स्वास्थ्य सङ्कटकालका बाबजुद टोकियो ओलम्पिकको तयारी तीव्र

स्वास्थ्य सङ्कटकालका बाबजुद टोकियो ओलम्पिकको तयारी तीव्र



जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्वउपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल लागु भएको भए पनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जानकारी शुक्रबार दिएका हुन् ।

अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो । प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहे पनि प्रतियोगिता सञ्चालन गर्ने गरी अहिले तयारी भइरहेको हो ।

प्रतियोगिताको उद्घाटन हुन अब दुई महिना मात्रै बाँकी रहँदा पनि जापानका धेरै ठाउँमा कोरोना भाइरस नियन्त्रणका लागि सङ्कटकाल लगाइएको छ ।

जापानमा अहिले पनि कोरोनाबाट मृत्यु भएका र सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुदै आएको सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

अष्ट्रेलिया ओलम्पिक कमिटिका अध्यक्षसमेत रहेका कोट्सले भर्चुअल माध्यममार्फत अष्ट्रेलियाबाट नै प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको जानकारी दिए ।

प्रतियोगिताका आयोजकहरु मध्येका सरोकारवालाहरुसँग भएको तीन दिने बैठकपछि उनले स्वास्थ्य विज्ञहरुको सल्लाहअनुसार तयारीका कामहरु भइरहेको जानकारी दिँदै विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको बताएका छन् ।