पूर्व श्री ५ बाट आभार प्रकट

पूर्व श्री ५ बाट आभार प्रकट



महाकुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्कनुभएका पूर्व श्री ५ ज्ञानेन्द्र शाहले हरिद्वार (भारत)मा आफूप्रति गरिएको विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति निरन्जन पीठका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीका साथै समस्त सन्त-महात्मामा कृतज्ञता प्रकट गर्नुभएको छ ।

पूर्व श्री ५ ले एक विज्ञप्तिमार्फत निरन्जन अखाडाका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीको निमन्त्रणामा आफू पवित्र तीर्थस्थल हरिद्वारमा हरेक १२ वर्षमा सम्पन्न हुने महाकुम्भ मेला अनुष्ठानमा सहभागी भएर स्वदेश फर्केको उल्लेख गर्दै यस महत्वपूर्ण धार्मिक भ्रमणका क्रममा दर्शाइएको विशेष सम्मान-सत्कारका लागि आभार एवम् धन्यवाद ब्यक्त गर्नुभएको हो ।

उहाँले महाकुम्भमा शाही स्नान र गंगा-आरतीको विशेष प्रबन्ध मिलाउन अखाडा परिषदले लिएको दायित्व आफैमा अविस्मरणीय रहेको जनाउनुभएको छ । शाही स्नान अवधिमा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूको तर्फबाट आफूहरूलाई गरिएको अभिनन्दन र आशीर्वचनका लागि पनि आभार ब्यक्त गर्नुभएको छ ।

भारत बसाइलाई सरल र सहज बनाउने ब्यवस्थाको लागि भारतीय जनता र भारत सरकारप्रति पनि आभार प्रकट गर्दै पूर्व श्री ५ ले भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्कंदा विभिन्न संघसंस्था तथा नेपाली जनसमुदायबाट दर्शाइएको स्वागत-सम्मानका निम्ति समस्त शुभचिन्तक दाजुभाइ-दिदीबहिनीप्रति दिलदेखि आभार एवम् धन्यवाद दिनुभएको छ ।