आलोपालो कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह

आलोपालो कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको आग्रह


विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले तत्कालका लागि परिस्थिति असहज रहेसम्म शिक्षण संस्थाभित्र सभा, समारोह, वार्षिक उत्सवजस्ता भीडभाड हुने कुनै पनि कार्यक्रमको आयोजना नगर्न र साथै विद्यालय सञ्चालन गर्दा मन्त्रालयवाट जारी भएको विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७को अनुशरणसमेत गर्न निर्देशन दिएको छ ।

मन्त्रालयमा शुक्रबार बसेको बैठकमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान विषम परिस्थितिमा सबै विद्यालय स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न आग्रह गरे । प्रभावित भएका विद्यालयमा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएम)ले निर्णय गरी विद्यालय बन्द गर्न सक्ने अधिकार रहेको भनाइ उनले राखे ।

शिक्षा सचिव रामप्रसाद थपलियाले तत्काल बिद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने जिकिर गर्दै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरे ।

यस्तै, विज्ञान सचिव डा. सञ्जय शर्माले अहिलेको अवस्थामा आलोपालो प्रणालीमा विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गर्दै पछिल्लो अवस्थामा कोभिड–१९ले बालबालिका र १८ वर्षमुनिका युवालाई सङ्क्रमण देखिएकोले सबै गम्भीर हुनुपर्ने बताए ।

विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहलाई

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामा विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय लिने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिए । भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न भनिएको उनको भनाइ थियो ।

यस्तै, सबै विद्यालयलाई जनस्वास्थ्यसम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा सङ्क्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गरेका छन् ।