विश्व बक्सिङ च्याम्पियनसीपमा ‘ऐतिहासिक विजय’को निम्ति भीडन्त गर्दै सुष्मा

विश्व बक्सिङ च्याम्पियनसीपमा ‘ऐतिहासिक विजय’को निम्ति भीडन्त गर्दै सुष्मा



पोल्याण्डको किल्सीमा सञ्चालन भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसीप अन्तर्गत महिलातर्फको भीडन्तमा सुष्मा तामाङलाई ऐतिहासिक जित हासिल भएको छ । विश्व च्याम्पियनसीपका कुनै पनि खेलमा नेपाली खेलाडी विजयी बनेको यो पहिलो अवसर हुनाले उनको जित ऐतिहासिक बनेको हो ।

४८ केजीतर्फ भएको भीडन्तमा सुष्माले लिथुआनियाकी खेलाडी बाजालेती डिजालाई पराजित गरेकी हुन् । तीन राउण्डसम्म चलेको प्रतिस्पर्धामा सुस्माले उत्कृष्ट प्रदर्शन गर्दै विपक्षी खेलाडीलाई पाखा लगाएकी थिइन् । सुस्माले तेस्रो राउण्डको २ मिनेट १२ सेकेन्डमा डिजालाई खेल्नबाट बन्चित गरिदिइन् ।

पहिलो खेलमा बाई पाएकी सुस्मा दोश्रो खेलमा विजयी बनेपछि क्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । अब सुष्माको क्वाटर फाइनलमा आयोजक राष्ट्र पोल्याण्डका खेलाडीसँग भीडन्त हुनेछ ।

सुष्माले क्वाटर फाइनलमा पोल्याण्डकी खेलाडीलाई पराजित गरे त्यो नेपालको लागि थप खुशी र ऐतिहासिक विजयको अवसर बन्नेछ ।

यो विजयसँगै सुष्माले पहिलो विश्वस्तरीय मेडल टच गर्दै सेमिफाइनल प्रवेश गर्नेछिन् ।

विश्व बक्सिङ च्याम्पियनसिपमा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीले सहभागिता जनाएका छन् ।