साइबर क्राइमको बढ्दो जोखिम : कानून कहिले ?

साइबर क्राइमको बढ्दो जोखिम : कानून कहिले ?


  • बबिता बस्नेत

यही २०७७ साल चैत्र १३ गते शुक्रबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा नायक सरोज खनालको नामबाट यो पङ्क्तिकारको फेसबुकको इनबक्समा ‘हेलो’ लेखिएको म्यासेज आयो । त्यही म्यासेज फरक-फरक समयमा त्यसअघि पनि आएको रहेछ । सरोजजीले कुराकानी गर्दा गुडमर्निङ, गुडआफ्टरनुन या नमस्कार भन्नुहुन्थ्यो, ‘हेलो’ किन भन्नुभो ? त्यो पनि पटक-पटक.., अचम्म लाग्यो !

जवाफमा ‘नमस्कार, होप एभ्रिथिङ फाइन’ लेखेँ । उताबाट नेपालीमा ‘तपाईंको फोन नम्बर दिनुस् न’ भन्ने जवाफ आयो । फोन नम्बर दिएँ । तपाईंसँग समय होला ? भनेर सोधियो । म असाध्यै हतारमा थिएँ, गर्दै गरेको काम सकेर नेपाल टेलिभिजनले आयोजना गरेको कार्यक्रममा भाग लिन धुलिखेल पुग्नु थियो । बाटोमा कुरा गर्दै जान्छु भन्ने सोचेर जवाफमा ‘सानो काममा छु, एकछिनमा कुरा गर्छु’ भनेँ ।

‘तपाईंको मोबाइलमा एउटा नम्बर आएको होला मलाई दिनुस् न’ भन्ने म्यासेज फेरि आयो । ‘मेरो मोबाइलमा त केही आएको छैन’ भनेपछि ‘इमेलमा आएको होला हेर्नुस् त’ भन्यो । इमेलमै काम गरिरहेकाले हेर्न समय लागेन, फेसबुकको पासवर्ड चेन्ज गर्नका लागि कोड पठाइएको थियो । त्यसपछि सरोजजीको फेसबुक ह्याक भएछ भन्ने लाग्यो । उहाँको फोन नम्बर सेभ रहेनछ । तपाईंको नम्बर दिनुस् त म फोन गर्छु भनेपछि त्यसको जवाफ आएन ।

पैसाको कारोबार इन्टरनेटबाट हुन थाल्यो, ब्यक्तिगत सम्बन्धहरू नेटबाटै जोडिन र छुट्न थाले तर डिजिटल साक्षरतामा हामी असाक्षर छौँ । गाउँ, शहर, पाखाभित्ता बसोबास जहाँ भए पनि हामी डिजिटल युगमा प्रवेश गरिसक्यौँ तर हामीमध्ये धेरैमा ‘डिजिटल लिट्रेसी’ छैन ।

साँझ समाचारमा उहाँको फेसबुक ह्याक गरेर ह्याकरले अरुसँग पैसा मागेको र केहीले पैसा पठाएको कुरा पढेँ । कलाकार दीपाश्री निरौलालाई चाहिँ मलाई जस्तै नम्बर मागेर उनको फेसबुक ह्याक गरिएछ । पछि सरोजजीसँग कुरा गर्दा थाहा भयो, अप्ठ्यारो पऱ्यो भन्दै पैसा मागेपछि कतिले सरोज खनाललाई साँच्चीकै समस्यामा परेको ठानी ह्याकरले दिएको बैंक खातामा पैसा पठाइदिएछन् । यो मुद्दा अहिले नेपाल प्रहरीको साइबर ब्युरोले हेरिरहेको छ ।

हामी अहिले पनि एकार्काप्रतिको आदर र विश्वासमा चल्ने समाजका मानिस हौँ । आफ्नो नजिकका र आफूले राम्रो ठानेका मान्छेलाई समस्या पऱ्यो भनेको सुनेपछि हो कि होइन भनेर ‘भेरिफाइ’ गर्दैनौँ । त्यसरी पैसा माग्ने मान्छे सरोज खनाल हो कि होइन भनेर सहयोग गर्नेहरूले फोन गरेर सोधिदिएको भए साइबर ठगीबाट बच्न सकिन्थ्यो । कहिल्यै नमाग्ने मान्छेले पैसा मागेपछि पक्कै अप्ठ्यारो परेरै होला भन्ने सोच्नु स्वभाविक पनि हो तर समय अब त्यसरी सोच्ने अवस्थामा रहेन । विगतमा हुने विभिन्न अपराध भन्दा कैयौँ गुणा जोखिमपूर्ण भएर साइबर अपराध अगाडि आइरहेको छ ।

