पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवरमाथि कारवाही गर्न चौतर्फी माग

पोर्चुगलमा नक्कली टिकट बेच्ने कुँवरमाथि कारवाही गर्न चौतर्फी माग



साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्न एनआरएन पोर्चुगलको सिफारिस

  • सनत आचार्य, (युरोप सम्वाददाता)

पोर्चुगलमा नक्कली हवाई टिकट बेच्ने विक्रमजङ कुँवरलाई साधारण सदस्यबाट समेत निष्कासन गर्न गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले सिफारिस गरेको छ ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरे र महासचिव हेमराज सुवेदीद्वारा संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमार्फत कुँवरमाथि कारवाहीको सिफारिस गरिएको हो ।

सो विज्ञप्तिमा अप्रिल ५ तारिखमा बसेको संघको बैठकले कुँवरले गरेको ठगी धन्धाका विषयमा छलफल गरी तत्कालका लागि निज कुँवरलाई निलम्बन गरिएको उल्लेख छ ।

कुँवरका हरेक क्रियाकलाप सेवाप्रदायी नभई ठगी गर्ने नियतले सञ्चालन गरेको प्रष्ट देखिएकोले एनआरएनएको विधानअनुसार साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गर्न लिखित सिफारिस गरिएको छ ।

कुँवरद्धारा सञ्चालित ट्राभल्सबाट पीडित व्यक्तिहरूलाई क्षतिपूर्ति दिनका लागि नेपालमा भएका कुँवरको परिवारलाई समेत जानकारी गराइएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पीडितले जनाएअनुसार कुँवरले नक्कली टिकटका अलावा ढुकुटी, आईएमईलगायत माध्यमको दुरुपयोग गर्दै २ करोड भन्दा बढी रकम ठगी गरेको देखिएको छ ।

टिकट काण्डसँगै कुँवरका अन्य थुप्रै ठगीका घटना सार्वजनिक भएका छन् । कुँवरले नेपालीहरूलाई ठग्ने श्रृङ्खला यो नै पहिलो नभइ लामो फेहरिस्त रहेको देखिएको छ ।

उनको ठगीका घटनामध्ये फारोस्थित आलुफेरामा काम गर्दै आएका बुटवलका ओमबहादुर पुर्जामगरले पठाएको एक हजार ४६२ युरो कुँवरले करिब एक महिना होल्ड गरेर राखेको प्रसङ्गलाई पनि लिन सकिन्छ ।

मगरले आफ्नो रकमको बारेमा कुँवरलाई बारम्बार फोनमार्फत जानकारी लिए, दिए । कुँवरले मगरलाई पटक-पटक फोटोसपबाट नक्कली भौचर बनाएर पैसा आजभोलि नै पुग्छ भन्दै महिनौँ झुलाए ।

सञ्चारमाध्यम र सामाजिक संजालमा घटनाबारे सार्वजनिक गरेपछि मात्र पीडित मगरले किस्ताबन्दीमा रकम फिर्ता पाए । मगरले उक्त घटना उल्लेख गर्दै गैरआवसीय नेपाली संघ पोर्चुगलमा समेत कारबाहीका लागि निवेदन दिए, तर हालसम्म यो विषयमा सुनुवाइ नभएको बुझिएको छ ।

केही महिनाअघि गोरखा बोर्लाङका एक युवाले नेपाल फर्किनका लागि कुँवरले सञ्चालन गरेको लक्ष्मी ट्राभलबाट टिकट काटे । त्यो टिकट पनि फर्जी भएकै कारण उनी समयमै नेपाल फर्किन पाएनन् । कुँवरको कम्पनीबाट काटेको दुवै टिकट फर्जी भएपछि ती युवा संचारकर्मीको शरणमा परे । त्यसपछि कुँवरले उनलाई अर्को टिकट काटेर घर पठाएका थिए ।

यस्तै, नेपाली जनसम्पर्क समिति पोर्चुगलका एक सदस्य एक महिनाअघि नेपाल जाने तयारीमा थिए । उनले पनि कुँवरकै ट्राभलबाट टिकट काटे । तर विमान कम्पनीलाई कुँवरको ट्राभलले पैसा नतिरेको कारण उनको उडान निर्धारित दिनमा रोकियो । त्यसपछि उनी भोलिपल्ट पुनः अर्को विमानको टिकट काटेर नेपाल गएका थिए ।

अर्को घटना, पत्रकार यादव देवकोटाले सात हजार युरो सोही ट्राभलमार्फत नेपाल पठाउन भनी नगद रकम दिए । देवकोटाले पटक-पटक भन्दा पनि उनले समयमै रकम नेपाल पठाएनन् । बरु उल्टो कुँवरले पटक-पटक ‘फोटो सप’ गरेर पैसा पठाएको फर्जी भौचर देवकोटालाई पठाए । तर त्यो पैसा नेपाल पुग्न झण्डै एक महिना लाग्यो ।

