- बबिता बस्नेत

कुनै पनि युद्धमा अग्रपङ्क्तिमा रहेका योद्धाहरू ढले भने के हुन्छ ? निश्चित छ- ठुलो क्षति हुन्छ, शत्रुले युद्ध जित्छ । महाभारतको युद्धमा पाण्डवको पक्षबाट अग्रपङ्क्तिमा लड्ने धृष्टद्युम्न, भीम, अर्जुनहरू सुरुमै घाइते भएका भए के हुन्थ्यो होला ? युद्धमा पाण्डवको तर्फबाट युद्ध कमाण्डर नियुक्त भएपछि धृष्टद्युम्नले सकेसम्म आफ्ना सिपाहीहरूलाई बचाउने रणनीति लिएका थिए भनिन्छ । यद्यपि युद्धमा सबै रणनीतिले जस्ताको तस्तै काम गर्छ भन्ने हुँदैन । अहिले हामीकहाँ चलिरहेको कोरोना भाइरस युद्धका ‘फ्रन्टलाइनर्स’हरूलाई कसरी जोगाउने ? यो विषयमा युद्ध-कमाण्डरहरूको रणनीति के छ ? खासै चर्चा र तयारी गरिएको देखिँदैन । कुनै पनि युद्धमा अरुलाई पराजित गराउनुसँगै आफू बाँच्नु महत्वपूर्ण हुन्छ । आफ्ना सिपाहीहरूलाई बचाउनु कमाण्डरको दायित्व हो ।
अहिलेसम्म भएका विभिन्न युद्धमा लड्नेहरूका लागि सहज के थियो भने आफ्नो शत्रु को हुन् ? ती कत्तिको बलिया छन् ? भन्ने थाहा हुन्थ्यो । तर कोरोना भाइरस युद्धमा लड्ने योद्धाहरूलाई आफ्नो शत्रु कति बलियो छ ? त्यो कहाँ छ ? कतिबेला कताबाट आक्रमण गर्छ भन्ने थाहा छैन, थाहा पाउने अवस्था छैन । र, साथमा आवश्यक हतियार पनि छैन । हतियारबिनाको युद्ध कस्तो होला ? अस्पतालहरूमा औषधि र अक्सिजनको अभाव हुन थालेपछि कोरोनासँगको लडाइँ अहिले हतियारबिनाको युद्धजस्तो भएको छ ।
योद्धाहरूले बचाउने प्रयास गर्दागर्दै पनि कोरोना-युद्धमा प्रत्येक दिन मुलुकमा ठुलो सङ्ख्यामा मानिसको ज्यान गइरहेको छ । सर्वसाधारणको जीवनसँगै अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूको जीवन थप जोखिमपूर्ण अवस्थामा छ । कोरोनासंक्रमतिसँग प्रत्यक्ष संसर्ग तथा निकट रहेर काम गर्नु परेका कारण उनीहरूको जीवन थप जोखिममा परेको हो । मुलतः शत्रुसँग अग्रपङ्क्तिमा लडाइँ गर्नेहरू फ्रन्टलाइनर्स हुन् । अन्य युद्धमा प्रायः सुरक्षाकर्मी र युद्धको रिपोर्टिङ गर्ने पत्रकार ‘फ्रन्टलाइनर्स’ हुने गरे पनि कोरोना-युद्धका प्रमुख फ्रन्टलाइनर्स स्वास्थ्यकर्मी हुन् । डाक्टर, नर्ससँगै अस्पतालमा रहेर काम गर्ने अन्य कर्मचारी, एम्बुलेन्स चालक, लाशको ब्यवस्थापन गर्ने सेना, सम्बन्धित काममा खटिएका सुरक्षाकर्मी र पत्रकार अहिलेका फ्रन्टलाइनर्स हुन् । कुनै पनि विपत्ति आफैमा एउटा युद्ध हो । भूकम्प, बाढि, पहिरोलगायतका विपत्तिमा सुरक्षाकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्दै आएका छन् । आगलागीको समयमा फायरफाइटरहरू फ्रन्टलाइनर्स हुन् । तर कोरोनामा अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूको सङ्ख्या ठुलो छ र एउटै क्षेत्रका मानिस मात्र यसमा जोडिएका छैनन् ।
