कोरोनाको चपेटमा फ्रेन्च ओपन : एक साता पछि धकेलियो

कोरोनाको चपेटमा फ्रेन्च ओपन : एक साता पछि धकेलियो



कोरोनाका महामारीका कारण वर्षको चर्चित दोश्रो ग्य्राण्ड स्ल्याम फ्रेञ्च ओपन एक साता पछि धकेलिएको छ । क्ले कोर्टमा आयोजना हुने फ्रेञ्च ओपन २३ मे देखि शुभारम्भ हुनुपर्नेमा कोरोनाका कारण ३० मे देखि शुरु भइ १३ जुनमा सम्पन्न हुने भएको छ ।

गत वर्ष पनि कोरोनाको चपेटामा परेर फ्रेञ्च ओपनको आयोजना चार महिना पछि भएको थियो । त्यसबेला मे–जुनमा आयोजना हुनुपर्ने फ्रेञ्च ओपन सेष्टेम्बर-अक्टुबरमा आयोजना भएको थियो । प्रतियोगिताका दौरान प्रत्येक दिन केवल एक हजार जनालाई रंगशालामा प्रवेशज्ञा दिइएको थियो ।

फ्रान्सका खेलकुदमन्त्री रोक्साना मारासिनियूले नयाँ कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा विश्व आक्रान्त भैरहेकोले सोही कुरालाई मध्यनजर राख्दै एक साताको लागि पछि सारिएको बताएका छन् । फ्रेञ्च सरकारले यस्तो निर्णय गरेपछि फ्रान्सका चर्चित टेनिस खेलाडी एलिज कार्नेटले यसको आलोचना गरेका छन् ।

सरकार खेलकुद मन्त्रीको निर्णयको आलोचना गर्दै कार्नेटले भने- ‘यो हाम्रो आन्तरिक कुरा हो तर खेलकुदमन्त्री कोरोनाजत्तिकै खतरनाक रूपमा प्रस्तुत भए । मसँग उनको बारेमा बोल्ने कुनै शब्द छैन, किनकि उनलाई खेलको बारेमा कुनै मतलब नै छैन, केवल गलत फैसला मात्र गर्छन् ।’ एक साता प्रतियोगिताको समय सार्दा धेरै दर्शक आउने विश्वासमा सरकारले यस्तो फैसला लिएको भन्दै उनले दुःख प्रकट गरेका छन् । सरकारको यस्तो फैसलाले उनीहरूको स्वार्थसिद्ध हुने भए पनि खेल क्यालेण्डरमा यसको नकारात्मक प्रभाव पर्ने कार्नेटले बताए ।

विगत केही समयदेखि फ्रान्सले कोरोना नियमलाई अझ कडा बनाएको छ । सबै व्यावसायिक खेलहरू दर्शकविना खेलाइरहेको छ । साथै सिनेमा घर, संग्रहालय र थियटरहरू पूर्ण रूपमा बन्दछन् । धेरै भिडभाड हुने ठाउँलाई खोल्ने अनुमति दिएको छैन ।

गत वर्षको फ्रेञ्च ओपनको उपाधि स्पेनका राफेल नाडालले जितेका थिए । यो उनको कीर्तिमानी १३औं फ्रेञ्च ओपन उपाधि हो । त्यस्तै गत वर्ष महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्वियातेकले जितेकी थिइन् ।