आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति

आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् । उनले आदेश उल्लङ्घन गर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका छन्।

यही वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको थियो । ‘आदेशको उल्लङ्घन हुने गरी कुनै पनि शैक्षिक संस्था, सार्वजनिक निकाय, निजी निकायले सञ्चालन गर्ने गराउने धार्मिक, सांस्कृतिक कार्य गर्न गराउनेउपर अनुगमन बढाउन र नियमानुसार कारवाही गर्न गराउन सबैमा अपिल छ’, स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. अधिकारीद्वारा जारी अपिलमा उल्लेख छ ।

आदेशको उल्लङ्घन हुने गरी भएका गतिविधिका कारण सङ्क्रमण हुन गएमा सङ्क्रमितको परीक्षण, उपचार सम्बन्धित संस्था वा व्यक्तिले स्वयं आफैंले आफ्नो खर्च गर्नुपर्ने अपिलमा उल्लेख गरिएको छ । सहप्रवक्ता डा. अधिकारीले सरकारले जारी गरेको आदेशको उल्लङ्घन गरी सार्वजनिक निकाय तथा निजी संस्था स्थलमा सङ्क्रमण फैलिने खालका गतिविधि भइरहँदा अवस्था अझ खराब हुँदै जाने देखिने बताउनुभयो । बुधबार दुई हजार ३५१ मा सङ्क्रमण देखिएको थियो ।