- बबिता बस्नेत
कुनै काम गर्नु पऱ्योे भने हामी प्रायः भनिरहेका हुन्छौँ- ‘पछि गरुँला नि, समय छँदैछ नि !’ वर्षाैंदेखि समय छँदैछ नि भनेर नगरेका कामहरू हामीमध्ये धेरैसँग प्रशस्तै होलान् । तीमध्ये कति त अब नगरे पनि हुने भइसके होला र कतिचाहिँ भविष्यमा गर्ने कामका रूपमा थाँती रहेका होलान् । केही दिनअघि पत्रकार बहिनी कृष्णा पौडेलले खासमा मेडिटेशन (ध्यान) गर्ने उचित समय कहिले हो ? भनेर सोधिन् । जवाफमा पङ्क्तिकारले भन्यो- ‘खासमा तिमीले ध्यान गर्नुपर्ने अघिल्लो समयचाहिँ पच्चीस-तीस वर्षअघि थियो, पछिल्लो समयचाहिँ आजै हो ।’
जीवनमा भोलि नआउन पनि सक्छ भन्दा मानिसहरू झस्किएझैँ लाग्छ, तर त्यो झस्काइ र सचेतता केही समयका लागि मात्र रहन्छ । वास्तविकताचाहिँ के हो भने जीवनमा भोलि नआउन पनि सक्छ त्यसैले आफूलाई महत्वपूर्ण लागेको काम आजै गर्नुपर्छ । गर्दागर्दै कतिपय काम अधुरा हुन सक्छन् त्यो अलग कुरा हो, तर समय छँदैछ भनेर सुरुवात नै गरिएन भने त्यो समय नआउन पनि सक्छ ।
प्रायः हामी सबैलाई आफूले जिन्दगीमा संसारै धानीरहे जस्तो लाग्छ । ‘म नभए त यो कसले गथ्र्यो र ! म छु र पो यो सबै छ’ भन्ने लाग्छ । खासमा हामी नहुँदा पनि यो संसार यसैगरी चलिरहनेछ जसरी अहिले चलेको छ । हामीमध्ये धेरैलाई म नहुँदा पनि यो संसार यसैगरी चल्ने ? भनेर ‘इगो’मा ‘हर्ट’ हुन सक्छ, तर वास्तविकता यही हो । हामी नहुँदा पनि हाम्रो परिवार, आफन्त, निकटवर्ती, प्रियजनहरू र यो संसार यसैगरी चलिरहेको हुनेछ । न हामी अफ्नो खुशीले यो संसारमा आएका हौँ न त आफ्नो स्वीकृतिले यो संसार छोड्नेछौँ । हाम्रो हातमा नभएको मृत्यु र हातमा भएको जीवनका बारेमा हामीले गहिरिएर खासै हेर्दैनौँ । कसले के गरे, के भने, कसको कति उन्नति-प्रगति भयो, कसरी भयो ? कसको स्वभाव कस्तो, त्यसले किन यसो भन्यो, किन त्यसो गऱ्यो ? मलाई होच्याउने ? म जस्तो मान्छेलाई यसो गर्ने ? या, कसरी त्यो पदमा पुग्ने ? मैले यसो गरेको थिएँ, भनेको थिएँ, म जस्तो… भनेर सोच्दा र ती कुराहरूको पछि लाग्दालाग्दै मानिसले समय, मृत्यु जस्ता अकाट्य सत्यका बारेमा सोच्दैन, महत्व नै दिँदैन ।
श्रीमद्भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्तावेज मानिन्छ । जसमा समयलाई विभिन्न पक्षबाट विश्लेषण गरिएको छ । सम्भवामी युगे युगे भनेर कृष्णले हरेक युगमा म हुन्छु भनेका छन् । कृष्णको ‘म’को अर्थ मपाइँ नभइ ‘समय’ हो भनेर बुझ्नुपर्ने हुन्छ ।
समय यस्तो कुरा हो जो हामीले जे-जे गरे पनि र केही नगरे पनि एकनासले चलिरहन्छ । अल्बर्ट आइन्सटाइनले समयका बारेमा भविष्य भन्ने कहिल्यै आउँदैन भनेका छन् । आइन्सटाइनको यो कुरा विगतदेखि वर्तमानसम्म लागु भइरहेको छ । अहिलेसम्म मानिसले भोलि देखेका छैनन् । जब कुनै मानिसको मृत्यु हुन्छ अनि हामी भन्छौँ- यति नै समय लिएर आएको रहेछ, या उसको समय सकियो ! आएको पनि समय, गएको पनि समय । आउँदैछ जस्तो लाग्ने पनि समय, जाँदैछ जस्तो लाग्ने पनि समय । जन्मिदाको पनि समय, मर्दाको पनि समय । समयलाई संस्कृतमा ‘काल’ भनिन्छ । कालको अर्थ अँध्यारो र, मृत्यु पनि हो । कसैको मृत्युपछि हामी कालले लग्यो या कालगतिले मऱ्यो पनि भन्ने गर्छौं । कालगतिको अर्थ समयको गति हो । काल तीन प्रकारका हुन्छन् भनेर त हामीले सानो छँदै पढेको हो, भुतकाल, वर्तमान काल र भविष्य काल । समयलाई विभाजित गर्ने क्रममा विगत, वर्तमान र भविष्य भनिएको हो । समयका बारेमा बुझ्न ब्रह्माण्डलाई बुझ्ने कोशिस गर्नुपर्ने हुन्छ । जुन कुरा एउटै जुनीमा गर्न कठिन छ, कोशिससम्म गर्ने हो । समयको विभाजनलाई बुझ्न ‘अहिले कति बज्यो’ भन्ने कुरा धेरै सतही हुन्छ तर वर्तमानलाई ब्यवस्थापन गर्न घडीले सहयोग भने गरेको छ । केलाई कति समय भन्ने, कहिलेदेखि गणना गर्ने ? युग, शताब्दी, वर्ष, महिना, हप्ता, दिन, रात, साँझ, बिहान, घण्टा, मिनेट, सेकेण्ड कसरी हेर्ने ? श्रीमद्भागवत गीता समयको कुरा उल्लेख भएको अहिलेसम्मकै उत्कृष्ट दस्तावेज मानिन्छ । जसमा समयलाई विभिन्न पक्षबाट विश्लेषण गरिएको छ । सम्भवामी युगे युगे भनेर कृष्णले हरेक युगमा म हुन्छु भनेका छन् । कृष्णको ‘म’को अर्थ मपाइँ नभइ ‘समय’ हो भनेर बुझ्नुपर्ने हुन्छ ।
ब्रह्माण्ड, शरीर र समयका बीच गज्जबको तालमेल छ । ६० मिनेटको एक घण्टा हुन्छ, हाम्रो मुटुको धड्कन पनि एक मिनेटमा ६० पटक धड्किन्छ भन्ने छ । ब्रह्माण्डको समयको गति र मानिसको शरीरका अङ्गहरूको गतिबीचको तालमेल अनौठो छ । खासमा यो संसार जति बुझ्न खोज्यो त्यति नै आश्चर्यजनक र रहस्यमयी छ । हामीले गहिरिएर बुझ्न खोजे पनि जिन्दगीको समय सकिन्छ, वास्तै नगरे पनि सकिन्छ । हामीले लिइरहेको सास अक्सिजन हो भनेर थाहै नपाइ कतिले यो संसार छोडेर गए । हामीले केही बुझ्नु-नबुझ्नुमा स्वयंलाई फरक परे पनि समयलाई केही फरक पर्दैन । मानिस जतिसुकै पढेलेखेको, पदमा पुगेका, धन-सम्पत्ति भएको, नभएको, विद्वान्, ज्ञानी या मुर्ख जे भए पनि हामी कति समयका लागि यो पृथ्वीमा छौँ या हामीसँग कति समय छ भन्ने कसैलाई थाहा हुँदैन । जिन्दगीको सबैभन्दा ठुलो रहस्य र सत्य मृत्यु हो । मृत्यु मानिसको जीवनमा सबैभन्दा ठुलो त्रास पनि हो । जीवनमा आइपर्ने कुनै पनि दुर्घटनामा मानिस डराउनुको अर्थ ती घटनासँग नभएर मृत्युसँग डराउनु हो । अहिले कोरोना त्रास पनि भाइरसको नभएर मृत्युसँगको त्रास हो, भय हो ।
हामीमध्ये धेरैलाई म नहुँदा पनि यो संसार यसैगरी चल्ने ? भनेर ‘इगो’मा ‘हर्ट’ हुन सक्छ, तर वास्तविकता यही हो । हामी नहुँदा पनि हाम्रो परिवार, आफन्त, निकटवर्ती, प्रियजनहरू र यो संसार यसैगरी चलिरहेको हुनेछ ।
मानिसको जीवनको सबैभन्दा ठूलो सीमितता भनेको पनि मृत्यु नै हो । हरेक मानिस एक दिन मर्छ तर कहिले मर्छु भन्ने थाहा हुँदैन । कहिले मरिन्छ भन्ने समय मात्रै थाहा नपाउनुपर्नेमा मर्नुपर्छ भन्ने नै थाहा नपाएजस्तो गर्नु मानवजीवनको अर्को वास्तविकता हो । जीवन र मृत्युलाई लिएर चिन्तनमनन गर्ने मानिसले आफूसँग सीमित समय छ भनेर बुझेको हुन्छ । जीवनका सीमितताहरूको ज्ञानले मानिसलाई बाँच्न सहज बनाउँछ । मानिसको सरदर आयुलाई हेर्दा बढीमा ८० या ९० वर्ष नै बाँच्ने रहेछ भने पनि त्यो समय भनेको कति हो र ?
हामी प्रायः जीवनको बारेमा चिन्ता गर्छौं । जिन्दगीलाई कसरी सहज बनाउने भन्दा कसरी सफल बनाउने भन्ने कुरामा हाम्रो ध्यान गइरहेको हुन्छ । सहज हुनु र सफल सफल हुनु फरक कुरा हुन् । सफलता अरुले देख्ने कुरा हो, सहजपन आफूले महसूस गर्ने कुरा हो । भौतिक सुखसुविधाले मात्र जिन्दगी सहज हुँदैन । वास्तवमा जीवन या मृत्यु चिन्ता होइन चिन्तन गर्ने विषय हो । मृत्युको चिन्ता गर्ने मान्छे धेरै हुन्छन् तर चिन्तन गर्ने मान्छे ज्यादै कम । मृत्युको बारेमा सोच्ने मान्छेका लागि यो पृथ्वीमा आफ्नो उपस्थिति ज्यादै छोटो समयका लागि छ । हरेक मानिसको जीवन कुनै न कुनै सम्भावनाले भरिएको हुन्छ । मानिसको जीवनप्रतिको आशा पनि तिनै सम्भावनाहरू हुन् । जतिसुकै सम्भावनाले भरिए पनि हामीसँग समय भने सीमित छ, त्यसैले केही राम्रा काम आजै गरौँ । भोलिको चिन्ता छोडेर आजै बाँचौँ ।
प्रतिक्रिया