नेपालबाट जापान फर्किएका तीन जनामा इण्डियन डबल न्युटेन्ट कोरोना भाइरसको संक्रमण

नेपालबाट जापान फर्किएका तीन जनामा इण्डियन डबल न्युटेन्ट कोरोना भाइरसको संक्रमण


  • जापान प्रतिनिधि

नेपालबाट जापानको तोचीगी प्रान्त फर्किएका व्यक्तिमा इण्डियन संक्रामक कोरोना भाइरसको संक्रमण फेला परेको छ । तोचिगी प्रान्तले मे १७ तारिख नेपालबाट फर्केका तीन जना व्यक्तिमा नयाँ कोरोना भाइरसको इण्डियन संक्रमण पुष्टि गरेको हो ।

प्रान्तका अधिकारीहरुले इण्डियन डबल न्युटेन्ट कोरोना भाइरस संक्रमित पहिलो पटक फेला परेको बताएको छ । नेपालबाट फर्किएका कुल ६ जना नेपालीमा कोरोना संक्रमण पाइएको समाचारमा उल्लेख छ । तीन जनामा भने पुरानै प्रकारको कोरोना संक्रमण भएको बताइन्छ ।

तोचिगी प्रान्तमा २२ जना कोरोना भाइरसका बिरामी फेला परेकामा दुई वटा समुहमा एकैपटक पाइएको छ । अधिकारीहरुले संक्रामक भाइरस संक्रमण फैलिएको हुन सक्ने आशंका समेत गरेका छन् । इण्डियन न्युटेन्ट संक्रमण भएका फेला परेका तीनै जना संक्रमित आफन्त हुन् । जसमा ३० वर्षका पुरुष, १० वर्ष भन्दा मुनिका एक बालक र २० वर्ष उमेर समुहकी एक महिला छन् । उनीहरुमध्ये दुई जनालाई सामान्य लक्षण देखिएको र एक जनामा कुनै पनि लक्षण देखिएको छैन ।

संक्रमित व्यक्तिहरु यसै महिनाको सुरुवातमा जापान फर्केका हुन् । उनीहरु अन्य तीन जना आफन्तसँगै दुई दिनको फरकमा जापान फर्किएका थिए ।

नेपालबाट आउँदा कोरोना भाइरस परीक्षणको नकारात्मक नतिजा बोकेका तीन जनाको नारिता विमानस्थलमा गरिएको परीक्षणमा समेत संक्रमण देखिएको थिएन । जापानको अध्यागमन नियमानुसार दुई हप्ता घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने निर्देशन अनुसार उनीहरु घरमा नै बस्दै आएका थिए । कोरोना संक्रमणजन्य संकेत देखिएपछि उनिहरुले गरेको जानकारीको आधारमा कुल ६ जना सबैको पीसीआर परीक्षण गरिएको थियो । जसमा ज्वरोसहितको लक्षण देखिएको तीन जना र कुनै पनि लक्षण नदेखिएका तीन गरी सबै ६ जनामै संक्रमण भेटिएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टिपछि भाइरसको प्रकार परीक्षण गर्दा तीन जनामा इण्डियन डबल म्युटेन्ट कोरोना भाइरस संक्रमण पाइएको अधिकारीहरुले बताएका छन् । नेपालबाट पछिल्लो दुई उडानमा आएका १९∕१९ जना नेपालीमा नारिता विमानस्थलमा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा फैलिएको संक्रामक भाइरस तथा जापान आएकामा भेटिएको संक्रमणको बहावलाई ध्यानमा राख्दै जापानले नेपाल सहित इण्डिया र पाकिस्तानबाट अर्को सूचना जारी नभएसम्मका लागि मे १४ तारिखबाट प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ ।