भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो



भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार महामारी शुरु भएयता भारतमा हालसम्म १ करोड ५० लाख ६१ हजार ९१९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा कोरोनाबाट एकै दिनमा दुई लाख ७३ हजार ८१० सङ्क्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ६१९ जनाको कोरोनाको कारण मृत्यु भएको जनाइएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोना भाइरसबाट कुल मृतकको सङ्ख्या एक लाख ७८ हजार ७६९ पुगेको देखिएको एएनआईले जनाएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने १९ लाख २९ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा एक लाख २८ हजार १३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको विवरण मन्त्रालयले सार्वजनिक गरेको छ । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड २९ लाख ५३ हजार ८२१ पुगेको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो सो समयबाट अहिलेसम्म भारतमा १२ करोड ३८ भन्दा लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा आइतबार मात्रै १३ लाख ५६ हजार १३३ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । अप्रिल १९ सम्म कूल २६ करोड ७८ लाख भन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषदले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सवभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा आइतबार एकै दिनमा २५ हजार ५०० जना कोरोना भाइरस सङ्क्रमित भएका र १६१ जनाको मृत्यु भएको छ ।