बुढानिलकण्ठको खल्लो चिया !

बुढानिलकण्ठको खल्लो चिया !


  • ज्ञानमणि भुर्तेल

०४४/४५ सालतिरको कुरो हुनुपर्छ, तिथिमिती त ठ्याक्कै थाहा भएन तर खर्बुजाको सिजन चैँ याद छ !

उत्तर डागीबारी तिरबाट एकोहोरो शंखध्वनीका साथ आएको शवयात्रा देखेपछि चौबाटोमा निस्केर सोधेँ- ‘को हो भाइ ?’

‘दाहाल्नी आमै !’- कसैले बतायो ।

दौडिँदै घरमा आएर सुनाएँ– ‘दिदी बित्नुभएछ, मलामी जानुपर्ने भो !’

भाइले सम्झायो- ‘अनि गाई चैँ कस्ले दुहुने नि ?’

हो त ! एकहाते गाई ! मबाहेक कसैलाई हात लाउन नदिने ।

हत्तपत्त गाई दोइसकेर लुङ्गी स्याहार्दै कुदेँ मेची बगरतिर । सङ्गमचोकमा मलामी समुह भेटेपछि मेरो नजरले भान्जाहरु खोज्यो । छेउमा पुगेर सँगसँगै हिँड्न थालेँ । बोली फुटेन । मेची बगर पुगेपछि कोही चिता तयारीमा लागे कोही आ-आफ्नै गफको सुरमा मस्त ! म भान्जाहरुको छेउमा मलिन अनुहार लाएर बसेको छु ।

‘यस्तै हो भान्जा.. सबैले ढिलो-चाँडो भोग्नै पर्ने नियति ! मैले त निकै अघि भोगेको हो ! चित्त बुझाउनुपर्छ.. ‘ आदि-इत्यादि !! किल्किलेसम्म आइसकेका शब्दसमेत मुखबाट निस्किन भने सकेन ।

भान्जाहरुमा मातृवियोगको जुन स्वाभाविक पीडा देखिनु पर्थ्यो, त्यो थिएन । सामान्य थिए उनीहरु !!

सोचेँ- ‘उमेर पुगेर बितेकी बिरामी आमाको मुक्तिमा चित्त बुझाएका होलान् ! मन थामेका होलान !!’

चिता तयार भो । दागबत्ती दिने बेलामा सबै चिताको वरिपरि भेला भए । म पनि नजिकै पुगेँ । ताज्जुब .. ! त्यसबेला भो जब दागबत्ती दिन त मोहन दाहाल पो अघि बढे !!

दाल्हानीआमै त मेरी दिदी नभएर मोहन दाहालको आमा पो हुनुहुँदोरैछ ! म बिरालाको चालमा पछि सरेर अलि पर गएर झोक्राउँदै सोच्न थालेँ- ‘धन्न किल्किलेमा आइसकेको शब्द थुतुनोमा आएनछ ! छ्या… के गति हुन्थ्यो होला मेरो ?!’

निधन भएकी दाहाल्नी आमै आफ्नी दिदी नभएको पुष्टि भएपछि केही बेरअघिको मेरो मलिन अनुहारमा परिवर्तन आयो । अहिले सम्झिँदा लाग्छ- मान्छे कति अविवेकी हुँदोरहेछ ! केही बेरअघिसम्मको मेरो भावुकता खै ? आखिर मेरी दिदी नभए पनि छिमेकी दाइकै आमालाई त चिताले निल्दै थियो नि ! आफैंसँग मनमनै लाज पनि लाग्यो । कता-कता घिनमिश्रित हाँसो पनि थियो ।

चिता जल्दै थियो मलामी आफ्नै सुरतालमा मस्त थिए । चापागाईं बाजेले मलामीले खाएको खर्बुजाको सबै पैसा आफुले तिरिदिने उर्दी जारी गरेपछि अधिकांश मलामी खर्बुजाबारीलाई अशोक बाटिका मान्दै आफू हनुमान हुनमै मस्त थिए ! उनिहरु मलामी भए तापनि जन्तीको भुमिकामा ब्यस्त थिए !! फर्किंदा मलामी ख्वाउने रितअनुसार महाराजीको होटलमा चिया-नास्ता गरेर मलामी बिदा भए । घरमा आएर सबै कथा सुनाएँ । केहिबेर सबै हाँसियो । सकियो !!!

०००

उखान अन्कल बुढानिलकण्ठ पुग्नुभो । माकुने टोलतिरबाट एकोहोरो शंखध्वनिको आवाज सुनेपछि सोध्नु भो- ‘को हो ?’

‘काङ्ग्रेस !!’ कसैले बताइदियो ।

किल्किले नभएको थुतुनो ! आफैंले व्यापक प्रचार गर्नुभो काङ्ग्रेस बित्यो भनेर ! दौरा स्याहार्दै कुद्नुभो काङ्ग्रेसको मलामी !! बच्चैदेखि तित्राझैँ चल्ने थुतुनो निरन्तर चलिरह्यो !! काङ्ग्रेस मऱ्यो, सक्कियो, बित्यो… के मात्रै भन्नुभएन ?

तर जब बुढानिलकण्ठमा मन्द मुस्कानका साथ देउवा देखा पर्नुभो, सँगसँगै जिवित काङ्ग्रेस पनि.., उखान अन्कल जिल पर्नुभो ! आफैंले मऱ्यो भनेर प्रचार गरेको काङ्ग्रेस त जिवितै छ !!चाहेको खण्डमा आफैंलाई बोक्न सक्षम तन्दुरुस्त !! पछि फर्केर एकपाखे थापातिर ‘के हो ?’ को भावमा हेर्नुभो ! थापाजी उखान अन्कलको कानमा फुस्फुसाउनु भो- ‘काङ्ग्रेस हैन एमाले पो मरेको भन्या हो त !

‘अनि तिमीले यो जानकारी पहिले किन नदिएको त मलाई ?’- उखान अन्कल हल्का आक्रोशित हुनु भो !

‘दिन खोजेको त हो नि ! मैले ‘एमाले’ भनेको तपाईं ‘काङ्ग्रेस’ सुन्दै बुर्कुसी मार्दै थुतुनो चलाउन थालिहाल्नु भो ! अनि मैले के गर्नु त ?’

‘तिमेर्ले रोक्नुपर्ने हैन मलाई ? मैले बुर्कुसी मार्दा तिमेरु पनि मेरै पछि ताली बजाउँदै कुद्नुपर्छ त ? मलाई सही सल्लाह दिनुपर्दैन ?’

‘तपाईं कसैको सल्लाह मान्ने हो र सल्लाह दिनु ? तपाईं उफ्रिँदै कुदेपछि हामी पनि कुद्नु परिगो नि ! चम्चाको काम त औंलाले जता नचाउँछ उतै नाच्ने त हो नि !

उखान अन्कल केही बोल्नुभएन । देउवासँग केहीबेर गन्थन गरेर बिताउनुभो । भित्रबाट कालो चिया आयो । दङ्ग पर्दै सुरुप्प पार्नु भो । मुख बिगार्नुभो । फेरि खिस्स हाँस्नुभो । चिनीबिनाको चिया ! चिया खाइसकेर मुसुक्क मुस्काउँदै बिदा माग्नु र, भन्नुभो- ‘कति स्वादिलो चिया ? सारै आनन्द आयो !’

०००

मलाई ४४/४५ सालको मलामी यात्रा सम्झना भो । सम्झेर अहिले पनि लाज लाग्यो ! उखान अन्कललाई कहिले लाग्ने होला ?
तपाईंहरुलाई त पक्कै लागिसक्यो होला ! हैन त ??