिएको उनले खुलासा गरिन् । ‘मन मिल्यो, कुरा अगाडि बढ्यो, अहिले यो कुरा दुवैका परिवारलाई थाहा छ ।’

प्रेम सम्बन्धले खेलमा कत्तिको प्रभाव पार्छ भन्ने जिज्ञासा राख्दा उनले भनिन्– ‘म खेलाडी भएको थाहा पाएरै उसले मन पराएको हो, त्यसैले खासै असर पार्दैन, मलाई उसको पूरै सपोर्ट छ, त्यसैले अझै पाँच वर्ष सक्रिय रूपमा खेल्छु, यसमा कुनै रोकटोक छैन । त्यसपछि पनि म खेलकुद छोड्दिनँ, प्रशिक्षक भएर ट्रायाथलनको समग्र विकास र विस्तारको लागि अहम् भूमिका निभाउने सोच बनाएकी छु ।’