विध्वंशक छविका नेताको नाममा…

विध्वंशक छविका नेताको नाममा…


  • शेखर ढुंगेल

जब देशमा दुध र दही, केरा र गोबर, तेल र घिउ मिसाएर खाने अप्राकृतिक अर्थात् नीतिविहीन, सिद्धान्तविहीन, दिशाविहीन राजनीतिका साथै नैतिकता, चरित्रता, जवाफदेहिता आदिमा चरम स्खलन आयो, केही महिनाअघिबाट राजनैतिक विषयमा लेख्न छोडेको थिएँ । जब कुनै कोणमा पनि नीति-सिद्धान्तको लक्ष्मणरेखाको सीमामा राजनीतिक दल र नेतृत्व रहँदैन तब यस्तो अनैतिक राजनीतिको बारेमा के विश्लेषण गर्ने जसको कुनै अर्थ रहँदैन । तर, एक पटक ‘राष्ट्रपीडक’ प्रचण्डको पछिल्लो ‘मांसाहारी’ आन्दोलन, फेरि एक पटक अर्को लडाइँ लड्छु भन्ने हुंकारयुक्त अभिव्यक्तिपछि लेख्न खसखस लाग्यो ।

२०३९ सालमा लेखेको पहिलो लेख ‘चतुरमुर्ख’ को स्मरण गरेको छु । अरुलार्ई धोखा (पीडा) दिँदा-दिँदा अन्तमा प्रचण्ड स्वयम् ठूलो पीडामा परेर अस्तित्वविहीन हुने अवस्था आइपुगेको आभास भएको छ । अकल्पनीय छ– नेपाली मानसिकता घटना-परिघटनालाई छिट्टै बिर्सने, छिट्टै उत्तेजित हुने, छिट्टै भावविह्वल हुने, छिट्टै विश्वास गर्ने, भोलिसम्मको पनि समयको मुल्याङ्कन वा विश्लेषण गर्न नसक्ने र छिट्टै प्रभावित हुने, गरिबी, अशिक्षा, अभाव, बेरोजगारीको कारण चेतनाको स्तर स्वविवेकको स्वतन्त्रतापूर्वक सदुपयोग गर्न बाध्यतावश असफल हुनु, हाम्रो कमजोरीलाई देशी-विदेशी नेपालविरोधि तत्वहरूको लागि हामी सिधासाधा नेपाली नागरिक उच्च घरानाको घरपालुवा जन्तुभन्दा अपहेलित दबाब र प्रभावको पीडादायक अवस्थामा रहेका छौँ, प्रचण्डहरूमार्फत विदेशीले हाम्रो त्यो कमजोर मानसिकताको चरम दुरुपयोग गर्न-गराउन सफल भए ।

हो, एउटा विद्रोह नेपालमा अनिवार्य आवश्यकता बनेको थियो । विद्रोह वर्गसंघर्ष होइन वर्ग समन्वयनको लागि हुनुपथ्र्यो र अझै जरुरी छ । मेची-महाकाली एउटा सानो पारिवारिक संजालमा जेलिएको यो शान्त र सानो मुलुकमा जात क्षेत्र वर्ग र समूहमा देशलाई विभक्त पार्नु वा गर्नु राष्ट्रलाई पीडा दिनु मात्र नभई राष्ट्रविरोधि हुनु पनि हो । स्मरण रहोस्, मेचीदेखि महाकालीसम्मको नेपाली-नेपालीमा मित-मितिनीदेखि अनेक रूपमा कतै न कतै सम्बन्ध वा नाता रहेको छ । यस्तो मुलुकमा विदेशीको एजेन्डालाई स्थापित गर्न यो अनिष्टकारी रक्तरंजित विद्रोहको गलत प्रयोग गरेकै कारण प्रचण्डलाई पङ्क्तिकारले ‘राष्ट्रपीडक’ र ‘विध्वंशक’को संज्ञा दिएको हो ।

