लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सोमबार अविश्वास प्रस्ताव दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका गरी ४१ सांसदले प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास नरहेको उल्लेख छ भने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेसका १९, माओवादीका १७ र जसपाका ५ जना सांसद छन् । जसपाकै एक सांसद कमला पाण्डेले भने अविश्वास प्रस्ताव पार्टीको आधिकारिक निर्णय नभएको भन्दै हस्ताक्षर गरेकी छैनन् । पाण्डे महन्थ ठाकुर पक्षधर सांसद हुन् ।
अविश्वास प्रस्ताव दर्ता गरेसँगै माओवादीको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका कुलबहादुर केसी र सुदर्शन बरालले राजीनामा दिएका छन् । केसी आन्तरिक मामिला तथा कानून मन्त्री र बराल सामाजिक विकासमन्त्रीको जिम्मेवारीमा थिए ।
बताइएअनुसार अविश्वास प्रस्तावको पक्षधरहरुले केसीलाई नयाँ मुख्यमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् भने आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शंकर पोखरेल प्रस्तावको सामना गर्ने रणनीति तय गर्न छलफलमा जुटेका छन् ।
ज्ञातव्य छ, लुम्बिनी प्रदेशमा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका २०, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ जना गरी जम्मा ८७ सांसद छन् । यहाँ बहुमतको सरकार बनाउन ४३ मत आवश्यक पर्छ ।
प्रतिक्रिया