हामीकहाँ चलिरहेको कोरोना भाइरस युद्धका ‘फ्रन्टलाइनर्स’हरूलाई कसरी जोगाउने ? यो विषयमा युद्ध-कमाण्डरहरूको रणनीति के छ ? खासै चर्चा र तयारी गरिएको देखिँदैन । कुनै पनि युद्धमा अरुलाई पराजित गराउनुसँगै आफू बाँच्नु महत्वपूर्ण हुन्छ । आफ्ना सिपाहीहरूलाई बचाउनु कमाण्डरको दायित्व हो ।
केही वर्षअघिसम्म नर्सको बारेमा कुरा गर्दा प्रायः मानिसको अगाडि सेतो बस्त्र लगाएका छुच्चो स्वभावका महिलाहरूको छबि अगाडि आउने गर्थ्यो । अस्पतालमा बच्चा जन्माएका महिलाहरूमध्ये धेरैले नर्सहरूले रुखो ब्यवहार गरेको र बचन लगाएको चर्चा गर्ने गर्थे । समयक्रममा त्यो छबि हराउँदै गएको थियो । डाक्टरको विषयमा नबुझिने प्रिस्किप्सन लेख्छन् भन्नेबाहेक एकै प्रकारको आम छबि थियो जस्तो लाग्दैन । ब्यक्तिपिच्छे अनुभवहरू फरक थिए । यो पङ्क्तिकारलाई चाहिँ सरुभक्तको उपन्यास ‘पागल बस्ती’मा उल्लेख भएको ‘सफल डाक्टर उही हो जसले शरीरको होइन अस्तित्वको उपचार गर्छ, तपाईंहरू मिस्त्री हो’ भन्ने संवादले पछिसम्म पनि पिछा गरिरहेको थियो । कतिपय डा.साबहरूलाई भेट्दा यी शरीरका मिस्त्री हुन् भन्ने लाग्थ्यो । लेखनले मानिसको मस्तिष्कलाई कतिसम्म बहकाउन र निर्देशित गर्न सक्छ भन्ने कुराको उदाहरणका रूपमा मैले यसलाई लिएकी छु ।
कोरोनाले डाक्टर र नर्सलाई मानिसबाट भगवानको रूपमा परिणत गरिदिएको छ । भगवान या इश्वर मानिसले देखेका छैनन् । तर, जतिसुकै ठुलो ओहदामा रहेका, धनी, शिक्षित र म त भगवान् मान्दिनँ भन्नेहरूले पनि आपतविपदमा हे भगवान भनी इश्वर पुकार्ने गर्छन् । अहिले डाक्टर र नर्सको अनुहारमा मानिसहरूले भगवानको रूप देखिरहेका छन् । रातदिन केही नभनी खटिने डाक्टर, नर्स, अन्य स्वास्थकर्मी तथा शवको ब्यवस्थापनमा खटिएका सेना, अन्य सुरक्षाकर्मी, एम्बुलेन्स तथा शवबाहन चालकहरू र यसैमा खटिएर रिपोर्टिङ गरिरहेका पत्रकारलाई कसरी जोगाउने ? एउटा ठुलो चुनौती राज्यसामु छ । यसबीचमा केही डाक्टर, नर्स र पत्रकारहरूको मृत्यु भइसकेको छ । यस प्रकारका मृत्युले निरन्तरता नपाउन् भन्नका लागि तयारी आवश्यक छ ।
यो पङ्क्तिकारलाई सरुभक्तको उपन्यास ‘पागल बस्ती’मा उल्लेख भएको ‘सफल डाक्टर उही हो जसले शरीरको होइन अस्तित्वको उपचार गर्छ, तपाईंहरू मिस्त्री हो’ भन्ने संवादले पछिसम्म पनि पिछा गरिरहेको थियो । कतिपय डा.साबहरूलाई भेट्दा यी शरीरका मिस्त्री हुन् भन्ने लाग्थ्यो ।
फ्रन्टलाइनर्सहरूको सेल्फ केयर अर्थात् स्व-हेरचाहको बारेमा हामीकहाँ खासै चर्चा हुने गरेको छैन । उनीहरू लगातार कसरी खटिइरहेका छन् ? कुनै पनि मानिस मेसिन झैँ लगातार खट्न सक्दैन । मेसिनका इन्जिनलाई त आरामको आवश्यक्ता हुन्छ, उनीहरू त मानिस हुन्, जसमा भावना, संवेदना, उर्जा, शारीरिक र मानसिक थकान सबै हुन्छ । त्यसैले फ्रन्टलाइनर्सहरूलाई केयर र सेल्फकेयरको आवश्यकता छ । ‘केयर’का लागि उपयुक्त वातावरण आवश्यक हुन्छ । जस्तो, उनीहरूको खानाकोे समय, सिफ्ट परिवर्तनको समय, के-कस्तो छ भन्ने बारेमा टीम परिचालन गर्ने नेतृत्वबाट सोधपुछ । आफूले गरेको कामको प्रशंसा र धन्यवाद शब्दले पनि मानिसको आधा थकान कम गर्छ ।