एउटा विद्रोह यो देशमा यस्तो हुनुपर्दथ्यो जो बुद्धको जस्तो, गान्धीको जस्तो, मण्डेलाको जस्तो, दशरथ माझीको जस्तो, अन्ना हजारेको जस्तो होस्, जसले देशलाई अध्यात्म, धार्मिक संस्कार, ज्ञान र चेतनाको आँधिबेरी ल्याइदियोस् । यस्तो विद्रोह विश्व मानसपटलमा सदाको लागि सकारात्मक र अनुकरणीय परिवर्तनको लागि हुनुपर्थ्यो । मानवीयताको लागि हुनुपर्थ्यो । हो, विद्रोहको अनिवार्यता थियो र अझै छ । पङ्क्तिकारले स्वयम् अनुभूति गरेको पञ्चायत कालसम्म अञ्चालाधीश, सिडियो र प्रहरी गरी तीन थरिका राजा हुन्थे । उपत्यकाभन्दा बाहिरको गाउँको बाटोमा प्रहरीको थोत्रो लुगा झुण्डिएको देखे पनि सोझा गाउँलेहरू बाटो तर्केर हिँड्थे । ती दमित नेपालीहरूलाई सार्वभौम शक्तिशाली नागरिक बनाउनु थियो । त्यसको लागि विद्रोह अनिवार्य थियो ।

तिम्रो रक्तरञ्जित विद्रोहले ति नागरिक लाई केहि हद सम्म राज्य र एलिट वर्गसँग आँखा जुधाएर कुरो गर्न सक्षम बनायो, त्यो म स्वीकार गर्छु, यसलाई सकारात्मक रूपमा लिनुको विकल्प छैन, तर तिमीले तिम्रो पछि लाग्ने नागरिकहरूलाई ‘स्वतन्त्रता र अधिकारको अर्थ अरुको स्वतन्त्रता र अधिकारको रक्षा गर्नु पनि हो’ भन्ने चेतनाको शिक्षा दिनुको साटो ‘डन’ बन्ने स्वतन्त्रता दियौ, अपराध, लुट, हत्याको छुट र प्रेरणा दियौ । त्यही १०वर्षे रक्तरञ्जित विद्रोहको कारण समाज अपराध कर्मतिर प्रेरित भयो, जसले गर्दा आज सिङ्गो देश डिप्रेसनमा गएको छ । ‘एक पटक फेरि लड्नेवाला छु’ भनेर अझै कति पीडा दिन्छौ देश र नागरिकलाई ?

तिमी राजा पनि होइनौ र यो देश तिमीले आर्जेको पनि होइन, तथापि तिमी आजीवन शक्ति र कुर्सीमा विराजमान भइराख्नुपर्ने कारण के ? पुर्खाको विरासत त राजा ज्ञानेन्द्रले हाँसी–हाँसी त्यागेर हिँडे भने तिमी को हौ सधैं रक्तरञ्जित विद्रोह गरेर देश दोहन गरिरहन पाउनुपर्छ भन्ने ? हिजो त इशाई मिसिनारीको स्रोत र साधन अनि कांग्रेस आइ (रअ) को सुरक्षामा नोयडाको आलिशान अपार्टमेन्टमा बसेर नेपाली नागरिकको रगतमा होलि खेल्यौ, तर अब त्यो अवस्था छैन भन्ने किन बुझ्दैनौ ?

तिमी नितान्त व्यक्तिगत र पारिवारिक लाभको लक्ष्य लिएर कहिले काङ्ग्रेस कहिले एमाले त कहिले क्षेत्रियतावादीदेखि राजावादीलाई समेत प्रयोग गर्छौ । तिमी आफ्नै कर्मले स्वयम् असुरक्षित रहेको महसुस पनि गर्छौ तर पनि बिलासिता, रोवरवाफ र माफियाको वरिपरि रमाउन छोडेका छैनौ । अब तिम्रो साथ दिने कसले ?

