होली मेलामा झडप हुँदा दुई युवाको मृत्यु

होली मेलामा झडप हुँदा दुई युवाको मृत्यु



थप केही युवाको हताहती भएको आशङ्का

बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीको भनाइ छ ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु र केही युवा घाइते भएका छन् । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करीब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुन सक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेलाई उद्धृत गर्दै राससले जनाएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।