महान् कर्म गर्नेहरुको मुल्याङ्कन गरौँ

महान् कर्म गर्नेहरुको मुल्याङ्कन गरौँ


  • मधु लम्साल

उच्च सतर्कता अपनाउँदाअपनाउँदै पनि काठमाडौं प्रहरी परिसरका प्रनाउ (डिएस्पी) राजकुमार केसीको विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका कारण ज्यान गयो । यस्तै, फ्रन्टलाइनमा खटिएका डिएसपी समीरचन्द्र खरेलले पनि भर्खरै ज्यान गुमाए । लापर्वाही वा बेवास्थाका कुरा छाडिदिउँ, यी प्रहरी अधिकारीहरु रोगबारे पूर्ण जानकार मात्र थिएनन्, यस महामारीबाट जनतालाई जोगाउन ‘फ्रन्ट लाइन’मा कार्यरत थिए ।

पछिल्लो समय ह्वात्तै फैलिएको कोरोना महामारीका कारण सर्वसाधारण मात्र होइनन्, महामारीका विरुद्ध ‘फ्रन्ट लाइन’मै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वयम्सेवकको पनि ज्यान गइरहेको अवस्था छ । महामारीको यस असहज अवस्थामा सरकार भने ‘तमासे’ बन्दै छ । अस्पतालमा हुँदै नभएका भेन्टिलेटर र आईसीयूको मनगढन्ते तथ्याङ्क देखाउनै उ व्यस्त छ ।

यता, कोरोनासंक्रमितको उपचार अस्पतालको बेडमा होइन, भुइँ, कुर्सी, पेटी, टहरामा भइरहेको दृश्यले आमजनता आतंकित र भयभित देखिन्छन् । संक्रमितलाई आवश्यक उपचारको त कुरै नगरौेँँ, अक्सिजनको समेत हाहाकार मच्चिएको छ । दैनिक मृत्युवरण गर्नेको संख्या उच्च बन्दै गएको छ भने संक्रमितको पनि संख्या उकालो लागिरहेको तथ्याङ्कले देखाइरहेको छ ।

स्वास्थ्य विशेषज्ञ भन्छन्, महामारी फैलिने क्रम अझै ५-६ हप्ता जारी रहन्छ । एक वर्षअघिदेखि महामारीका रुपमा फैलिँदै र थामिँदै गरेको कोरोना महामारीको निर्मुल वा नियन्त्रणका लागि राज्य ‘फेलियर’ जस्तै देखिइसकेको अवस्था छ । अझै भनौँ महामारीका बारे सरकारका प्रधानमन्त्री नै हलुका कुरा गर्ने मात्र होइन, यो महामारी फैलाउने मतियारका रुपमा समेत जिम्मेदार छन् भनिदिँदा अत्युक्ति नहोला । त्यसो त अन्य राजनैतिक दल, उनका भातृसंस्थाको पनि महामारी फैलाउनमा कम दोषी छैनन् ।

जे होस्, यो महामारी हो, यसले कसैलाई सूचना वा जानकारी दिएर आउने होइन । यसले ठूलो(सानो, धनी-रिव भनेर पनि काखापाखा पक्कै गर्दैन । यसबाट जोगिने भनेकै एकआपसमा नजिक नहुने र उच्च सतर्कता अपनाउनु नै बुद्धीमानी ठहरिन्छ । आफूलाई शक्ति सम्पन्न ठान्ने राष्ट्र्हरु पनि यतिबेला कोरोना महामारीबाट त्रस्त छन् । त्यसैले त पुर्खाहरुले भनेका थिए, ‘महामारीमा ज्यान जोगाउनु, अनिकालमा बिऊ ।’

हो, कोरोना कहरले धेरैलाई पीडा दिएको छ । अहिले बाँच्न र बचाउनको चिन्ता, भविष्यमा आर्थिक संकटले पिरोल्ने त छँदैछ । राज्यले अहिले जनता बचाउन त चासो दिएको अवस्था छैन भने भविष्य झन् विकराल देखिन्छ । यस्तो संकटमय अवस्थामा पनि राजनैतिक दललाई सत्ताको चासो अनि सरकारमा रहेकाहरुलाई सत्ताको चास्नीले छाडेको छैन ।