राष्ट्रपीडक प्रचण्ड ! तिमीमा सामान्य मानवीय संवेदनशीलता समेत मरिसकेको हो र ? हुन त आफ्नो एक्लो छोरालार्ई चितामा राखेर जलाउन लाग्दा ओठ फट्याएर हात उचाली भीडतर्फ अभिवादन गर्ने तिमीमा त्यसैबेला संवेदनशीलता मरिसकेको दुनियाँले देखेको हो । तिमीमा न जीवन र जगत केही अध्ययन न त धार्मिक-अध्यात्मिक चेतना एवम् संस्कारको कुनै अंश देख्न सकियो, जुन एउटा नेतामा अनिवार्य हुनुपर्ने गुण हो । तिम्रो पल–पलको अति आकाङ्क्षा र मिसन, भिजनविहीन अनैतिक सम्झौताको श्रृङ्खलायुक्त चरित्रको कारण तिमीलाई विश्वास गरेका सहयोद्धादेखि कार्यकर्ता सबै तिमीबाट विमुख भइसकेका छन् । तिमी नितान्त व्यक्तिगत र पारिवारिक लाभको लक्ष्य लिएर कहिले काङ्ग्रेस कहिले एमाले त कहिले क्षेत्रियतावादीदेखि राजावादीलाई समेत प्रयोग गर्छौ । तिमी आफ्नै कर्मले स्वयम् असुरक्षित रहेको महसुस पनि गर्छौ तर पनि बिलासिता, रोवरवाफ र माफियाको वरिपरि रमाउन छोडेका छैनौ ।

अब तिम्रो साथ दिने कसले ? लप्सीफेदी, दामनलगायतका रिसोर्ट चहार्ने माफिया र विवादितहरूको सम्पतिमा हिस्सेदार बन्ने, हेलिकोप्टर सयर गर्न रमाउने के यही हो तिम्रो गरिबी निवारणको रक्तरञ्जित विद्रोहको प्रतिफल ? के तिमीले कम्युनिष्ट चरित्र यस्तै हुन्छ भनेर पढेका हौ ? तिम्रो राजसी ठाँट र पारिवारिक हैसियत ‘इलाइट’ वर्गमा पुऱ्याउनको लागि हज्जारौँ नागरिकको जीवनसँग खेलबाड गरेका रहेछौ । तिमीले दुर्गम गाउँको जीवनमा कति परिवर्तन गऱ्यौ ? कति प्रतिशत कृषि उत्पादन बढायौ ? कति आर्थिक सुधार गऱ्यौ ? कति प्रतिशत ग्राहस्थ उत्पादनमा वृद्धि गऱ्यौ ? देशलाई कति प्रतिशत आत्मनिर्भरताको पहुँचमा पुऱ्याउन कति वटा उद्योग प्रतिष्ठान खोल्यौ ?

घोषित १,२,३ नम्बरका दुश्मनहरूसँग लज्जास्पद अनैतिक अप्राकृतिक सम्झौता गर्दै अर्काको बैशाकीमा आफ्नो अस्तित्वलाई चलायमान गर्न धोखा दिने मिसन भिजन नीति सिदान्त प्रतिबद्धता धर्यता जवाफदेहिताविहीन विदेशीका खेताला र माफियाका मतियार राष्ट्रपीडक ! तिम्रो रक्तरञ्जित विद्रोहले देश र जनताले असैह्य पीडा भोगे तापनि देशमा शान्ति र स्थायित्वको आशा र विश्वासमा तिमीलाई माफ दिए । तर ती महान् नेपाली नागरिकलाई तिमीले धोखा दियौ । नेपालीहरू आज घर–घरमा प्रश्न उठाउन थालेका छन्– के नेपालको एकता शान्ति समृद्धिको लागि राजसंस्था, धर्मसापेक्षता र सङ्घीयताको अभाव नै बाधक थियो त ? यो मिथ्या रहेछ र तिमीले राष्ट्रलाई झुठो कुरा गरेर धोखा दिएका रहेछौ भन्ने त बितेको १५ वर्षले प्रमाणित गरिसकेको छ । अब के एजेन्डा लिएर लड्ने ? उही तिम्रो आजीवन सत्ता-शक्ति र माफियाको भरपोषणको लागि ?

