‘लोक सेवाकै लागि जन्मिएका व्यक्ति’ नियुक्तिका लागि सिफारिश भएपछि…

‘लोक सेवाकै लागि जन्मिएका व्यक्ति’ नियुक्तिका लागि सिफारिश भएपछि…



‘लोक सेवाकै लागि जन्मिएका’ मानिने मानिसलाई संवैधानिक परिषदले लोक सेवा आयोगको प्रमुखमा नियुक्तिको सिफारिश गर्नुलाई रोचक संयोग मानिएको छ ।

लोक सेवा आयोगको अधिकृत भएर पाँच वर्ष, सहायक सचिवका रूपमा एक वर्ष, उपसचिवको हैसियतमा डेढ वर्ष र सचिवका रूपमा ६ महिना काम गरेपछि उहाँ अर्थात् माधवप्रसाद रेग्मीलाई लोक सेवाकै निम्ति जन्मिएका मानिस भन्ने गरिन्थ्यो । कानूनमा दुई स्वर्ण पदक विजेता रेग्मीले प्रथम श्रेणीमा एमपीए गर्नुभएको छ । बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट प्रशासनिक व्यवस्थापनमा पोष्ट ग्य्राजुएट गर्नुभएका उहाँले राजनीति शास्त्रमा पनि स्नातकोत्तर गर्नुभएको छ ।

सरकारी सेवामा छत्तीस वर्षभन्दा बढी सेवा गर्नुभएका रेग्मीले सचिवका रूपमा मध्यमाञ्चल क्षेत्रिय प्रशासक र सतर्कता केन्द्रको प्रमुख भएर पनि काम गर्नुभएको थियो । सेना समायोजनको समयमा रक्षा मन्त्रालयको सचिव भइ काम गर्नुभएका उहाँले वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंचाइँ मन्त्रालय, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिवका रूपमा पनि सफलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो ।

खरिदार पदमा लोक सेवाको परीक्षा उत्तीर्ण भएर सरकारी सेवामा प्रवेश गर्नुहुने रेग्मीले विभिन्न तहका सात वटा परीक्षा दिएर सबैमा पहिलो पटक नै सफलता हासिल गर्नुभएको थियो । उनन्चास वर्षमा सचिव भएर चवन्न वर्षकै उमेरमा अवकाश प्राप्त भइसकेपछि पनि माधव रेग्मी कुनै न कुनै किसिमले सरकारी सेवासँग जोडिँदै आउनुभएको थियो ।

प्रशासन सुधारका निम्ति सात दशकभित्र सरकारी स्तरमा गठित अनेकौँ समितिद्वारा तयार पारिएका एकाउन्न प्रतिवेदनहरूको अध्ययन गरी उनन्चास महत्वपूर्ण सुझाव दिने कार्य पनि उहाँबाट भएको थियो । संघीय प्रशासन मन्त्रालयले प्रतिवेदनहरूको अध्ययन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी रेग्मीलाई दिएको थियो ।

उच्चस्तरीय सङ्घीय प्रशासन पुनर्संरचना समितिअन्तर्गत गठित कार्यान्वयन समितिमा बसेर पनि उहाँले काम गर्नुभएको थियो । प्रशासनिक सुधारकै क्षेत्रमा रेग्मीले एक समय युरोपियन युनियनको कन्सल्टेन्ट भएरसमेत आफ्नो जिम्मेवारी पूरा गर्नुभएको थियो । राष्ट्रिय सूरक्षा नीतिअन्तर्गतको प्रतिरक्षा नीति तर्जुमा गर्न उहाँले मूख्य भूमिका निर्वाह गर्नुभएको जानिफकारहरू बताउँछन् ।

यिनै अनुभव, ज्ञान र क्षमताका आधारमा संवैधानिक परिषद्ले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षतामा नियुक्तिका निम्ति सिफारिश गरेको बुझिन्छ । तर एकथरी मानिस जो रेग्मीलाई चिन्दैनन्, उनीहरूले चाहिँ नियुक्ति सिफारिशलाई लिएर अनेक अवाञ्छित टिप्पणी गरेको पाइएको छ ।