अवसर अर्थात् मौका सधैँ आउँदैन । अभाव, संकट, समस्या, आपतविपतमा गरिएको मानवीय सहयोग कसैले कहिल्यै भूल्दैन । अहिले राज्यले अर्थात् सत्तारोहणमा रहेकाहरुले गर्नुपर्ने भनेको जनता जोगाउ अभियानमा खुलेर लाग्न सक्नुपर्थ्यो तर, यहाँ त स्वयम् प्रधानमन्त्री नै चाटुकार बन्दैछन्, जनतालाई आश्वासन दिएर हिम्मत बढाउनुको सट्टा गफ दिएर भयभित पारिरहेको अवस्था छ ।

आपत एवम् संकटको यस घडीमा कुन दलको सरकार ? को प्रधानमन्त्री, को मन्त्री यो महत्वपूर्ण होइन । महामारी नियन्त्रणका लागि को क्षमतावान् छ ? को विज्ञ हो ? कसले महामारीको रोकथाम वा नियन्त्रणका लागि के गर्न सक्छ ? राज्यको ध्यान त्यतातर्फ जानु पर्थ्यो । सहज अवस्थामा पो शक्ति र शान देखाउने हो । असहज अवस्थामा त क्षमता भएकाहरुलाई अग्रस्थानमा उभ्याइनु पर्ने होइन र ? महामारी नियन्त्रण गर्न निश्चित समयका लागि सरकार नै ‘करार’मा दिन नमिल्ने नै हो र ? यतातर्फ पनि सोचियोस् ।

प्रसंग, महामारीमा फ्रन्टलाइनमा रहनेहरुको साहसको कदर गरौँ भन्नका लागि पनि हो । जातीय आन्दोल वा जुलुसमा गएर घाइते वा मारिएकाहरुलाई शहीद वा क्षतिपूर्तिको व्यवस्था गर्ने सरकार अनि त्यो माग गर्ने आन्दोलनकारी वा राजनैतिक दलले ‘फ्रन्टलाइन’मा उभिएर महामारी नियन्त्रणका लागि खटिनेहरुको लागि के सोचेको छ ? कर्तब्यपालनका सिलसिलामा ज्यान गुमाउने वा घाइतेहुने सुरक्षाकर्मीका परिवारले पाएको सुविधाबाट कोरोना पीडित सुरक्षाकर्मी बन्चित रहनुपर्ने पो हो कि ? आफ्नो घर परिवार नभएर संक्रमितको उपचारमा चौविसै घन्टा खटिने स्वास्थ्यकर्मीका परिवार पनि त्यस्तो विशेष सुविधाबाट बिमुख हुनुपर्ने हो कि ?

‘सबैलाई घरमा बस्न लगाएर सडकमा ड्यूटी गर्न सुरक्षाकर्मीलाई रहर लागेको होला र ? उनीहरुको पनि घर परिवार छैन ?’ पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल भन्नुहुन्छ, ‘यस्तो विषम परिस्थितिमा पनि कर्तब्यपालनमा खटिएका संक्रमित सुरक्षाकर्मीको उच्च मुल्याकंन हुनुपर्छ, उनीहरुको उचित र आवश्यकीय उपचार जरुरी छ । कथम् मृत्युवरण भइहालेको खण्डमा राज्यले मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’

‘आन्दोलनमा उत्रेको नाममा हिंसा भड्काउनेलाई शहीद र क्षतिपूर्तिको माग राख्ने राजनैतिक दल एउटा फ्रन्टलाइनमा उत्रेको सुरक्षाकर्मीको मृत्युवरणमा किन बोल्न नसक्ने ?’ पूर्व महानिरीक्षक खरेलको प्रश्न छ ।

हो, खरेलले भनेजस्तै यस विषम अवस्थामा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, स्वयम्सेवक, मनकारी अनुहारको उच्च मुल्यांकन हुनैपर्छ । आफ्ना कार्यकर्ता, अरौटेभरौटेलाई राज्यकोषको दोहोन गरी बाडिने अलंकार, विभूषण, तक्मा, पुरस्कार मानवीय भावना बोकेका महान् व्यक्तित्वलाई प्रदान गर्दा के बिग्रेला र ?