नेपाल जस्तो एउटा पारिवारिक सञ्जालमा जेलिएको सानो देशमा वर्ग समन्वयनको चेतनामुलक संघर्ष वा सकारात्मक क्रान्ती जरुरी थियो, तर तिमीले त वर्गसंघर्ष नामको उल्टो बाटोको लागि रक्तरञ्जित विद्रोह गरायौ । धर्म नमान्ने अनि जात वर्ग र क्षेत्रीय विद्रोहको आगो झोसेर तिमीले एउटा शान्त पारिवारिक संजालमा एकताबद्ध रहेको देशलाई असहिष्णुता र सद्भावनाविहीन बनाएर छोड्यौ । तर तिमी आफ्नो स्वार्थको लागि भने भैंसीपुजा गर्न पनि लजाएनौ ! तिमी कस्तो कम्युनिस्ट ? गरिबमारा पनि कम्युनिस्ट हुन्छ ? वर्गमुक्तिको गुलियो विषमा हज्जारौँ गरिवहरूको शिकार गरेर सत्तामा पुग्यो, साम्रज्यवादीको आशीर्वाद लिनका लागि जातियताको खोल ओढेर समाज भाँड्ने र सत्तामा पुगेपछि जातीय समुदायलाई रछ्यानमा फालेर छोराछोरी र बुहारीमा जीवन समर्पण गर्ने सामान्य भन्दा न्यून कोटीको व्यक्ति हौ तिमी भनेर विश्लेषकहरूले यसै भनेका होइनन् । तिमीमा नेतामा हुनुपर्ने इमान्दारिता, निष्पक्षता, नैतिकता सदाचारिता सैद्धान्तिक निष्ठा र प्रतिबद्धता अनि अनुकरणीय दैनिकी जीवनका गुणहरू केही छैनन्, तसर्थ तिमी नेता हुनलायक र योग्य पनि प्रमाणित हुन् सकेनौ ।

अझै देशलाई पीडित तुल्याउने धम्की दिन्छौ ? अब त स्पष्ट भइसकेको छ– तिमी कम्युनिष्टसमेत होइनौ, कम्युनिष्टको आवरणमा इशाई मिसिनरीको खेताला रहेछौ र, धार्मिक आस्थाका धरोहर अनि परम्परामाथि धावा बोलेर देशलाई पीडा दिने पीडक रहेछौ ।

कति गाविस कार्यालय जलायौ, सैयौँ प्रहरी र सेनाका ब्यारेक खरानी बनायौ, गरिब कर्मचारीको बिचल्ली बनायौ, कति अर्ब लुट्यौ, कति विद्यालय भत्कायौ अनि शिक्षकलाई रेट्यौ, तर प्रतिफल ? तिम्रो आफ्नो पारिवारिक आर्थिक हैसियत उकास्नेबाहेक तिमीले यो २५ वर्षे दलको नेतृत्वमा रहेर एउटा तानाशाहको प्रवृत्तिबाहेक के अनुकरणीय सुकर्म गर्‍यौ ? सैयौँ माफिया र हज्जारौँ डन जो आफूलाई तिम्रो कार्यकर्ता भन्छन्– तिनीहरूको संरक्षण गर्नेबाहेक देशको लागि के गर्‍यौ र अझै देशलाई पीडित तुल्याउने धम्की दिन्छौ ? अब त स्पष्ट भइसकेको छ– तिमी कम्युनिष्टसमेत होइनौ, कम्युनिष्टको आवरणमा इशाई मिसिनरीको खेताला रहेछौ र, धार्मिक आस्थाका धरोहर अनि परम्परामाथि धावा बोलेर देशलाई पीडा दिने पीडक रहेछौ । देशको अनुपम मौलिक धार्मिक सांस्कृतिक सामाजिक मुल्य-मान्यता अनि सभ्यता शालिनतालाई खरानी बनाउने तिमीलाई ईश्वरले माफी पक्कै गर्दैनन् ।

