नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु

नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु



नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु भएको छ । लैङ्गिक समानताका लागि भारतका सुनिल जङ्गलानद्वारा थालिएको सो अभियान भर्चुअल कार्यक्रम मार्फत नेपालमा पनि शुरु भएको हो ।

महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूल मर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन भारत र नेपाल इन्टरनेट फाउण्डेसनद्वारा भर्चुअल कार्यक्रम आयोजना गरी मङ्गलबारबाट नेपालमा सञ्चालन भएको हो ।

कार्यक्रममा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलसहित दुवै देशबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडीलगायतका माहिलालाई दमन गर्ने प्रथाहरु भइरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने धारणा राखे । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले यो अभियानलाई पूर्ण रुपले सहयोग गर्ने बताए । अभियन्ता जङ्गलानाले यो अभियानले गर्दा भारतको हरियाणादेखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको जानकारी दिए ।

कार्यक्रममा बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो ।

अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैङ्गिक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

यसमा जो-कोहीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् जसलाई अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा पुरस्कृत गरिने बताइएको छ । यसमा सहभागी हुन छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर राख्नुपर्नेछ ।