राजकुमार फिलीपको अन्त्येष्टि अप्रिल १७ मा गरिने, ३० जना मात्रै सहभागी हुने

राजकुमार फिलीपको अन्त्येष्टि अप्रिल १७ मा गरिने, ३० जना मात्रै सहभागी हुने



दरबारमा फूल नचढाउन आह्वान

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ । बेलायतको राजदरबार बकिङ्घमका प्रवक्ताले ९९ वर्षको उमेरमा निधन भएका फिलीपको अप्रिल १७ मा अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

गत शुक्रबार नै निधन भए पनि संवैधानिक प्रक्रियामार्फत उनको अन्त्येष्टि गर्नु पर्ने भएकाले ढिला हुने भएको अधिकारीहरुले बताएका छन् ।

स्थानीय समयअनुसार अप्रिल १७ तारिखको दिउँसो ३ बजे विन्डसोरमा रहेको जर्ज गिर्जाघरमा उनको अन्त्येष्टि सुरु गरिने तय भएको छ ।

कोरोना भाइरसको महामारीका कारण अन्त्येष्टि समारोहमा सर्वसाधारणलाई सहभागी हुन नदिइने भएको छ भने अत्यावश्यक ठानिएका ३० जना व्यक्तिलाई मात्रै सहभागी गराइने भएको छ ।

राजकुमार फिलिपको निधनमा देशभरी आठ दिन शोक मनाउने निर्णय भएको बेलायती सरकारले जनाएको छ । शोक मनाउने समयमा देशभरी राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ भने राजदरबारमा पुरै झण्डा झुकाइने भएको छ ।

उनको निधनपछि बेलायती पूर्वयुवराज ह्यारी पनि केही समयका लागि दरबार फर्किने भएका छन् । राजपरिवारको सम्पूर्ण जिम्मेवारी त्यागेर अमेरिकामा बस्दै आएका ह्यारी आफ्नी श्रीमती मेघनबेगर नै बेलायत आउन लागेका हुन् ।

मेघन गर्भवती भएकाले यात्रा नगर्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

दिवंगत फिलीपको सम्मानमा शनिबार देशभरी सलामी दिइएको थियो । उहाँलाई श्रद्धान्जली दिन दरबारमा फूल नचढाउन पनि शाही अधिकारीहरुले आग्रह गरेका छन् । बरु उनको सम्झनामा सामाजिक कार्यमा योगदान गर्न शाही सदस्यहरुले प्रोत्साहन गरेका छन् ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घमले घोषणा गरेको थियो ।

‘द ड्यूक अफ एडिनबरा’को उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनाति–पनातिनीहरू छन् । राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१ जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गर्नुभएको व्यक्तिका रुपमा स्मरण गरेका छन् ।

बेलायतकी महारानीसँग सात दशकभन्दा लामो वैवाहिक जीवनसँगै बिताएका राजकुमार फिलिपले पछिल्ला केही वर्षयता उमेरका कारण राजपरिवार सदस्यका रूपमा औपचारिक जिम्मेवारीहरूलाई हेर्न छोडिदिएका थिए ।

उनले रोयल नेभी र बेलायतको इतिहासमा नै लामो समय दशकौँसम्म राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेकी महारानीका एलिजावेथ द्वितीयको पतिका रूपमा विश्वभरबाट माया पाएकी छन् । महारानीका पतिको रूपमा उनलाई कुनै पनि संवैधानिक हैसियत त थिएन । तर राजसंस्थाको नजिक उनभन्दा धेरै अरू कोही थिएन ।

लन्डनस्थित वेस्टमिन्स्टर एबीमा सन् १९४७ नोभेम्बर २० का दिन उनीहरूको विवाह भएको थियो । यसलाई बेलायती पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले युद्धपछिको कठिन समयमा बेलायतमा देखिएको एउटा रङ्गीन चमकको रूपमा उल्लेख गरेका थिए । सन् १९५२ को फेब्रुअरीमा फिलिप र एलिजाबेथ केन्या भ्रमणमा रहेको बेला बेलायतका राजा जर्ज छैटौँको निधन भएको थियो । त्यसपछि बेलायतकी महारानी बनेकी आफ्नी पत्नी एलिजावेथलाई राजकुमार फिलिपको जीवनपर्यन्त दरिलो साथ रहेको थियो ।

बेलायतकी महारानीका रूपमा आफ्नो राज्याभिषेकलगत्तै महारानी एलिजावेथद्वारा जारी गरिएको घोषणामा उनलाई रानीपछिको दोस्रो हैसियत प्रदान गरिएको थियोे । उनको विशेष रुचि युवाको कल्याण तथा वन्यजन्तु र प्रकृति संरक्षणमा रहेको थियो । फिलिपलाई प्रतिबद्ध र आत्मनिर्भर व्यक्तिका रूपमा हेरिन्थ्यो ।