संसदीय ब्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भन्थ्यौ तर विदेशीको आडमा त्यही संसदीय ब्यवस्थामा आत्मसमर्पण गरी एउटा पक्षलाई धोखा दिएर विदेशीको लागि ‘कम्फरटेवल’ देश बनाउने राष्ट्रविरोधि कर्ममा अभ्यस्त छौ । तिम्रो रक्तरञ्जिजत विद्रोहले युवा पुस्तालाई ‘कि देश छोड कि देशमा लुटेर बस’ जस्तो भावनामा प्रेरित गरेको छ, यो महसुस गरेका छौ ? आजसम्म खुराफात, तिकडम र अनैतिक उपायहरू अपनाएर पनि सम्पति र शक्ति आर्जनमा अभ्यस्त छौ । तिम्रो राजननीतिक जीवनको सुरुवातीदेखि आजसम्मका सहयोद्धा सहयात्री र कार्यकर्तालाई समेत धोखा दिँदै सिङ्गो राष्ट्रको पीडक बनेका छौ । तिमी समाधान दिने नेता होइन समस्या उत्पन्न गर्ने नेता हौ । अन्यथा फेरि मांसाहारी आन्दोलन गर्ने धम्की पक्कै दिने थिएनौ ।

चाणक्यले भनेका छन्- लामो प्रतीक्षा अति आशक्ति र दुश्मनसँग सम्झौता गरेर प्राप्त उपलब्धिले अन्तमा पीडा मात्र दिन्छ । तिमी त्यही असफल रक्तरञ्जित विद्रोह र सम्झौता अनि धोखाको राजनीतिमा अभ्यस्त हुँदाहुँदैस्वयम् पीडाले ग्रस्त भएका छौ । तिम्रो आक्रोश, तिम्रो हुङ्कार र तिम्रो असहिष्णु बोलीले त्यही स्पष्ट पारिरहेको छ । तिम्रो पीडा र असफलता देशको थप पीडा र असफलता नहोस्– चेतना होस् ! एमालेलार्ई धुजा बनायौ, अब कांग्रेस र जसपा धुजा बनाउन कसरत गर्दैछौ । देशको अस्थिरता नै तिमी र तिमीलाई खटाउने विदेशीहरूको लागि स्वर्ण अवसर हुनेछ ।

तिमीमा नेतृत्व क्षमता हुन्थ्यो भने अहिलेसम्म त्यो प्रदर्शन गरिसक्थ्यौ । सही नेतृत्व क्षमता छैन भन्ने सिद्ध भइसकेको छ । देशलाई आत्मनिर्भर बनाउने, राष्ट्रिय उत्पादन बढाउने, राष्ट्रिय स्वाभिमान र गौरव बढाउने, देशको स्वतन्त्र अस्तित्वको रक्षा गर्ने, देशको स्रोत र साधनको औकातमा राजनैतिक प्रशासनिक संरचना निर्माण गर्ने, मितव्ययी आर्थिक नीति निर्माण गर्ने, सुशासन भ्रष्टाचार नियन्त्रण र उत्पादनसिलताको लागि केहि गरेनौ, बरु अकल्पनीय उल्टो गऱ्यौ । इशाई मिसिनरीको लक्ष्य हासिल गर्न र देशको भौगोलिक संवेदनशीलतामाथि कब्जा गर्न विदेशीलाई सहयोग पुऱ्याउनको लागि देशमा अस्थिरता र अराजकता अनिवार्य हुन्छ, तिमी त्यसको पृष्ठपोषक हौ । तिमी निर्माणकर्ता नभई संहारक या विध्वंशक हौ । पछिल्लो प्रकरण पनि त्यसकै प्रतिफल हो भन्ने जगजाहेर भएको छ । अस्तु ।

  • भक्तपुर, हाल : अमेरिका