‘निकट भविष्यमै माओवादी र माधव पक्षबीच पार्टी एकता हुने खुलासा

‘निकट भविष्यमै माओवादी र माधव पक्षबीच पार्टी एकता हुने खुलासा



नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने खुलासा गरेका छन् । सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आइतबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरे ।

उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताए ।

नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको दाबी गर्दै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको उनले बताए । जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलको भनाइ थियो ।