‘तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो’ : मुख्यमन्त्री गुरुङ

‘तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो’ : मुख्यमन्त्री गुरुङ


प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जसपा र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई आफ्नो निवासमा बोलाएर ओली सरकार बिस्थापनको पहलकदमीका लागि छलफल गरेको सन्दर्भकै बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी दल मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको अभिव्यक्ति दिएका छन् । उल्लिखित तीन दलका आ-आफ्ना स्वार्थका कारण उनीहरू मिल्न नसक्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

लमजुङको बेसीशहर उदिपुरमा शुक्रबार आयोजित कार्यक्रममा उनले वर्तमान सरकारलाई हटाउन सजिलो नभएको दाबी गर्दै भने– ‘एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ, तर उनीहरूको अवस्था चाहिँ सजिलो छैन ।’

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरेको दाबी गर्दै भने, ‘समृद्धिका लागि जग बसालेका छांैँ । थप नतिजा छिट्टै देखिन्छ ।’

गण्डकी प्रदेश सरकार पनि बलियो रहेको उनको जिकिर थियो ।

हाल गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको उनले बताए । ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको मुख्यमन्त्री गुरुङको भनाइ छ ।