‘सेल्फ केयर’ भनेको आफैले आफ्नो हेरचाह गर्नु हो । कतिपयले भन्छन्, यस्तो बेलामा अरुको जीवन बचाउनु पो मुख्य कुरा हो । अरुको केयर गर्नुपर्ने बेलामा कहाँ आफ्नो केयर गर्ने ? तर, सेल्फ केयर विमानको सुरक्षा प्रणालीजस्तै महत्वपूर्ण हुन्छ । विमान बढी उचाइमा पुग्दा अक्सिजन कम भएर विमानभित्रको आपतकालिन अवस्थामा आफ्नो बच्चा, आफन्त वा अरुलाई सहयोग गर्नुअगाडि आफूले अक्सिजन मास्क लगाउनु पर्छ । विमानभित्र राखिएको आपतकालिन अवस्थाको जानकारीमा यस्तै निर्देशन दिइएको हुन्छ । आफूलाई पहिलो प्राथमिकतामा राखेर मात्र तपाईं-हामीले आफ्ना प्रियजन वा सहयोग आवश्यक परेकाहरूलाई मद्दत गर्न सक्छौँ । स्व-हेरचाह भन्नाले स्वस्थ जीवन, उर्जावान शारिरिक तथा मानसिक अवस्था एवम् तनावरहित जीवनका लागि गरिने गतीविधिलाई जनाउँदछ । घरपरिवारमा तपाईं-हामी स्वयम् बिरामी पऱ्यौँ भने अरुलाई कसरी सहयोग गर्न सक्छौँ ? अहिले डाक्टर, नर्सहरू स्वयम् बिरामी परे भने अन्य बिरामीलाई कसरी बचाउन सक्छन् ? त्यसैले फ्रन्टलाइनर्सलाई केयर र सेल्फ केयर दुवै आवश्यक छ ।
विमान बढी उचाइमा पुग्दा अक्सिजन कम भएर विमानभित्रको आपतकालिन अवस्थामा आफ्नो बच्चा, आफन्त वा अरुलाई सहयोग गर्नुअगाडि आफूले अक्सिजन मास्क लगाउनु पर्छ । विमानभित्र राखिएको आपतकालिन अवस्थाको जानकारीमा यस्तै निर्देशन दिइएको हुन्छ । आफूलाई पहिलो प्राथमिकतामा राखेर मात्र तपाईं-हामीले आफ्ना प्रियजन वा सहयोग आवश्यक परेकाहरूलाई मद्दत गर्न सक्छौँ ।
आफू र आफ्नो परिवारलाई जोखिममा राखेर अहिले अग्रपङ्क्तिमा रहेकाहरूले काम गरिरहेका छन् । आफू जोखिममा परेर अर्काको जीवन बचाउनु सानोतिनो योगदान होइन । लाशको ब्यवस्थापन गर्नेहरू पनि त्यत्तिकै जोखिममा छन् । मानिसको जीवनको अन्तिम संस्कार लाशको ब्यवस्थापन र काजक्रिया हो । परम्पराअनुसार आफ्ना सन्तानले गर्नुपर्ने लाशको ब्यवस्थापन समयले नेपाली सेनाले गर्नुपर्ने बनाइदिएको छ । कुनै बेला सेनाको कामै छैन भन्नेहरूलाई आपतविपदको बेला सेनाको काम केसम्म रहेछ भन्ने महसूस भएको हुनुपर्छ ।
आफ्नो परिवारमा विपद आइलाग्दा साथ दिन नसके पनि सिपाहीहरूले तमाम लाशहरू जलाइरहेका छन् । मृत्यु संस्कार निकै महत्वपूर्ण र संवेदनशील कुरा हो । दिनमा सैयौँको सङ्ख्यामा दागबत्ती र अन्तिम सलामी दिनुपर्ला भनेर शायदै सोचिएको थियो । ती सलामीकर्तालाई सलामसहित सबै फ्रन्टलाइनर्सको कामको प्रशंसा र उच्च सम्मान ब्यक्त गर्नु सबै नागरिकको कर्तब्य हो । फ्रन्टलाइनर्सहरूलाई कसरी सुरक्षित बनाउने भनी नीतिगत रूपमै ब्यवस्था गरी ब्यवहारमा लागु गर्नु राज्यको उत्तरदायित्व हो ।
प्रतिक्रिया