‘भेण्टिलेर, एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनु’

‘भेण्टिलेर, एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनु’



कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च रहेको दाबी गरिएको छ । दक्ष स्वास्थ्यकर्मी, आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको सो अस्पताल व्यवस्थालपन पक्षको जिकिर छ ।

अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौं, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन, कास्की, बाँके, मुगु, डोटी र कैलालीलगायत जिल्लाका सङ्क्रमित उपचाररत छन् । महँगो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौंसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनका चरम अभाव हुन थालेपछि सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जाने क्रम जारी छ ।

अहिले भर्ना भएका सङ्क्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ । शनिबार मात्र जनता बैँकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उनकी पत्नी पवित्रा ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना भएका अस्पतालले जानकारी दिएको छ ।

बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि अतिआवश्यक पर्ने भेन्टिलेटर, एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ ।’ अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० श्यया सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । ‘महामारीसँग जुध्न ‘ऱ्यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक पऱ्यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ’, कार्यकारी निर्देशक प्रसाईंले भनेका छन् । विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका अस्पतालले जनाएको छ ।

स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग

विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईंले स्वास्थ्य स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न उनले आह्वान गरेका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापि स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ।’

कार्यकारी निर्देशक प्रसाईंले सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ प्रयास गरिरहेको र राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्न आफू तयार रहेको विज्ञप्तिमा जनाएका छन् ।

उनले भनेका छन्, ,’विपद्का समयमा राज्यले के दियो र के गऱ्यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो, यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिनँ, आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।’

अस्पताल व्यवस्थापनलाई उद्धृत गर्दै राससले जनाएअनुसार सो अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०÷७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौं आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईंले भनेका छन्, ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी÷एमएससमेत अध्यापन गराउन सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।’ ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ । स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व पाउने जनाइएको छ ।