कोभिड-१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनोतीपूर्ण रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले केही हप्ता अझै पनि चुनोतीपूर्ण रहने भएकोले सबै संयमित र सहयोगी भइ ऐक्यबद्धताका साथ काम गर्नुपर्ने बताएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाइँमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको स्पष्ट पारे । उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएकोले सङ्क्रमण बढिरहेको मन्त्रालयका तर्फबाट डा. अधिकारीको तर्क छ । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरेको छ । निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमी आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने सहप्रवक्ता अधिकारीले बताए ।
जनजीवनमा कठिनाइ पर्न गए पनि हामीसँग संक्रमण रोकथाम, नियन्त्रण, तयारी, सहकार्य समन्वय आदिका लागि गरिएको निषेधज्ञाको अझै पनि बुझी नबुझी लुकीछिपीवा खुल्मखुल्ला उल्लङ्घन भइरहेको देखिन्छ भन्दै मनत्रालयको सूचनामा कोरोना भाइरसविरुद्धको लडाइँ मन्त्रालय एक्लैको नभई सबैको भएको र यसको रोकथाम, उपचार र नियन्त्रणमा सबैको सहयोग हुनुपर्ने भनिएको छ ।
मोरङ, काठमाडौं, रुपन्देही, काभ्रे, ललितपुर, भक्तपुर, मोरङ, कैलाली, कास्की, बाँके, दाङ, चितवन, सुर्खेत, झापा, कन्चनपुर, मकवानपुर, धनुषा, सुनसरी, पर्सा, बर्दिया र पाल्पा बढी सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार मात्र नेपालमा नौ हजार २४७ जना सङ्क्रमित, २१४ को निधन र पाँच हजार ७६७ निको भइ घर फर्किएका छन् ।
प्रतिक्रिया