बीबीसीका म्यानमार संवाददाता बेपत्ता, खोजी र उद्दारका लागि बीबीसीको आग्रह

बीबीसीका म्यानमार संवाददाता बेपत्ता, खोजी र उद्दारका लागि बीबीसीको आग्रह



बेलायती प्रसिद्ध समाचार संस्था बीबीसीले म्यानमारस्थित आफ्नो समाचारदाता बेपत्ता भएको जनाएको छ ।

अपरिचित व्यक्तिहरुले उनलाई शुक्रबार नियन्त्रणमा लिएर बेपत्ता पारेको बीबीसीका अधिकारीहरूको भनाइ छ ।

“म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,” बीबीसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ ।

म्यानमारको राजधानीबाट दिउसो नै उनी बेपत्ता भएका र उनको खोजीका लागि बीबीसीले सबै प्रयास गरिरहेको पनि जनाइएको छ ।

उनलाई तत्काल सुरक्षित रुपमा उद्धार गर्न र खोजी कार्यमा सक्रिय हुन बीबीसीले सबै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका एएफपीले जनाएको छ । उनलाई पनि अपहरण गरिएको बताइएको छ ।

म्यानमारमा गत फेब्रुअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा दर्जनौको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ ।