- देवप्रकाश त्रिपाठी

अनुहारका आधारमा हरेक मानिस विशेष हुन्, तर मुहारले मात्र मनिसको विशिष्टता निर्धारण गर्दैन । गुण, स्वभाव, चरित्र, व्यवहार, शैली, सोच र मानसिकताले पनि मानिसको विशिष्टता सङ्केत गर्दछ । वास्तवमा आफूलाई ‘विशेष’ ठान्नु मान्छेको प्राकृतिक गुण हो, त्यसैले कारण जेसुकै होस्, हरेक मानिसले आफूलाई भिन्न र विशिष्ट ठानेका हुन्छन् । प्राज्ञ, ज्ञानी, ध्यानी, धनाढ्य, पदासिन, इमानदार र सकारात्मक स्वभाव-चरित्रका मानिसले मात्र आफूलाई ‘विशेष’ ठान्ने होइन, नकारात्मक गुण-चरित्र-सोच-व्यवहार भएका र इमानदार पुष्टि हुनै नसक्ने मानिसले समेत आफूलाई अरुहरूको तुलनामा ‘खास’ ठानिरहेका हुन्छन् ।
उच्च शिक्षाको अवसर प्राप्त व्यक्तिले आर्जित शैक्षिक प्रमाणपत्रका कारण आफू अरुहरूभन्दा असामान्य भएको महसूस गरिरहेका हुन्छन् भने जिन्दगीमा विद्यालयसम्म नटेकेका-नदेखेका मानिसचाहिँ आफू निरक्षर हुनुलाई नै ‘विशेष’ ठान्छन् । सर्वभक्षी मानिसले आफू जेसुकै खाने भएकोले अरुहरूभन्दा भिन्न भएको महसूस गरेका हुन्छन् भने शाकाहारीले माछा-मासु ग्रहण नगर्ने कारणलाई आफू विशेष हुनुको अर्थमा बुझिरहेका हुन्छन् । कहिल्यै मदिरा नपिउने मान्छेले मदिरा नपिएका कारण जति आफूलाई ‘खास’ ठानिरहेको हुन्छ त्यो भन्दा ज्यादा ‘खास’ भएको महसूस मदिरासँग मात्र प्रेम भएकाहरूले गरिरहेका हुन्छन् । यस्तै मनोविज्ञान धुमपान गर्ने र नगर्नेहरूको पनि हुन्छ ।
राजनीतिक गतिविधिमा सामेल हुनेहरू राजनीतिकर्मी भएकै कारण आफूलाई ‘विशेष’ ठान्छन् भने कैयन मानिस राजनीतिप्रति वितृष्णाको भाव राख्छन् र राजनीतिलाई घृणा गर्ने भएकै कारण तिनले आफूलाई ‘विशेष’ ठानिरहेका हुन्छन् । यसरी प्रत्येक मानिस आफू अरुहरू भन्दा भिन्न या विशेष हुनुको कारण आफैंभित्र खोज्छन्, निष्कर्षमा पुग्छन् र, त्यसैमा रमाइरहेका हुन्छन् । देखेका कुरा भन्ने मान्छेले जसरी आफू ‘खास’ हुनुको कारण आफ्नो स्वभावलाई ठानिरहेका हुन्छन्, देखेका कुरा पनि बोल्न नखोज्ने मानिस आफ्नो त्यस्तो स्वभावलाई नै सम्पत्ति ठान्छ र मनमनै आफैंसँग दङ्ग परिरहेको हुन्छ । तर, यसरी सबैले आफूलाई ‘विशेष’ ठान्ने गरेका भए पनि सबै मानिस विशेष होइनन् र, हुँदैनन् पनि ।
आममानिस बलमा ज्यादा विश्वास गर्छन् । जसको आफ्नै कुनै विशेष धारणा हुने गर्दैन, समूहको बेग-आवेग या संवेगलाई सही ठान्ने र, त्यसआधारमा धारणा बनाउने प्रवृत्ति आममानिसमा हुन्छ । यस्ता मानिस समूह या भिडको निर्णयलाई सही र जायज ठान्दछन्, कुनै पनि विषय-सन्दर्भमा स्वविवेकीय निर्णय लिन खोज्दैनन् ।
हरेक मानिस भोक, निद्रा, यौन, कलह (युयुत्सा) र आर्जनात्मक गुणसहित पैदा हुन्छन् भन्ने मान्यता मनोविज्ञानले राख्छ र, उल्लिखित पाँच जन्मजात प्रवृत्तिलाई आधार बनाएर हेरियो भने सबै मानिस समान हुन् भन्नुपर्ने हुन्छ । तर आधारभूत गुण एउटै भए पनि व्यक्तिको मौलिक स्वभाव, क्षमता, संस्कार, सङ्गत, सामाजिक परिवशेष तथा विषयवस्तुलाई ग्रहण गर्ने क्षमताले मानिसको बेग्लाबेग्लै काँटी र कोटी प्रमाणित गरिदिन्छ ।
प्राणीका अनेक प्रकार हुन्छन् र, नश्ल तथा उद्गमका आधारमा पनि प्राणीको किसिम छुट्टिन्छ । भूगोल, धर्म, संस्कृति, इतिहास, जाति, भाषा, भेष र देशका आधारमा मानिसको किसिम छुट्याउने आमप्रचलन छ । दार्शनिकहरूले समग्र प्राणीलाई तीन श्रेणीमा विभक्त गरेका छन् । पहिलो- प्राण मात्र भएको (वनस्पति), दोस्रो- प्राण र चेतना दुवै भएका (पन्छी तथा जनावर) र तेस्रो- प्राण तथा चेतनाका साथमा विवेकसमेत भएका (मानिस) भनेर तीन श्रेणीमा प्राणीको विभाजन गरिएको छ । मानिस आकारमा पैदा हुँदैमा कोही मानिसकै प्रकारका पनि हुन्छन् भन्ने कुरालाई तथ्यसम्मत ठहर गर्न सकिँदैन । मान्छेका आकारमा प्रकट भएकै आधारमा सबै विवेकी हुने र तिनका व्यवहार विवेकसम्मत हुन्थे भने संसारमा मानवसिर्जित हिंसा र आतङ्कको प्रादुर्भाव कसरी हुन सक्थ्यो ? सिङ्गो पृथ्वीका आधि प्राणीलाई पालनपोषण गर्न पुग्नेबराबरको बजेट रक्षा र सूरक्षाका नाममा विश्वका मुलुकहरूले वर्षेनी किन विनियोजन गर्नु पर्थ्यो ?
मानिसलाई अनेक मापदण्डका आधारमा वर्गीकृत या परिभाषित गर्न सकिन्छ, त्यस्तैमध्ये एउटा आधार देहसुखमा केन्द्रीत र चैतन्य गुणप्रधान पनि हो । देहको वशमा रहनेहरू जीवनभर आफ्नो भोजन, बास र आरामीको निम्ति ब्यग्र हुन्छन्, मैथुन क्रियालाई नै मनोरञ्जन र आनन्दको विषय ठान्छन्, यस्ता मानिस आफ्नो खुशीका निम्ति बाँकी जम्मैको खुशी हरण गर्न पनि हिच्किचाउँदैनन् । शरीरसुख बाहेकका विषयमा यस्ता ‘मानिस’हरूको चासो र चिन्ता रहँदैन । तर जो चेतनाको सचेत निर्देशनमा चल्छन्, तिनको सोच-व्यवहार र गन्तव्य बेग्लै हुन्छ, विवेकीय गुण पनि त्यहीँ प्रकट हुन्छ । हरेक मानिसमा आफूबाहेकका सबैलाई आममानिस ठान्ने मानसिकता रहन्छ । प्राध्यापक, लेखक, शिक्षक, पत्रकार, वकील लगायत ज्ञानजिवी हुन् या प्रतिभा ब्यवसायी कलाकार हुन् या प्रविधि र विज्ञान व्यवसायी हुन् या ‘राजनीति व्यवसायी’ सबैले आफूलाई आम मानिस ठान्न खोज्दैनन् । त्यसोभए आममानिस चाहिँ को हुन् र, नीति तथा विचार निर्माणमा तिनको भूमिका के-कस्तो हुन सक्छ ? लेखमा यस्तै प्रश्नको जवााफ खोज्ने प्रयास गरिएको छ ।
संसारमा ‘विशेष मान्छे’का गुण, स्वभाव शैली, प्रवृत्ति, चरित्र र व्यवहारका विश्लेषण गर्दै अनेकौँ लेख, पुस्तक तथा अन्य सन्दर्भ-सामाग्री प्रकाशित भएका छन् । तर आममानिसको विशेषताका बारेमा लेखिएको सितिमिति भेटिँदैन । ‘महान्’ सिद्ध हुन पुगेका कुनै व्यक्तिविशेषमा निश्चित गुण भएजस्तै आममानिसका पनि खास विशेषता हुन्छन् । क्याम्ब्रिज डिक्सनरीले कुनै खास सङ्घ-संस्थामा आवद्ध नरहेका अथवा कुनै खास किसिमको ज्ञान नभएका (Ordinary People, Specially all the people who are not members of a particular organization or who do not have any special tipe of knowledge) लाई आममानिसका रूपमा परिभाषित गरेको छ । कतिपयले सार्वजनिक चासोका क्षेत्रमा कुनै प्रकारले योगदान पुऱ्याउन नखोज्ने-नसक्नेलाई आममानिसका रूपमा ब्याख्या गर्ने गरेको पनि पाइन्छ । तर आममानिसका पनि केही खास विशेषता हुन्छन् भन्ने तथ्यलाई हामीले बुझ्न सक्नुपर्छ, यहाँ आममानिसका विशेषताबारे चर्चा गर्नु उपयुक्त ठानिएको छ ।
जहाँ आममानिसको सङ्ख्या ज्यादा रहन्छ त्यस्तो मुलुकमा न व्यवहारतः कानूनी राज स्थापित हुन सक्छ न विवेकसम्मत व्यवहार नै प्रस्तुत हुने गर्छ । समृद्ध मुलुकले अवलम्बन गरेको उन्नत स्तरको प्रजातान्त्रिक विधि-व्यवहार अपनाइए पनि आमचेतका मानिसको बाहुल्य भएको मुलुक सकारात्मक परिणाम हाशील गर्न असमर्थ रहन्छ ।
(क) आत्मविश्वासको कमी :
आम मानिसमा प्रष्ट देखिने पहिलो विशेषता आत्मविश्वासको न्यूनता र, आत्मविश्वास कमजोर भएकैले स्वनिर्णय क्षमताको अभाव हो । कुनै पनि विषयमा आफू एक्लैले निर्णय लिन यस्ता मानिसलाई ठूलो सकस पर्छ । कुन धाराको पानी पिउनेदेखि कुन बाटो हिँड्ने र जीवनमा आइपर्ने झिना-मसिना समस्याहरूको समाधान निम्ति के गर्ने भन्नेसम्मका यावत विषयहरूमा एक पटक अरु कसैसँग सोधेर मात्र यस्ता मानिसहरू निर्णयमा पुग्ने गर्दछन् । औपचारिक शिक्षा प्राप्त मानिससमेतमा यस प्रकार निर्णय लिने क्षमताको अभाव र आत्मविश्वासको कमी देखिन्छ भने हामीले बुझ्नुपर्छ- यी आममानिसको कोटिमा पर्दछन् ।
(ख) जीवन लक्ष्यको सीमितता :
समाजमा अनेक प्रकारका मानिसको जन्म र बसोबास हुने गर्छ, यो अस्वाभाविक होइन । यीमध्ये सबै मानिसको लक्ष्य एकै स्तरको हुने गर्दैन । कोही ठूला उद्यमी, धनी, नामी, समाजसेवी, व्यावसायी, कलाकार, वैज्ञानिक, प्राज्ञ, पत्रकार वकील आदि बन्ने उद्देश्यका साथ क्रियाशील रहन्छन् र, यस्ता मानिसको समस्याका दायरा र समाधानका तरिका भिन्न हुन्छन् । तर आममानिस दैनिक जीवन निर्वाहको सोचभन्दा माथी उठ्न खोज्दैनन् । सजिलै भोजन र बासको प्राप्ति गर्ने, यौन इच्छा पूरा गर्ने, बच्चा जन्माउने, हुर्काउने, विवाह गर्ने-गराउने, नाति नातिनाको मुख हेर्ने, वृद्धभत्ता बुझ्ने र मर्नेबाहेक यस प्रकारका मानिसमा अर्को कुनै पृथक र विशेष लक्ष्य हुने गर्दैन ।
(ग) जोखिम (Risk) उठाउन नसक्ने :
आममानिसमा हुने अर्को मूख्य विशेषता भनेको जोखिम उठाउने क्षमताको अभाव हो । जीवनमा खोला तर्नेदेखि, कसैलाई विश्वास र सहयोग गर्नेसम्मका कुनै पनि कार्यमा जोखिम उठाउन यस्ता मानिस चाहँदैनन् । मन दुःख्ने, शरीरमा कुनै प्रकारको कष्ट पैदा हुने, न्याय दिने या अन्याय गर्ने, आफ्नो दैनिक आम्दानीको श्रोत बढाउने या घटाउने, आफूले लिने कुनै निर्णयबाट अरु कसैलाई सहयोग पुग्ने या असहयोग हुने जस्ता विषयमा निर्णय लिन जो मानिस हिच्किचाउँछ उसलाई आममानिसका रूपमा बुझ्न सकिन्छ । शिक्षित व्यक्ति भए पनि उल्लिखित स्वभाव-चरित्र छ भने त्यस्ता मानिसलाई ‘आम’ ठान्नुपर्छ । यस्तो श्रेणीका मानिसबाट देश, समाज या परवारकै उन्नतिका निम्ति ठोस योगदान पुग्ने कुनै कार्य हुन सक्दैन । आफ्नो ज्यान पाल्न सक्नु नै त्यस्ता मानिसको जीवनमा महत्वपूर्ण कार्य हुने गर्छ । अन्य कसैले कुनै सहयोगको याचना गरे भने यिनीहरू सशङ्कित र त्रसित बन्छन् । कतै आफू या आफ्ना परिवारले दुःख पाउने हुन् कि भन्ने भाव यिनमा ज्यादा पैदा हुने गर्छ र, साना-साना निर्णय लिन पनि पन्छिन खोज्ने प्रवृत्ति यस्ता मानिसमा रहन्छ ।
(घ) आफूकेन्द्रित सोच-व्यवहार :
आममानिसमा अरुहरूलाई सहयोग पुऱ्याउने सोच सामान्यतया हुने गर्दैन । यदि कसैमा अन्यको दुःखमा मन खोलेर सहयोग पुऱ्याउने गुण हुन्छ भने त्यस्ता व्यक्ति आममानिसको कोटिमा पर्दैनन् । आममानिसका हरेक क्रियाकलाप आफूकेन्द्रित हुने गर्दछन् । देश, समाज, प्रकृति र पर्यावरणभन्दा आफ्नो हितलाई ज्यादा महत्व दिने सोच, संस्कार र प्रवृत्ति आममानिसमा हुने गर्छ । सधैं आफ्नै वरिपरि रमाउने, आफ्नो चित्तको वरिपरि मात्र घुमिरहने, देश, समाज र प्रकृतिसँग खासै सरोकार नराख्ने, विगत बिर्सने, वर्तमानमै अल्मलिने र भविष्यप्रति बेसरोकार रहने गुण या स्वभाव कसैमा छ भने ती आममानिस हुन् भनेर बुझ्नुपर्ने हुन्छ ।
(ङ) ज्यादा परिनिर्भरताको प्रवृत्ति :
आममानिसमा देखिने एउटा चरित्र ज्यादा परनिर्भताको हो । आफ्नो एकल निर्णयबाट केही गर्ने आँट र क्षमता यस्ता मानिसमा हुने गर्दैन । आफ्नो विशिष्टता स्थापित गर्ने सचेत चेत त यो कोटिका मानिसमा हुँदै हुन्न । आफूले अरुलाई कहिल्यै केही गर्न नपरोस्, तर अरुबाट चाहिँ आफूलाई जहिले पनि साथ-सहयोग भइरहनुपर्छ भन्ने सोच यस्ता मानिसमा हुने गर्छ ।
जुन मुलुकका अधिकाङ्श बासिन्दा विवेकसम्मत व्यवहार गर्न सक्दैनन् या खोज्दैनन्, त्यस्तो मुलकुमा उत्कृष्ट राजनीतिक प्रणाली पनि ‘बाँदरको हातमा नरिवल’ हुन पुग्छ । योग्य मानिस उम्मेदवार बन्ने स्थिति नरहने, को योग्य र को अयोग्य उम्मेदवार हो त्यसलाई विशिष्टीकृत गरेर मतदान गर्नसमेत नखोज्ने-नसक्ने मतदाता भएका मुलुकमा उन्नत स्तरको प्रजातान्त्रिक प्रणाली पनि बोझ र ‘ब्यर्थ’ प्रणाली हुन्छ, त्यसबाट कुनै सकारात्मक परिणाम उपलब्ध हुन सक्दैन ।
(च) विवेक प्रयोग गर्न नसक्ने :
मानिसलाई अन्य प्राणीहरू भन्दा भिन्न ठानिनुको कारण शारीरिक संरचना मात्र होइन, विवेकीय गुण-क्षमताका आधारमा त्यसको प्रयोग समेत गर्ने हुनाले मानिसलाई अन्य पशुपन्छी या जीवभन्दा भिन्न, विशेष र उत्कृष्ट ठानिएको हो । तर आममानिसमा विवेक प्रयोगको क्षमता अत्यन्त न्यून रहन्छ । विवेकीय क्षमता या त्यस्तो चेतको प्रयोग कुनै विश्वविद्यालयको डिग्री या कुनै पनि स्तरको उच्च शिक्षाबाट हाशील हुने विषय होइन । व्यक्तिमा स्वतः अङ्कुरित हुने गुण हो यो । आममानिस बलमा ज्यादा विश्वास गर्छन् । जसको आफ्नै कुनै विशेष धारणा हुने गर्दैन, समूहको बेग-आवेग या संवेगलाई सही ठान्ने र, त्यसआधारमा धारणा बनाउने प्रवृत्ति आममानिसमा हुन्छ । यस्ता मानिस समूह या भिडको निर्णयलाई सही र जायज ठान्दछन्, कुनै पनि विषय-सन्दर्भमा स्वविवेकीय निर्णय लिन खोज्दैनन् । वास्तवमा यो कोटिका मानिसमा विवेकीय क्षमताको अभाव नै रहन्छ । त्यसैले यस्ता मानिस आफ्नो मौलिक एवम् विवेकसम्मत धारणा बनाउँदैनन् र धारणा प्रकट पनि गर्दैनन्, अरुले बनाएको आमधारणालाई नै सापटी लिएर प्रस्तुत हुने यिनको विशेषता हुन्छ । कुनै कुरा आफूलाई सही या गलत भएको विश्वास भए पनि यस्ता मानिस आफूलाई लागेको कुरा जस्ताको त्यस्तै प्रकट गर्न खोज्दैनन् । बरु आमधारणा गलत नै छ भने पनि त्यसैका पछि लाग्नुलाई उचित ठान्छन् र त्यसैमा आफ्नो भलो देख्छन् ।
(छ) दूरदर्शिताको अभाव :
आममानिसमा समाज या राष्ट्र कल्याणको ब्यापक दृष्टिकोण नरहने मात्र होइन, कुन निर्णयले सुन्दर भविष्यको सुनिश्चितता दिन सक्छ भन्ने विषयमा सामान्य चेत पनि यिनमा रहँदैन । सचेत चेतनाले वर्तमानमा रमाउन प्रेरित गर्छ, तर आममानिस सचेत नभइ अचेत गुण-स्वभावका कारण वर्तमानप्रति मात्र चिन्ता र सरोकार राख्ने प्रकृतिका हुन्छन् । नेपालको विकास संरचना दश वर्ष नबित्दै फेरबदल गर्नुपर्ने अवस्थामा पुग्नु या सडक कालोपत्रे भएको साता नबित्दै ढल बनाउने या तार बिछ्याउने जस्ता कारण देखाउँदै सडक भत्काउने जुन दृष्य हामी देख्यौँ, त्यो अदूरदर्शिताकै सङ्केत हो । निजी या सार्वजनिक, जुनसुकै पदीय भूमिकामा भए पनि आममानिसमा ‘भोलि’ देख्ने क्षमताको सख्त अभाव रहन्छ ।
संसारका अधिकांश मुलुकमा आममानिसको बाहुल्य रहन्छ, यो वर्तमानको सत्य हो । विश्वका केही समृद्ध देशहरूलाई आममानिसको सङ्ख्या न्यूनीकरण गर्ने सफलता मिलेको हुँदा त्यहाँ कानूनको पालना र सभ्य व्यवहारको अभ्यास उच्च देखिन्छ । तर दक्षिण अमेरिका, अफ्रिका र एशियाका अधिकाङ्श देशहरूमा आममानिसको सङ्ख्या अधिक भएको महसूस गरिन्छ । जहाँ आममानिसको सङ्ख्या ज्यादा रहन्छ त्यस्तो मुलुकमा न व्यवहारतः कानूनी राज स्थापित हुन सक्छ न विवेकसम्मत व्यवहार नै प्रस्तुत हुने गर्छ । समृद्ध मुलुकले अवलम्बन गरेको उन्नत स्तरको प्रजातान्त्रिक विधि-व्यवहार अपनाइए पनि आमचेतका मानिसको बाहुल्य भएको मुलुक सकारात्मक परिणाम हाशील गर्न असमर्थ रहन्छ । जुन मुलुकका अधिकाङ्श बासिन्दा विवेकसम्मत व्यवहार गर्न सक्दैनन् या खोज्दैनन्, त्यस्तो मुलकुमा उत्कृष्ट राजनीतिक प्रणाली पनि ‘बाँदरको हातमा नरिवल’ हुन पुग्छ । योग्य मानिस उम्मेदवार बन्ने स्थिति नरहने, को योग्य र को अयोग्य उम्मेदवार हो त्यसलाई विशिष्टीकृत गरेर मतदान गर्नसमेत नखोज्ने-नसक्ने मतदाता भएका मुलुकमा उन्नत स्तरको प्रजातान्त्रिक प्रणाली पनि बोझ र ‘ब्यर्थ’ प्रणाली हुन्छ, त्यसबाट कुनै सकारात्मक परिणाम उपलब्ध हुन सक्दैन ।
सामान्यतया स्वभाव, कर्म र कार्य परिणामका आधारमा मानिसलाई वर्गिकृत गर्नु उपयुक्त हुने ठानिन्छ । जो पशुवृत्तिसँग जति निकटस्थ देखिन्छन् ती आममानिस हुन् । अर्काको जिन्दगीलाई भन्दा आफ्नो पेटलाई महत्व दिने, मैथुन कर्ममा रमाउने र त्यसैमा मात्र रमाइरहने, आफूजस्तै अन्य प्राणीका प्रति बेपर्वाह रहने, बच्चा जन्माउने, हुर्काउने र मर्ने कुरामा सीमित प्राणीलाई पशु भनिन्छ, जो जन्मजात प्रत्येय र गुणका आधारमा बाँच्छन् र मर्छन् ।
असल, योग्य र पशुप्राणी तहभन्दा माथि उठेका मानिस जस्तोसुकै विचार समूहका हुन् या जुनसुकै पृष्ठभूमिका किन नहुन्, निर्णायक तहमा पुग्दा तिनले देश र समाजका लागि राम्रै योगदान गरेका छन् । गलत या अयोग्य मानिस लाखौं मतान्तरले विजयी भएर सत्तामा पुगेका भए पनि तिनले गलतबाहेक एउटै सही निर्णय नलिएका अनेक दृष्टान्त र नजीर विश्व इतिहासमा अङ्कित छन् । आधुनिक विश्वका राज्यहरूले जीवजन्तु, पशुपन्छी, वनस्पति र समग्र प्रकृतिको संरक्षण गर्ने कानून, नियम र नीति बनाएर कार्यान्वयनमा ल्याएका छन् । वनस्पति, पशु या पन्छीले संसद् या सरकारमा सहभागी भएर तिनले आफ्नो हितमा कानून नियम बनाएका होइनन् । योग्य, असल र विवेकी मानिसको दूरदर्शिताको परिणामस्वरुप पिछडिएका समुदाय, जनावर, पन्छी, खोलानाला र समग्र प्रकृतिका पक्षमा नियमकानून बनेका या तदनुरुप व्यवहार राज्यबाट भएका हुन् । त्यसैले एक पटक हामी सबैले आफैंसँग प्रश्न गरौँ- ‘बहु विचारबाट राज्य सञ्चालन गर्नु उपयुक्त हो या सही विचारबाट ?’
आममानिस सत्ताको उच्च तहमा पुगे पनि उसको चरित्र, व्यवहार र कार्य परिणाम विशेष नभइ आम नै हुन्छ । ‘खास’ मानिस आम भूमिकामै सीमित रहँदा पनि ‘विशेष’ देखिन्छ । सामान्यतया स्वभाव, कर्म र कार्य परिणामका आधारमा मानिसलाई वर्गिकृत गर्नु उपयुक्त हुने ठानिन्छ । जो पशुवृत्तिसँग जति निकटस्थ देखिन्छन् ती आममानिस हुन् । अर्काको जिन्दगीलाई भन्दा आफ्नो पेटलाई महत्व दिने, मैथुन कर्ममा रमाउने र त्यसैमा मात्र रमाइरहने, आफूजस्तै अन्य प्राणीका प्रति बेपर्वाह रहने, बच्चा जन्माउने, हुर्काउने र मर्ने कुरामा सीमित प्राणीलाई पशु भनिन्छ, जो जन्मजात प्रत्येय र गुणका आधारमा बाँच्छन् र मर्छन् । आकार ठ्याक्कै मानिसको भए पनि प्रकार प्राणीवत हुनेलाई आममानिस भनियो भने त्यो पूरै गलत हुने छैन । प्राणीकामभन्दा माथि उठेकालाई मात्र आफू ‘खास’ मानिस भएको दाबी गर्ने अधिकार रहन्छ । ‘आम’ मानिसबाट ‘खास’ योगदानको अपेक्षा गर्नु भनेको आफैंलाई धोखामा राख्नु हो, जुन हामी नेपालीले दशकौँदेखि ब्यहोर्दै आएका छौँ । बहुविचार भन्नाले सामान्यतया आमविचार हो । आममानिसको हित र भावनालाई सम्बोधन गर्न सक्ने, प्रकृति, वनस्पति, पर्यावरण र पशुपन्छीको समेत कल्याण गर्ने अवधारणा नै सही विचार हो । बहुविचारले देशलाई जुन ठाउँमा ल्याइपुऱ्याएको छ, यो आफैंले ‘सही विचार’को प्रतीक्षा गरिरहेको अनुभूति गराउँदैछ, जय मातृभूमि ।
प्रतिक्रिया