कुँवरको अर्को कर्तुत भनेको ढुकुटीको हो । नेपाललगायत युरोपमा समेत ढुकुटी कारोबारलाई गैरकानुनी मानेको छ । तर कुँवरले नयाँ-नयाँ सदस्यहरू खोज्दै ढुकुटी खेलाउने र ढुकुटी खाएको रकम नदिने पीडितहरूको गुनासो छ ।

त्यति मात्र नभइ कुँवरले वैदेशिक रोजगारीका लागि नेपालबाट मानिस ल्याउने भन्दै नेपालबाट लाखौँ रकम उठाएको पीडितहरूको आरोप छ । पीडितका अनुसार कुँवरले नेपालबाट आफन्तहरू पोर्चुगल ल्याउन र काम आफैले खोजीदिने भन्दै अन्य नेपालीलाई भन्ने गरेको पीडितहरू बताउँछन् ।

यस्तै, उनकै ट्राभलमा लामो समयदेखि कार्यरत कर्मचारीले समेत पारिश्रमिक नपाएपछि हालै एनआरएनएमा निवेदन दर्ता गराएका छन् ।

यसरी एकपछि अर्को ठगीका घटना बाहिर आएपछि कुँवर अहिले फरार भएका छन् । उनी फरार हुनुमा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेको पनि संलग्नता रहेको लिजवनका नेपालीहरू बताउँछन् । विगतमा कुँवरले गरेका थुप्रै गल्तीलाई ढाकछोप गरिदिने गरेको अध्यक्ष गैरेमाथि आरोप छ ।

यसैबीच कुँवरले गरेका ठगीको विषयलाई लिएर पोर्चुगलस्थित अधिकांश संघ-संस्थाले विरोध र कारवाहीको माग गरेका छन् ।

नेपाली जनसम्पर्क समितिले कुँवरको बदमासीले नेपाली समुदायको शिर निहुरिएको भन्दै कारबाहीको माग गरेको छ । विज्ञप्ति जारी गर्दै समितिले फर्जी हवाई टिकट दिने र आईएमईमार्फत नेपाल पैसा नपठाई आर्थिक अपचलन गर्ने कुँवरलाई कारवाही हुनुपर्ने र पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ ।

समितिका कार्यवाहक सभापति वकिल केसी र महामन्त्री सुनिल ढुंगानाद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा कुँवरलाई समितिको साधारण सदस्यबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।

पोर्चुगलस्थित प्रवासी नेपाली एकता मञ्चले पनि कुँवरलाई हदैसम्मको कारवाही र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिएको छ । मञ्चद्वारा प्रकाशित विज्ञप्तिमा कुँवर समाजको ऐंजेरु भएकोले सबै मिलेर कारवाहीको दायरामा ल्याउनुपर्ने जनाइएको छ ।

मञ्चका अध्यक्ष मदन लिम्बु र महासचिव दीपक खत्रीद्वारा जारी विज्ञप्तिमा गलत मनशाय र गलत धन्दा चलाउने व्यक्तिबाट टाढै बस्न अनुरोध गर्दै संस्थाको जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो हर्कत हुनु नेपाली समाजको लागि दुर्भाग्य रहेको उल्लेख गरिएको छ ।

यस्तै, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले पनि विज्ञप्ति जारी गर्दै दर्जनौँ व्यक्तिहरूको हवाई टिकट काटेर आफ्नै नेपालीलाई ठग्नु गम्भीर अपराध भएको जनाएको छ । मोर्चाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माले कुँवरलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति एवम् न्याय दिनुपर्ने माग गरेका छन् ।

त्यस्तै लमजुङ समाज पोर्चुगल, नवलपुर समाज पोर्चुगल, नेपाली महिला समाज, बागलुङ समाज, तामाङ समाज, म्याग्दी प्रवासी नेपाली संघलगायतले विज्ञप्ति जारी गरी ठगीकाण्डका दोषी विक्रमजंग कुँवरलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

यसैबीच ठगिएका नेपालीहरू आर्थिक रूपले निकै अप्ठ्यारोमा परेका बुझिएको छ । पीडितहरूसँग खानका लागिसमेत रकम अपुग भएको र एक महिला गर्भवतीसमेत भएकोले उनीहरूलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने पत्रकार एवं समाजसेवी रमेशराज बास्तोताले बताए ।

यो पनि हेर्नुहोस्-

ठगीमा संलग्न एनआरएनए अगुवाको घरजग्गा रोक्का गर्न नेपाल सरकारसँग माग https://ghatanarabichar.com/215784