‘हिन्दूराष्ट्र मूल लक्ष्य’ तय गर्दै अठार वर्षपछि विश्व हिन्दू महासङ्घमा एकता

‘हिन्दूराष्ट्र मूल लक्ष्य’ तय गर्दै अठार वर्षपछि विश्व हिन्दू महासङ्घमा एकता


विश्व हिन्दू महासङ्घका दुई समितिबीच रामनवमीको अवसर पारेर वैशाख ८ गते राजधानीमा एकता घोषणा हुने भएको छ । दुई समितिबीच एकताका लागि आइतबार सहमति भएको नेपाल राष्ट्रिय समिति दर्ता नं. ३३८ कलङ्कीका अध्यक्ष एवं पूर्वमन्त्री डा. रामचन्द्र अधिकारीले जानकारी दिए ।

सबै हिन्दू धर्मावलम्बीलाई एकताको सूत्रमा आबद्ध गर्न महासङ्घ अन्तर्राष्ट्रिय समिति अन्तर्गतको राष्ट्रिय समिति र राष्ट्रिय समिति दर्ता नं. ३३८ कलङ्कीका बीच आइतबार सहमति भएको हो ।

एकता गर्ने सहमतिलाई महासङ्घ अन्तर्राष्ट्रिय समितिले पनि अनुमोदन गरेको महासचिव अस्मिता भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसारभरका हिन्दू ओमकार परिवारको छाता संस्थाका रूपमा विसं २०३७ मा महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । तत्कालीन राजा वीरेन्द्र र राष्ट्रगुरु योगी नरहरिनाथको सङ्कल्पले महासङ्घ अन्तर्राष्ट्रिय समिति स्थापना भएको थियो । जसको संस्थापक सभापति पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल थिए ।

समितिलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पनि मान्यता दिएको राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डे बताउँछन् । अन्तर्राष्ट्रिय समितिअन्तर्गत ३७ देशमा राष्ट्रिय समिति छन् । भारत, अमेरिका, बेलायत, पाकिस्तान, बङ्गलादेशलगायत हिन्दू भएका देशमा राष्ट्रिय समिति क्रियाशील छन् ।

महासङ्घ अन्तर्राष्ट्रिय समितिअन्तर्गत विसं २०४५ मा राष्ट्रिय समिति स्थापना भएको हो । जसको संस्थापक सभापति पूर्वमन्त्री अच्युतराज रेग्मी रहेका महासङ्घले जनाएको छ ।

विसं २०६० मा अन्तर्राष्ट्रिय समितिका सभापति भरतकेशर सिंह र राष्ट्रिय समितिका सभापति नारायणप्रसाद पोखरेलबीचको विवादले महासङ्घ दुईवटा बनेको थियो । अन्तर्राष्ट्रिय समितिका सभापति सिंहले राष्ट्रिय समितिका सभापति पोखरेललाई कारवाही गरेपछि ३३८ दर्ता नं. मा अर्को राष्ट्रिय समिति दर्ता भएको थियो । जसको कार्यालय कलङ्कीमा स्थापना गरिएको थियो ।

विसं २०६० मा महासङ्घ फुटेसँगै विसं २०६३ मा नेपाल धर्मनिरपेक्ष घोषणा भएको निष्कर्ष निकाल्दै एकजुट भएको महासचिव पाण्डेले सुनाए । महासङ्घको मुख्य उद्देश्य नेपाललाई सनातन हिन्दू राष्ट्रका रूपमा स्थापित गर्ने रहेको छ । धर्मनिरपेक्षतापछि प्रभावमा पारेर धर्म परिवर्तन गराउने क्रम बढेकामा दुवै समितिले आपत्ति जनाउँदै आएका छन् ।

सनातन धर्ममाथिको आक्रमण रोक्न सबै हिन्दू संस्थाबीच एकता गर्ने अभियानअन्तर्गत पहिलो चरणमा १८ वर्षअघि दुई भएका संस्थाबीच एकता गरिएको समितिका अर्का महासचिव गणेशप्रसाद न्यौपानेलाई उद्धृत गर्दै राससले जनाएको छ । बताइएअनुसार दुवै समितिबीच एकता गर्न १८बुँदे सहमति भएको छ ।

सहमतिअनुसार कार्यकारी सभापति अधिकारी र मानार्थ सभापति राजेन्द्रकुमार भण्डारी रहने भएका छन् । दुवैतर्फका पदाधिकारी एवं सदस्य अर्को महाधिवेशन नभएसम्म कायम गर्ने सहमति भएको छ । कुनै विषयमा विवाद भएमा कार्यकारी र मानार्थ सभापति संयुक्त रूपमा गरेका निर्णयलाई नै आधिकारिक मानिने सहमति पत्रमा उल्लेख छ ।

दुई समितिबीच एकता भएकामा विश्व हिन्दू युवा सङ्घलगायत विभिन्न संस्थाले खुसी व्यक्त गरेका छन् । महासङ्घ राष्ट्रिय समितिलाई पारदर्शी एवं सक्रिय संस्थाका रूपमा अघि बढाउन पनि आह्वान गरिएको छ ।