इन्टरनेटबाट हुने अपराध साइबर अपराध हो । अन्य विकसित मुलुकमा झैँ हामी पनि दिन-प्रतिदिन इन्टरनेटमा आश्रित हुँदै गएका छौँ । विभिन्न कार्यक्रमहरू तय गर्ने, ब्यापार ब्यवसायमा हुने सम्झौतादेखि कर्मचारी नियुक्तिसम्म इमेलबाटै गरिन्छ । सामाजिक संजालमार्फत साथीभाइ भेट्न, चाडबाड, आफन्त भेटघाट, घुमघामका फोटो अपलोड गर्न हामीलाई सहज लाग्छ । अनुहार हेरेरै कुरा गर्न मिल्ने भएकाले निकटवर्तीहरूसँग भिडियो कल गर्नु हाम्रा लागि सामान्य कुरा हो । तर ती सब कुरा गरिरहँदा हामी कति सुरक्षित छौँ ? हामीले प्रयोग गर्ने पासवर्डहरू कत्तिको सुरक्षित छन् भन्नेतिर भने हामीले ख्याल गरिरहेका हुदैनौंँ ।

विगतमा तमसुकबाट गरिने आर्थिक कारोबार प्रविधिबाट हुन थाल्यो । कोरोनापछि त झन् धेरै कारोबारहरू इन्टरनेटको माध्यमबाटै हुन थाले । एटीएम मात्र होइन, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट पनि त्यत्तिकै कारोबार भइरहेको छ तर यसप्रकारका कारोबारलाई सुरक्षित गर्नका लागि के–कस्तो सचेतता अपनाउनुपर्छ भन्ने बारेमा जनचेतना छैन ।

साइबर सुरक्षा अहिले विश्वभर नै ठुलो चुनौती हो । हाम्रो जस्तो चिनजान र विश्वासका आधारमा कारोबार हुने मुलुकमा यो उदियमान बढ्दो चुनौतीका रूपमा अगाडि आइरहेको छ ।
इन्टरनेटमार्फत साथीहरूबीच हाई.. हल्लो.. गरुञ्जेल यो ब्यक्तिगत गोपनियताका सवालमा मात्र चुनौतीपूर्ण थियो । अहिले बैंकिङ कारोबार नै इन्टरनेटबाट हुन थालेपछि थप जोखिमपूर्ण बनेको छ । पैसाको कारोबार इन्टरनेटबाट हुन थाल्यो, ब्यक्तिगत सम्बन्धहरू नेटबाटै जोडिन र छुट्न थाले तर डिजिटल साक्षरतामा हामी असाक्षर छौँ । गाउँ, शहर, पाखाभित्ता बसोबास जहाँ भए पनि हामी डिजिटल युगमा प्रवेश गरिसक्यौँ तर हामीमध्ये धेरैमा ‘डिजिटल लिट्रेसी’ छैन । फेसबुक अरुले नै खोलिदियो, हेर त कति राम्रो भन्दै फोटो अरुले नै खिचेर अपलोड गरिदियो । परिचित, अपरिचित विभिन्न नामका मानिसले हाई, हेल्लो गर्न थाले, फोटो अपलोड गर्न पाएको छैन आहा तिमी कति राम्री भन्दै प्रतिक्रिया आउन थाले । फोटोमा प्रतिक्रिया, लाइक, कमेन्ट हेरेर दङ्ग पर्दापर्दै फेस बुक खोलिदिनेसँग सम्बन्ध बिग्रियो । आफ्नो नामबाट अरुलाई जे पनि पठाउन थालेपछि अफ्ठ्यारो स्थिति आयो के भएको हो कुनै अत्तोपत्तो छैन, पछि पत्ता लाग्यो त्यो सब त अरुसँगै पासवर्ड भएका कारणले पो भएको रहेछ । यस्तो समस्या भोग्नेहरूको सङ्ख्या बढ्दै छ । फेसबुक खोल्नका लागि इमेल र पासवर्ड चाहिन्छ भन्ने थाहै नपाई फेसबुक चलाउनेको संख्या हाम्रो देशमा धेरै छ । विशेषगरी महिलाहरूले यस प्रकारका समस्या झेलिरहेका छन् ।

