बाघ र बाघको छाला ओढेको स्याल नचिने घात हुने निश्चित !
- खगेन्द्र गिरी ‘कोपिला’

अयोध्यामा राममन्दिर निर्माणको संकल्प गरेर जनमत बटुली हिन्दुवादी भारतीय जनता पार्टीले भारतमा अपार सफलता पाएपछि आफ्नो सिद्धान्त र कर्मको मोर्चामा असफल भएका अनेक नेताहरू सनातन हिन्दु जनताको धार्मिक आस्थाको संवेदनालाई छोएर-चलाएर-खेलाएर आफ्नो अभीष्ट पूरा गर्ने रणनीतिमा लागेका छन् ।
उहिले-उहिले हिन्दुहरूको आस्थामाथि ठेस पुऱ्याउने र हिन्दु धर्मका मूल्य-मान्यताको उपहास गर्दै हिँड्नेहरू अचेल सनातन हिन्दुहरूप्रति प्रेम र सहानुभूति राखेको नाटक गर्न लागिरहेका छन् ।
दक्षिण एशियाका केही उदाहरण-
- पाकिस्तानमा अल्पसङ्ख्यक हिन्दुहरूलाई मताधिकार थिएन । दुई वटा आरक्षित कोटामा मत दिएरै चित्त बुझाउनु पर्थ्यो । हिन्दु धर्मका पूजा र मेलाहरू खुला रूपमा गर्न पाइँदैन थियो । तर नवाज शरिफ र इमरान खानले आफूलाई उदार देखाउन होली खेले, दीपावली मनाए, हिन्दु पर्वका अवसरमा कार्यक्रम गर्न लगाएर भाषण गरे । बलात्कृत महिलाले आफूलाई बलात्कार गर्ने पुरुषले माया गरेको ठानेर म्वाइँ खाएजस्तो हिन्दुहरूले मक्ख पर्दै कहिले नवाजलाई भोट दिए कहिले इमरानलाई भोट दिए ।
- बंग्लादेशका हिन्दुहरूको कथा पनि पाकिस्तानका हिन्दुहरूको जस्तै हो । अवामी लिगकी शेख हसिनाले हिन्दुहरूको एक करोड भोटको जित-हारमा ठूलो अर्थ हुने देखेर एक दुई ओटा हिन्दु मन्दिरको जिर्णोद्वार गरिदिइन् । होली र दीपावली मनाएर हिन्दुहरूलाई मक्ख पारिन् । तिनै हिन्दुहरूको भोटले लगातार तीन वटा चुनाव जितिरहन शेख हसिनालाई सघाउ पुग्यो ।
- भुटानमा हिन्दुहरूले सरकारी विद्यालयमा आफ्नो मातृभाषामा पढ्न पाउन्नन् । राजाको अनुमतिबिना आफूले चाहेको ठाउँमा मन्दिर बनाउन पाउन्नन् । सार्वजनिक कार्यक्रममा आफ्नो जातीय पोशाक लगाउन पाइन्न । तर विगत केही वर्षदेखि सरकारले मन्दिर बनाइदिएर, पुजारीलाई सरकारी कोषबाट तलब दिएर, राजाले दशैँमा टीका लगाइदिएर अनि नेताहरूले नेपाली भाषामा भाषण गरेर हिन्दुहरूलाई फकाइरहेका छन् ।
- भारतमा नेहरूले अन्य सबै धर्मालम्बीलाई धार्मिक संस्था र धार्मिक पाठशाला खोल्ने र सरकारी अनुदान पाउने अधिकार दिएका थिए भने हिन्दु धर्मका संस्था र पाठशालाहरू सात दशकसम्म सरकारी सहयोगबाट बञ्चित थिए । तर, उही नेहरूको पारसी धर्मावलम्बी नाति राहुल ग्याण्डी ‘म जनैधारी ब्राह्मण हुँ’ भन्दै मन्दिर-मन्दिर धाएर फोटोसुट गरिरहेका छन् ।
- नेपालमा ‘धर्म अफिम हो’ भनी पढाइने स्कुलका शिक्षक ओलीज्यूले जीवनभर हिन्दु धर्मका मूल्य–मान्यताको उपहास गरेर पढाइरहे । तर अचेल राम नेपालमा जन्मेका हुन् भन्दै, रामजन्मभूमिमा मन्दिर बनाउँछु भन्दै र पशुपतिमा स्वर्ण झालर चढाएर हिन्दुहरूको सहानुभूति बटुल्न खोज्दै छन् ।
- ‘हिन्दु धर्मका पुस्तक जलाउनु पर्छ, हिन्दुका मन्दिर भत्काउनु पर्छ, ब्राह्मण-क्षत्रीका जनै चुँडाल्नु पर्छ’ भन्दै जीवनभर उग्रता देखाउँदै आएका प्रचण्ड पनि अचेल कतै भैंसीपूजा गर्न लागेको त कतै छालाको जुत्ता लगाएर होम गरिरहेको अवस्थामा देखिन्छन् । हिजोआज रामको नाम भजाएर ओलीज्यूले जस्तै उनी हिन्दुहरूलाई लरक्क पार्ने ध्याउन्नमा लागेका हुन् ।
तर यति कुरा बुझ्नुपर्छ कि भारतमा भाजपा र मोदी एकछिन मन्दिरमा गएर घन्ट हल्लाएर अनि हिन्दुको भेलामा गएर एकछिन भाषण गरेको भरमा सफल भएका हैनन् । हिन्दुत्वप्रतिको निष्ठा, चरित्र तथा आचरणमा प्रतिबद्ध र हिन्दु मान्यताअनुसारका राजनीतिक-सामाजिक कार्यक्रम ल्याएर सफल भएका हुन् ।
दक्षिण एशियामा सनातनी हिन्दुका दिन त फर्केका छन् तर बाघ र बाघको छाला ओढेको स्याललाई चिन्न सकिएन भने फेरि घात हुने निश्चित छ ।
प्रतिक्रिया