बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बकिंघम प्यालेसले शुक्रबार उनको निधन भएको जनाएको छ ।
राजकुमार फिलिप करिव एक महिनादेखि अस्पतालमा उपचाररत थिए ।
बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ । फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।’
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजकुमार फिलिपको निधनमा शोक व्यक्त गर्दै उनी अनगिन्ती युवाका लागि प्ररणादायी व्यक्तित्व रहेको बताएका छन् ।
द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू छन् ।
प्रिन्स फिलिप र राजकुमारी एलिजाबेथबीच सन् १९४७ मा विवाह भएको थियो भने त्यसको पाँच वर्षपछि सन् १९५२ मा एलिजाबेथ महारानी बनेकी थिइन् ।
ग्रीक आइल्यान्ड अफ कोर्फुमा सन् १९२१, जुन १० मा जन्मिएका राजकुमार फिलिप हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।
प्रतिक्रिया