विगतमा तमसुकबाट गरिने आर्थिक कारोबार प्रविधिबाट हुन थाल्यो । कोरोनापछि त झन् धेरै कारोबारहरू इन्टरनेटको माध्यमबाटै हुन थाले । एटीएम मात्र होइन, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट पनि त्यत्तिकै कारोबार भइरहेको छ तर यसप्रकारका कारोबारलाई सुरक्षित गर्नका लागि के-कस्तो सचेतता अपनाउनुपर्छ भन्ने बारेमा जनचेतना छैन । सामान किन्दा कार्डको प्रयोग भइरहेको छ । यात्रा गर्दा इपासपोर्टको कुरा आइरहेको छ । क्यासलेस कारोबार र पेपरलेस कार्यालयको कुरासँगै साइबर जोखिमका बारेमा पनि त्यत्तिकै चर्चा गर्नु आवश्यक छ ।

जोखिपूर्ण यात्रा हामीले खेलाची तालले गरिरहेका छौँ । विगतमा हुने गरेका अपराधहरू मध्ये कैंयौँ गुणा जोखिमपूर्ण भएर साइबर अपराध हाम्रो अगाडि छ तर अचम्म त के भने हामीसँग यसलाई कारवाहीको दायरामा ल्याउनका लागि कानून छैन । साइबर अपराधसम्बन्धी कानून नभएकै कारण नेपाल प्रहरीले विद्युतीय कारोबार ऐनमार्फत काम गरिरहेको छ जुन कानून साइबर अपराधका लागि बनेकै होइन ।

हामीकहाँ राष्ट्रिय साइबर सुरक्षा नीति अति आवश्यक कुरा हो तर त्यसप्रकारको नीति र आवश्यक कानून छैन । भोलि राष्ट्रिय सुरक्षामा आँच आउने प्रकारको साइबर हमला भयो भने ‘इमर्जेन्सी रेस्पोन्स’का लागि हामीसँग कुनै तयारी छैन ।

मानिसको ब्यक्तिगत जीवनमा जत्तिकै साइबर अपराधको जोखिम राष्ट्रिय सुरक्षामा पनि हुन्छ । ब्यक्तिगत जीवनमा गोपनीयताका कुराहरू हुन्छन्, आर्थिक कारोबारदेखि ब्यक्तिगत कुराकानी र सम्बन्धका कुराहरू होलान् । राष्ट्रका लागि सूचना सुरक्षाको कुरा हुन्छ । हामीकहाँ राष्ट्रिय साइबर सुरक्षा नीति अति आवश्यक कुरा हो तर त्यसप्रकारको नीति र आवश्यक कानून छैन । भोलि राष्ट्रिय सुरक्षामा आँच आउने प्रकारको साइबर हमला भयो भने ‘इमर्जेन्सी रेस्पोन्स’का लागि हामीसँग कुनै तयारी छैन ।

गोकुल बास्कोटा सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा ‘सूचना प्रविधिका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक’ संसद्मा दर्ता गरिएको थियो । जसको परिच्छेद १२ मा साइबर सुरक्षासम्बन्धी ब्यवस्था गरिएको थियो । उक्त बिधेयक लामो समयसम्म छलफलको क्रममा रह्यो । विधेयक संसद्को विकास तथा प्रविधि समितिमा रहकै बेला संसद् बन्द भयो । त्यसपछि संसद् भङ्ग, पुनःस्थापना हुँदै सुनसान अवस्थामा छ । विधेयकमा साइबरसम्बन्धी संवेदनशील पूर्वाधार तोक्न सक्ने, सूचना प्रविधि आकस्मिक सहायता समूह, साइबर बुलिङ, साइबर आतङ्क, अश्लिल सामाग्री, विद्युतीय प्रणालीको दुरुपयोग लगायतका कराहरू स्पष्ट उल्लेख थिए ।

साइबर क्राइम बढ्दै जाँदा पनि कानून नबन्नु आश्चर्यको विषय हो । अन्य देशमा कानूनको कार्यान्वयन र थप संवेदनशीलताको कुरा जोडतोडले उठिरहेका बेला हामी कानूनको माग गरिरहेका छौँ । हामीकहाँ साइबर कानूनका साथै सूचना सुरक्षा शिक्षा र डिजिटल साक्षरता अत्यावश्यक भइसकेको छ, सरकारको ध्यान जाओस् ।